निराकारको आजादी विमोचन

धरान । विमोचन हुने कविता संग्रहको नाम–आजादी । स्रष्टा(कवि)–निराकार । साहित्यिक कार्यक्रमहरुमा नसुनिएको नाम । औपचारिक कार्यक्रम शुरु हुनु अघिदेखि नै स्रष्टाबारे धेरैको जिज्ञासा थियो । तर, नाम(निराकार) झै स्रष्टाबारे कसैले भेउ पाउन सकेनन् ।
कुनै पुस्तक अथवा कृर्तिको विमोचन कार्यक्रममा उक्त पुस्तक(कृर्ति)को स्रष्टा उपस्थिति अनिवार्य हुन्छ । तर, शुक्रबार विमल गुरुङ स्मृति पुस्तकालय धरानमा आयोजित कविता संग्रहको विमोचन भने स्रष्टाको उपस्थितिविनै भयो । निराकारद्धारा लिखित कविता संग्रहको भाषाविद् प्रा.डा.टंक न्यौपाने, पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङ र कवियित्री कुन्ता शर्माले संयुक्तरुपमा गरेका थिए । स्रष्टाको नाम झै छ, कविता संग्रहको आवरण । आवरणमा रंगीन चित्र छ । अन्तिम पातो खाली । एक सय एक वटा कविताहरु संग्रहित छन्, तर स्रष्टाबारे कुनै जानकारी छैन । स्रष्टा र प्रकाशकको भनाई छैन । मात्र एक पेजमा स्रष्टाका मित्र लाराको सानो शुभकामना मात्र छ ।
विमोचन समारोहमा पनि अनुपस्थित रहेपछि स्रष्टा को हुन् ? सबैमा कौतुहलता थियो । स्रष्टाका नातेदार(मामा ससुरा) नविन राईले निराकारबारे भेद खोलेपछि मात्र कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटिएको थियो । उनका अनुसार निराकारको वास्तविक नाम हो, प्रकाश सुनुवार । स्थायी ठेगाना धरान १८ । सन् २००५ देखि उनी सपरिवार युकेमा छन् । नेपाल प्रहरीमा असईबाट भर्ती भएर इन्स्पेक्टर पदमा पुगेपछि जागिर छोडेका । तर, यतिले मात्र उनको साहित्यिक परिचय पुुरा हुदैन । उनी स्वर्गीय कवि विमल गुरुङका सहपाठी र हितैषी मित्र पनि हुन् । वामपन्थी विचारधाराबाट प्रभावित दुवै सँगै प्रगतिशिल कविताहरु सृर्जना पनि गर्थे । ‘चालिसको दशकदेखि नै साहित्यमा कलम चलाउन थालेका हुन्, तर खुलेर कहिल्यै पनि नआउने । वामपन्थी विचारधाराबाट प्रभावित भएकोले कविताहरु पनि प्रगतिशिल नै हुने’–निराकारबारे मामा ससुरा राईले भने–‘कवि विमल र निराकार सहपाठी हुन् । सँगै कविता लेख्थे, विमलको असामयिक निधन भयो । निराकारले निरन्तर कविता लेखिरहे, तर प्रकाशन गरेका थिएनन् ।’
संग्रहबारे टिप्पणी गर्दै कवि वम देवानले नामले झै संग्रहभित्रका कविताहरुले स्वतन्त्रता र मुक्तिको लागि उत्प्रेरित गरेको बताए । ‘आजादी उर्दु शब्द हो, यसको अर्थ मुक्ति भन्ने हो । संग्रहभित्रका कविताहरुले पनि हामी बाधिएका छौं, थिचिएका हेपिएका छौं । त्यसविरुद्ध स्वतन्त्रता र मुक्तिको लागि उठ्नुपर्छ भनेर घच्घचाएको छ’–कवि देवानले टिप्पणी गर्दै भने–‘गरीबी, अज्ञानता बेचेर सत्ता पुगेर पुनः जनतालाई नै शोषण गर्नेहरु छन् । साम्राज्यवादीहरुबाट इराक, सिरिया, प्यालेष्टाइनमात्र होइन मावनताविरुद्ध नै रगतको होली खेलिरहेको छ । ती सबैविरुद्ध जागौं भनेर कवि निराकारले सबैलाई झक्झकाएका छन् ।’ ग्लोबलाइजेशनको नाराले मानवीय मुल्य, मान्यताभन्दा पनि साम्राज्यवादीहरुको विकृति, विसंगतिहरु बाडिरहेकोले ग्लोबलाइजेशनको नारा शोषित, पीडित राष्ट्रको लागि ठिक नभएको तर्क कवि निराकारको रहेको टिप्पणीकार देवानले बताए । ‘यो संसारमा तिमी कसरी टिक्छौं भन्ने प्रश्न गर्दै कविले तिमी जहाँ छौं, जुन धरातलमा टेकेका छौं त्यही उभिनु । तबमात्र हराएका साथीहरु भेट्छौं भनेका छौं’–उनले भने ।

 मोती संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाले कवितामा विद्रोहका स्वरहरु भएपनि कविले अझै खुलेर भन्न नसकेको टिप्पणी गरे । अहिलेसम्म भएका क्रान्ति र परिवर्तनबाट सन्तुष्ट नभए पनि कविले अब भने कस्तो क्रान्ति गर्ने भनेर प्रष्ट भन्न नसकेको उनको भनाई थियो । वरिष्ठ कवयित्री कुन्ता शर्माले मानिस सधै स्वतन्त्र रहन मन पराउने भएकोले सबै बन्धनहरुबाट मुक्ति खोज्ने गरेको बताइन् । ‘मानिस हरेक प्रकारका शोषण, बन्धन र अन्यायहरुबाट मुक्ति खोज्छ, स्वतन्त्र र स्वधिनरुपमा बाच्न चाहन्छ’–उनले भनिन्–‘कविहरुलाई मात्र पद र प्रलोभनले छुदैन, त्यसैले कविहरुले सत्य बोल्नुपर्छ । राष्ट्र र राष्ट्रियताप्रति कवि बोल्नै पर्छ ।’ विमोचन समारोहमा कवयित्री शर्मा, श्री सुब्बा, वम देवान, विनय सरगम, राज आशातित, श्रेष्ठ परिक्रमालगायतले पनि आफ्नो कविता तथा गजल वाचन गरेका थिए भने स्रष्टा निराकारको चाहना वमोजिम विभिन्न संस्थाहरुलाई कविता संग्रह(५०थान) प्रदान गरिएको थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे