'भकुराको भ्रम र वास्तविकता' सार्वजनिक


धरान । किरात राई जातिको सँस्कारको मुख्य केन्द्र सुप्तुलुङ(तीन चुला)लाई हटाउन थालेपछि विवादित बनेका हेवेन्ली पाथ(स्वर्गिक मार्ग) प्रमुख भक्तकुमार राईप्रतिको भ्रम चिर्न भन्दै ‘भकुराको भ्रम र वास्तविकता’ नामक पुस्तक सार्वजनिक भएको छ ।
लेखक तथा पत्रकार जनकऋर्षि चाम्लिङद्धारा सम्पादित पुस्तकको मंगलबार किरात राई यायोक्खा सुनसरीको धरानस्थित भवनमा सार्वजनिक भएको हो । आफ्ना अनुयायीहरुमाझ सुप्रिम मास्टर गड एन्जल भनेर चिनिने राई पछिल्लो समय भकुराको नामले परिचित छन् । पुस्तकमा भकुरा र उनीद्धारा प्रतिपादित प्रेमवाद, हेभन्ली पाथको बौद्धिकरुपमा चिरफार गरिएका लेखहरु समावेश गरिएका छन् । पुस्तक विमोचन कार्यक्रमका अतिथि वक्ता रहेका राई बुद्धिजिवि एवं अगुवाहरुले किरात राईहरुको धर्म, सँस्कार तथा सँस्कृतिमाथि निरन्तर धावा बोलिरहेकोले भकुराविरुद्ध अभियान चलाउनु परेको धारणा राखे ।
किरात अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवं किरात राई यायोक्खाका केन्द्रीय सह कोषाध्यक्ष सदर राईले राईहरुको साझा आस्था एवं सँस्कृतिको धरोहर तीन चुलालाई भकुरा र उनको समुहले प्रहार गरेकोले त्यसविरुद्ध जाग्नु परेको बताए । ‘तीन चुला राई जातिको धर्म, सँस्कार, सँस्कृतिको धरोहर हो, प्रशासनिक केन्द्र हो । हामी राईहरु जे गर्दा पनि तीन चुलामा देखाउनु पर्छ, चढाउनुपर्छ, पुग्नै पर्छ’–उनले भने–‘चुलामा आगो हुन्छ, त्यसले न्यानो र उज्यालो दिन्छ । यो सँस्कार हाम्रो पुर्खाहरुले ८ हजार बर्ष अगाडि गरेको आविष्कार हो, त्यसलाई अहिले भकुरा र उनको टिमले प्रहार गर्दै आइरहेको छ । हाम्रो पुर्खा, वंशजहरुको आविष्कारलाई जोगाउने हाम्रो अभिभारा हो ।’
अर्का, किरात राई प्रज्ञा परिषद सदस्य सालिक सतासकले पुस्तकले साँस्कृतिक, आर्थिक र नैतिकरुपमा भकुरालाई उदांगो पारेको बताए । भकुराको हेवन्ली पाथ क्रिश्चियनसँगको सम्बन्ध देखिने र अर्को प्रेमवाद धेरैले प्रतिपादन गरिसकेकोले भकुराले प्रतिवादन गरेको वाद नभएको बताए । ‘यी वादहरु मात्र मान्छेलाई हिप्नोटाइज गरेर प्रभाव पारेको मात्र हो, यी सबै भ्रम हुन्’–सतासकले भने–‘किरातीहरु प्रकृति पुजा गर्ने प्रकृतिवादी हौं । मुन्धुमअनुसार उभौली उधौली गछौं । पितृवादी हौं, अन्नहरु पितापुर्खाको मृत आत्मालाई चढाउछौं । आत्मावादी हौं, आत्मामा विश्वास गछौं । तर भकुराले हाम्रो जन्मदेखि मृत्युसम्मको सँस्कारको केन्द्र तीन चुलालाई उखेलेर फाल्ने काम गरेका छन् ।’
किरात अन्र्तराष्ट्रिय सास्कृतिक अभियान(किक), युकेका अभियन्ता टिकाधन राईले किरात राईहरुको आस्थाको केन्द्र सुप्तुलुङ(तीन चुला) उखेलेर फालेकैले पतन शुरु भएको बताए । उनले भकुराले जहाँ जहाँ तीन चुला फालेका छन्, त्यहाँ पुनःस्थापित गराएर चुलाअघि माफी मागेमा स्वीकार गरिने बताए । किराया हङकङका सचिव बज्र थुलुङले हावा, पानीविना बाच्छु भन्दै भकुराले भ्रम छरेको बताए । किक अभियानका संयोजक भद्रगोल किरातीले एउटा व्यक्ति(भकुरा) भगवान र स्वर्गको दुत हुन नसक्ने भएकोले पुस्तकले त्यो भ्रमलाई चिर्न मद्दत गर्ने बताए । भारतको कालेबुङमा तीन चुला(सुप्तुलुङ) भत्काउन नमान्नेको हत्यासमेत भएकोले त्यस्ता व्यक्तिलाई भगवान मान्न नहुने उनले बताए । किक अभियन्ता तेज राईले किरात, सँस्कार सँस्कृतिको फुलबारीमा फोहोर झारले घेरेकोले आफुहरु त्यसलाई सफा गर्न अभियानमा लागेको धारणा राखे ।
पुस्तकका सम्पादक जनकऋर्षि चाम्लिङले किरात सँस्कारमाथि हमला हुन थालेपछि बौद्धिक प्रतिक्रियाकोरुपमा पुस्तक प्रकाशन भएको बताए । ‘मैले प्रेमवाद के हो, लेखेर दिनुस्, त्यो पनि समेट्छु भने । तर उनीहरुले लेख्ने आँट गरेनन् । किनभने उनीहरुसँग दार्शनिक आधार छैन’–सम्पादक चाम्लिङले भने । सोही कार्यक्रममा युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाका मुक्तिनारायण राईले किक अभियानलाई सहयोगार्थ संकलित ७२ हजार १ सय २८ रुपैया हस्तान्तरण गरेका थिए ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे