बिहिबारदेखि बीपीमा चिकित्सक सम्मेलन

धरान । नागरिकको मौलिक स्वास्थ्य अधिकार कार्यान्वयनको बिषयलाई मुख्य एजेण्डा बनाउदै बिहिबारदेखि धरानमा तीन दिने २७ औं अखिल नेपाल चिकित्सक सम्मेलन हुने भएको छ । चिकित्सकहरुको साझा छाता संगठन नेपाल चिकित्सक संघको आयोजनामा कार्तिक २५ देखि २७ गतेसम्म धररानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्मेलन हुन लागेको हो ।
प्रत्येक तीन बर्षमा आयोजना हुने वृहत सम्मेलन धरानमा १३ बर्षपछि हुन लागेको हो । ‘मौलिक स्वास्थ्य अधिकारः कार्यान्वयनको प्रत्याभुति’ २७ औं सम्मेलनको मुल नारा हो । आयोजक समितिले एक पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री गगन थापाले सम्मेलनको उद्घाटन गर्ने जानकारी दिएको छ । सम्मेलनले स्वाथ्य क्षेत्रमा भएको वैज्ञानिक अनुसन्धानको उपयोगिता समाजमा कसरी हुने भनेर विमर्श गर्नेछ भने स्वास्थ्य अधिकारलाई जनताको पहुँचमा कसरी पु¥याउने भनेर गम्भीररुपमा छलफल हुने आयोजक समितिका सचिव डा.पशुपति चौधरीले जानकारी दिए । ‘नेपालको संविधानले स्वास्थ्य अधिकारलाई नैसर्गिक अधिकारकोरुपमा स्वीकार गरेपनि कार्यान्वयन अत्यन्तै चुनौतीपुर्ण छ । यो सम्मेलनले जनतामा स्वास्थ्य अधिकार, सेवासुविधाको पहुँच पु¥याउन सरकारी, निजी र जनस्तरबाट के गर्ने भनेर मार्गनिर्देशन तय गछौं र सरकारलाई बुझाउछौं’–डा.चौधरीले भने ।
आयोजकका अनुसार सोही सम्मेलनले घोषणा पत्रसमेत जारी गर्नेछ । मार्गनिर्देशन भने नीतिगतरुपमा नै सरकारलाई बुझाउने आयोजकले जनाएको छ । सम्मेलनमा नै चिकित्सक संघका नवनिर्वाचित पदाधिकारीको पदस्थापन पनि हुनेछ । सम्मेलनमा देश र विदेशकासमेत गरी ७ सय बढी चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको सहभागीता हुने आयोजक समितिका प्रवक्ता डा. मधुर बस्नेतले जानकारी दिए । उनका अनुसार सम्मेलनमा क्यानाडा, जापान, भारतलगायत विभिन्न मुलुकका ख्यातिप्राप्त स्वास्थ्य वैज्ञानिक तथा नीति निर्माताहरुसमेत सहभागी डेढ दर्जन बढी कार्यशाला गोष्ठी गरिनेछ भने ८५ वटा वैज्ञानिक अनुसन्धानहरु प्रस्तुत हुनेछ ।
तीन दिने सम्मेलनमा नै नेपाल पब्लिक हेल्थ फाउण्डेशनका अध्यक्ष तथा चीनका लागि पुर्व राजदुत डा.महेश मास्केको बिषेश सम्बोधन रहनेछ भने आम्दा इन्टरनेशनलका अध्यक्ष डा.शिगेरु सुगानामीबाट नेपाल चिकित्सक संघ प्रवचन र प्रा.डा.मदनप्रसाद उपाध्यायबाट मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट प्रवचन हुनेछ । ‘मौलिक स्वास्थ्य अधिकारको कार्यान्वयनको चुनौतीलाई कसरी समाधान गर्ने भनेर विज्ञहरुको बहस, छलफल हुनेछ र नीति नै तयार हुन्छ । त्यो सरकारलाई बुझाउछांै, जुन स्वास्थ्य क्षेत्रको गाइडलाइन हुनेछ’–आयोजक समितिका संयोजक डा.मोहनचन्द्र रेग्मीले भने–‘यो सम्मेलन जनताको मौलिक स्वास्थ्य अधिकार कार्यान्वयनको निम्ति एक कोशेढुंगा सावित हुनेछ भन्ने आशा छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे