धरानमा मिरा राई जिताऔ अभियान

धरान । नेशनल जिओग्राफिक एडभेञ्चर अफ दि इयरको उत्कृष्ट १० मा पर्न सफल नेपालकी अल्ट्रा धाविका मिरा राईलाई जिताउन धरानमा अभियान शुरु भएको छ । किरात राई खेलकुद संघ सुनसरी र धरान रनले सहकार्य गर्दै शनिबारदेखि संयुक्तरुपमा ‘मिरा राई जिताऔं’ अभियानको शुरुवात गरेको हो ।
प्रत्येक शनिबार बिहान यलम्बर पार्कमा हुने धरान रन कार्यक्रमको २ सय ९१ औं साता दौडमा सहभागीहरुले अभियानको शुरु गरेको घोषणा गरेका थिए । मिरालाई बेष्ट भ्युअर च्वाईस विधामा जिताउन अनलाईन भोटिङ गर्नुपर्ने भएकोले अभियान शुरु गरिएको संघका जिल्ला अध्यक्ष विकास चाम्लिङले जानकारी दिए । ‘मिरा राईले साहसिक खेलबाट नेपाललाई विश्वसामु चिनाउन सफल छिन् । अहिले उनलाई जिताउने अभिभारा हामीमा छ । त्यसैले यो अभियान शुरु गरेका हौं’–अध्यक्ष चाम्लिङले भने । उनका अनुसार भ्युअर च्वाइस विधामा अनलाइनबाट भोट हाल्न मिल्ने प्रावधान भएकोले यो अभियान प्रभावकारी हुनेछ ।
धरान रनको मिरा राई जिताऔं अभियानसहितको दौडमा उच्च डल्फिन पुर्वाञ्चल एकेडेमी, एम्स एकेडेमी, डिपोट उच्चमावि, झुनाज फिटनेस, पुर्व डिपो विद्यार्थी संगठन, डिपोटियन स्पोर्टस् क्लबका शिक्षक, विद्यार्थी तथा खेलाडीहरु सहभागी भए । धरान रनका अभियानसहितको दौडमा अनुसार दौडमा ४ सय २ जनाले दौडिएका थिए । अभियानअन्र्तगत मिरा राईको तस्विर अंकित भोट हाल्ने तरिकासहितको ब्यानर धरानको विद्यालय, कलेज, क्लव, क्याफे र चौक चौकमा राखिने धरान रनका अध्यक्ष रमु राईले बताए । भोट हाल्न सहज बनाउनको लागि भोट मिरा राई नामको फेसवुक पेज पनि बनाएर अभियान थालिसकेको उनले बताए । ‘आइतबारदेखि विभिन्न कलेज, विद्यालयमा गएर भोट हाल्ने तरिका सिकाउछौ र भोटिङ क्याम्पेन गछौं’–उनले भने ।
अल्ट्रा धाविका द्धन्दकालताकामा सशस्त्र माओवादी लडाकु थिइन् । शान्ति प्रक्रिया शुरु भएपछि अयोग्य लडाकु घोषित भएपछि उनको पाइला खेलकुदरित मोडियो । साहसिक खेल विधामा पर्ने अल्ट्रा रनमा उनले नेपालको प्रतिनिधित्व गर्दै थुप्रै देशमा आयोजित प्रतियोगितामा भाग लिदै पुरस्कार जितेकी छिन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे