मंसिर १० गतदेखि १३ औं डिपो कप

धरान । प्राविस्तरीय जिल्लाव्यापी १३ औं ललित–अम्बर डिपो कप तथा स्वर्गीय दिलकुमार प्लेट च्याम्पियन कप २०७३ यही मंसिर १० गतेदेखि हुने भएको छ । आयोजक डिपोट उच्चमाविले सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर १७ गतेसम्म हुने प्रतियोगिता यो बर्ष नयाँ खेल मैदानमा हुने जानकारी दिएको छ ।
 प्रतियोगितामा विभिन्न १५ वटा विद्यालयको १६ वटा टिम सहभागी हुने विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी दिए । उनका अनुसार धरानबाट ज्ञानकुञ्ज बोर्डिङ स्कुल, पुर्वक्षेत्रीय प्रहरी उच्चमावि, सुनाखरी एकेडेमी, लोटस विद्या मन्दिर, नवज्योती स्कुल, मेरील्याण्ड बोर्डिङ स्कुल र के एण्ड के इन्टरनेशनल बोर्डिङ स्कुलले प्रतियोगितामा भाग लिदैछ । यस्तै, सगरमाथा रेसिडेन्सियल स्कुल, होलील्याण्ड इन्टरनेशनल स्कुल, इमानुयल बोर्डिङ स्कुलका साथै आयोजकको ए र बी दुई टिम सहभागी हुनेछ । साथै, इटहरीबाट सेक्रेट हर्ट बोर्डिङ स्कुल, नेपाल डिभिएम ग्लोबल स्कुल, एसओएस हर्मन माइनर स्कुल र तरहराबाट हिमशिखर उच्चमाविले पनि प्रतियोगितामा सहभागिता जनाउने प्राचार्य राईले बताए । ‘प्रतियोगितामा १२ बर्षसम्म उमेरका र ४ फिट १० इञ्च उचाई भएका कक्षा ५ सम्मका विद्यार्थीहरु मात्र खेलाडीकोरुपमा सहभागी हुन पाउछन् । गोलकिपरको हकमा भने ५ फिट उचाईसम्म छुट छ’–उनले भने ।
नकआउट प्रतियोगिता भएपनि पहिलो खेलमा पराजित टिमले पुनः दिलकुमार प्लेट च्याम्पियन कपमा खेल्न पाउनेछ । ललित–अम्बर डिपो कपको विजेताले रनिङ शिल्ड, मेडलसँगै नगद ७ हजार, उपविजेताले शील्ड, मेडलसँगै नगद ५ हजार र तेस्रो हुने टिमले मेडलसँगै नगद ३ हजार हात पार्नेछ । यस्तै, प्लेट च्याम्पियनको विजेताले रनिङ शिल्डसँगै नगद ३ हजार र उपविजेताले नगद २ हजार पुरस्कार पाउने प्रतियोगिताका संयोजक भीमराज लिम्बुले बताए । ‘यो प्रतियोगिता कक्षा ५ सम्मका बालबालिकाहरुको खेल प्रतिभा प्रष्फुटन गर्न र जिल्लाका बोर्डिङ स्कुलहरुबीच आपसी सद्भाव विस्तार गर्नको लागि भएकोले नगद पुरस्कारमा जोडदिएका छैनौं’–उनले भने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र हाइ स्कोररलाई नगदसहित पुरस्कार दिइनेछ ।
प्रतियोगताको गत सँस्करणमा इटहरीको एसओएस हर्मन माइनर स्कुल विजेता र धरानको पुर्व क्षेत्री प्रहरी स्कुल उपविजेता भएको थियो भने धरानकै होलील्याण्ड इन्टरनेशनल स्कुल तेस्रो भएको थियो । यस्तै, प्लेट च्याम्पियन कपतर्फ धरानको भिक्टोरी उच्चमावि र मेरील्याण्ड बोर्डिङ स्कुल उपविजेता भएको थियो । वि.स.२०६१ सालदेखि डिपो कपको नाममा शुरु भएको प्रतियोगिता छैटौं सँस्करणदेखि ललित अम्बर डिपो कपको नाममा सञ्चालन हुन थालेको हो । डिपो कप र प्लेट च्याम्पियनसिपको लागि संयुक्तरुपमा ३ लाखको अक्षय कोष स्थापना गरिएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे