पुर्वमा २२० केभी प्रसारण लाइन बनिदै

धरान । मझौला किसिमका जलविद्युत आयोजनाबाट उत्पादन हुने विजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न विद्युत प्राधिकरणले कोशी कोरिडर २२० केभी प्रसारण लाईनको काम अघि बढाएको छ । पुर्वी नेपालका नदी अरुण, तमोर र तिनका पनि सहायक नदीहरुमा सञ्चालित मझौला किसिमका जलविद्युत आयोजनालाई लक्षित गरेर प्राधिकरणले यो प्रसारण लाइनको काम अघि बढाएको हो ।
प्राधिकरणका अनुसार सुनसरीको इनरुवाबाट संखुवासभा जिल्लाको तुम्लिङटारसम्मको कोशी कोरिडर २२० केभी प्रसारण लाइन जोडिनेछ भने इनरुवा, तेह्रथुमको वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा सब स्टेशन बन्नेछ । यो आयोजना अबको साढे ३ बर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । यो प्रसारण लाइन पुर्वक्षेत्रकै ठुलो हो । नेपालमा हालसम्म १३२ केभी मात्र प्रसारण लाइन छ । पुर्वमा भने मात्र ३३ केभीको लाइन छ । अहिले कोशीमा झै मेचीमा पनि हाइ भोल्टेज क्षमताको काबेली कोरिडर प्रसारण लाइनको काम भइरहेको प्राधिकरणले जनाएको छ ।
कोशी कोरिडोर आयोजनाका जनसम्पर्क अधिकारी वसन्त भण्डारीका अनुसार विस्तृत सर्वेको काम सकिएको छ । अब चाडै चेक सर्वेको काम सुरु हुनेछ । ‘डिटेल सर्वेको काम सकियो, अब चेक सर्वे हुन्छ’–भण्डारीले भने–‘डिटेल सर्वे ठिक छ, छैन भनेर हेरिन्छ । पोइन्टहरुको रुजु गर्ने काम हुन्छ ।’ उनका अनुसार प्रसारण लाइनको सर्वेको काम भारतीय कम्पनी कलपत्रो पावर लिमिटेडले गरेको हो । आयोजना सम्पन्न भएपछि विभिन्न जलविद्युत आयोजनामा उत्पादन भएको विजुली राष्ट्रिय प्रसारण लाइनमा मिसिनेछ र देश लोडसेडिङबाट मुक्त हुने अपेक्षा लिएको उनले बताए ।
यो प्रसारण लाइनको क्षमता एक हजार २ सय मेघावाटसम्मको हो । हालको प्रसारण लाइन भने १० मेघावाटको मात्र हो । हाइ भोल्टेज प्रसारण लाइन नभएको वहानामा जलविद्युतको लाइसेन्स मात्र लिएर बसेकाहरुलाई यो आयोजनाले काम अघि बढाउन बाध्य पार्ने आयोजना प्रमुख राजन ढकाल बताउछन् । उनका अनुसार पुर्वका विभिन्न नदीहरुमा विद्युतको उत्पादन क्षमता अथाह छ । तर, हाइ भोल्टेज प्रसारण लाइनको अभावमा लाइसेन्स लिएर पनि लगानीकर्ताहरु आयोजनाको काम नगरी बसेका थिए । ‘स्वदेशमा खपत हुने हाइड्रो पावरहरुलाई लक्षित गरेर यो प्रसारण लाइन बनिरहेको हो, अहिलेसम्म पुर्वमा एउटै पनि हाइ भोल्टेज प्रसारण लाइन छैन’–आयोजना प्रमुख ढकालले भने–‘मझौला खालका आयोजनाको लाइसेन्स लिएर प्रसारण लाइन छैन भनेर बसिरहेकाहरुलाई अब बाटो खुलेको छ । ती आयोजनाले उत्पादन गरेको विजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ र नेपालको लोडसेडिङको समस्या हल हुनेछ ।’
यो प्रसारण लाइनअन्र्तगत ३४० मेघावाटको अप्पर अरुण जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो बाहेक अरुणको सहायक नदी सभा खोला, भोजपुर जिल्लाको इख्र्वा, चिख्र्वा खोलालगायतमा सञ्चालित जलविद्युतको उत्पादन पनि प्रसारण लाइनमा समावेश हुनेछ । वसन्तपुरमा हुने सब स्टेशनबाट प्रसारण लाइन ताप्लेजुङ जिल्लामा पनि पु¥याइनेछ । त्यसपछि तमोर कोरिडोरको उत्पादन पनि राष्ट्रिय प्रसारणमा जोडिनेछ । ‘तमोर कोरिडोर पनि २२० केभी क्षमताकै हुनेछ । मार्च, एप्रिलतिर टेण्डर भएर त्यसको पनि सर्वेको काम हुन्छ’–आयोजना प्रमुख ढकालले भने । हाल नेपालमा बर्षायाममा कुल ८५० मेघावाट मात्र विजुलीको उत्पादन छ । हिउदमा घटेर ५५० मेघावाटमा झर्छ । तर, विजुलीको माग भने अत्यधिकरुपमा १४४० मेघावाटसम्म भएको प्राधिकरणले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे