वनको जग्गा अतिक्रमण गरी थाउजेन्ड बिग बुद्धको सिलान्यास

विदेशबाट दान उठाएर निर्माण गर्ने भनिएको उक्त बिग बुद्धको शिलान्साय मंगलबार सभामुख ओनसरी घर्ती मगर र थाइल्याण्डको राजसंस्थाका वरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभना संयुक्तरुपमा गरे । सभामुख मगरले शिलान्यास गरेको वनको जग्गामा अघिल्लो दिन जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गएको टोलीले वन क्षेत्रमा नोक्सानी गरेमा दण्ड सजाय गर्ने चेतावनीसहितको ब्यानरसमेत राखेको थियो । तर, उपमहानगरपालिका र स्थानीय राजनीतिक दलले राजनैतिक पहुँच प्रयोग गर्दै मंगलबार सभामुख मगरलाई प्रमुख अतिथिकोरुपमाम ल्याएर सिलान्यास गराएको हो । वनको क्षेत्रमा डोजर प्रयोग गरी डाडा सम्याइएको छ भने त्यहाँका बोटविरुवा पनि मासिएको छ ।
धरान २० मा पर्ने छोटिमोरङमा सुर्योदय बुद्ध बिहारले १ सय ७५ फिट अग्लो बुद्धको मुर्तिसँगै थाउजेन्ड बिग बुद्ध बनाउने भनिएको छ । स्रेस्ता अनुसार यो जग्गा राष्ट्रिय वन क्षेत्र हो । साथै, धरानको खानेपानीको मुहान पर्ने सर्दु जलाधार क्षेत्रमा पनि पर्छ । वन क्षेत्रमा कुनै ठुलो संरचना वा योजना निर्माण गर्नुपुर्व मन्त्रीपरिषदले निर्णय गर्नुपर्ने जानकारहरु बताउछन् । संरक्षण गर्नुपर्ने निकाय नै जलाधार क्षेत्रको भविष्य संकटमा पर्ने गरी भौतिक निर्माण गर्न लागेको भन्दै धरानमा असन्तुष्टी पनि चुलिदो छ । बिग बुद्ध बनाउन धरानका राजनीतिक दल र उपमहानगरपालिकाले अनुमति दिने निर्णय गरेको छ । विगतमा भने सट्टाभर्ना पाइसकेर पनि लगतकट्टा नहुदा पुनः जग्गाधनीले अतिक्रमण गर्न थालेको भन्दै नगरपालिका र राजनीतिक दलहरुले संरक्षण गर्न भन्दै नागरिकस्तरमा आन्दोलन र अभियान चलाएको थियो ।

थाउजेन्ड बिग बुद्धको अवधारणा हाल हङकङमा रहने सुर्योदय बुद्ध विहारका अध्यक्ष प्रदिप थापा र संरक्षक भन्ते मेधंकरले ल्याएका हुन् । भन्ते मेधंकरको पहलमा थाइल्याण्डको राजसंस्थाका वरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभनाले बिग बुद्ध निर्माणमा आर्थिक लगानी जुटाउने भनिएको छ । तर, हालसम्म थाउजेन्ड बुद्धको कन्सेप्ट प्लान मात्र बनेको पाइएको छ । ठुलो संरचना बनाउनुअघि वनको जग्गा स्वामित्व हस्तान्तरण, वातावरणीय मुल्यांकन, माटो परीक्षण, डिटेल सर्वे, गुरुयोजनालगायत कामहरु थाती नै छ । योजना मुताविक थाउजेन्ड बुद्ध र बिग बुद्ध बन्न कति लागत लाग्ने र त्यसको भरपर्दो आर्थिक स्रोतबारेमा पनि स्पष्ट खाका छैन । सिलान्यास समारोहका संयोजक एवं उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा भने वनको जग्गा भएको स्वीकार गर्दै स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको बताउछन् । जलाधार क्षेत्रको जग्गा नपर्ने उनको दाबी छ । ‘वनले हाम्रो जग्गा हो भनेको छ, हामी मन्त्रीपरिषदबाटै निर्णय गराउने प्रक्रियामा छौ’–उनले भने–‘लागत यति नै छ भन्ने छैन, तर ठुलो लगानीको हो भन्नेसम्म छ । लगानी संकलन गछांै भनेको छ ।’ सभामुखबाट सिलान्यास मात्र गरेको र निर्माण थाल्नुअघि सबै प्रक्रिया पुरा गरिसक्ने उनको दाबी छ । थाइल्याण्डका राजसंस्थाका सल्लाहकार शोभनाले छिटो सिलान्यास गर्न चाहेकोले हतारिनु परेको उनको भनाई छ ।
बुद्ध बिहारका संरक्षक भन्ते मेधंकरका अनुसार १ सय ७५ फिटको बिग बुद्धसहित साना दश हजार बुद्धहरु सबै दान लिएर निर्माण गरिनेछ । त्यसको लागि थाइल्याण्ड, सिंगापुरलगायत देशमा दाताहरु तयार रहेको उनले बताए । सिलान्यास समारोहमा पनि उनले दान गर्न आपिल गरेका थिए । धरानका पुर्वमेयर तथा नागरिक समाजका अध्यक्ष मनोज कुमार मेन्याङ्बो पनि आर्थिक स्रोतबारे शंका व्यक्त गर्छन् । ‘फलना देशबाट सहयोग हुन्छ भन्ने छ, तर ठोसरुपमा कहाँबाट के कसरी आउने हो भनेर स्रोतबारे शंका गर्ने ठाउ छ’–उनी भन्छन् ।
स्रोतका अनुसार पर्यटन विकास भन्दा पनि राजनीतिक दलका नेता र नगरपालिका भुमाफियाको प्रभावमा परेर बिग बुद्धको योजनालाई हतारमा कार्यान्वयन गर्न लागेका हुन् । बिग बुद्ध निर्माण स्थल नजिक सर्दु जलाधार क्षेत्रको जग्गा सट्टा भर्ना नपाएको भन्दै अतिक्रमण गरेका जग्गा धनीका आफन्त र भुमाफियाहरुले आफ्नो नाममा पारेका छन् । त्यही जग्गाको मुल्यांकन बढाउन हतारमा कुनै ठोस योजना विना र कानुनी प्रक्रिया पुरा नगरी सिलान्यास गरिएको हो ।
Comments
Post a Comment