महाअभियोग फिर्ताको माग गर्दै आन्दोलन


धरान । प्रधानन्यायाधिश शुसिला कार्कीमाथिको महाअभियोग फिर्ता लिन माग गर्दै महिला सञ्जाल धरानले चरणवद्ध विरोधको कार्यक्रम शुरु गरेको छ । स्वतन्त्र न्यायापालिकामा ठाडो हस्तक्षेप भएको ठहर गर्दै सञ्जालले चरणवद्ध कार्यक्रमअन्र्तगत बुधबारदेखि धरानको भानुचौकमा हस्ताक्षर संकलन शुरु गरेको हो ।
नेपालकै न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधिश बनेकी कार्कीलाई दलीय स्वार्थअनुरुप काम नगरेको आरोपमा महाअभियोग लगाउनुलाई सञ्जालले महिलामाथिकै हिंसाको रुपमा लिएको पनि सञ्जालले जनाएको छ । ‘यो त स्वतन्त्र न्यायापालिकामाथि ठाडो हस्तक्षेप भयो । अब हामी जनताले न्याय माग गर्न अदालत होइन, नेताहरुको घरमा धाउनुपर्ने रहेछ भन्ने सन्देश गएको छ’–सञ्जालकी अध्यक्ष शिला बज्रचार्यले भनिन्–‘जे भयो, ज्यादै गलत भएको छ । महाअभियोग तत्काल फिर्ता गर्न हामी माग गछौं ।’
धरान उपमहानगरपालिकाअन्र्तगतका तीन दर्जन बढी महिला नेतृत्व रहेको संघसंस्थाहरु आवद्ध सञ्जालले महाअभियोगलाई महिलामाथिको हिंसाकोरुपमा पनि लिएको प्रष्ट्याएको छ । यो प्रकरणले शक्ति र पहुँचमा रहेकाहरुले अदालतमा न्याय सम्पादनको क्रममा गर्ने दबाब र चलखेललाई आमजनता समक्ष उजागर गरेको पनि अध्यक्ष बज्रचार्यले बताइन् । ‘अहिलेसम्म त सुनेका मात्रै थियौं, तर एउटी साहसी महिला प्रधानन्याधिशले त्यस्तो दबाब, प्रभावमा पर्नुभएन, त्यसैले उहाँलाई महाअभियोग लगाइयो’–उनले थपिन्–‘न्यायालय दबाब, प्रभावमा पर्ने हो भने जनताले कहाँबाट न्यायको आशा गर्ने ?’ महाअभियोग फिर्ता नगरे दोस्रो चरणको आन्दोलन पनि गर्ने सञ्जालले जनाएको छ ।
महाअभियोगविरुद्ध दिनभर हस्ताक्षर संकलन गरेका धराने महिलाहरुले बिहिबार भानुचौकमा विद्धतसभामार्फत आमजनतामा पनि जागरण ल्याउने सञ्जालले जनाएको छ । उक्त विद्धतसभामा कानुन व्यावसायी तथा वकिल, नागरिक अगुवाहरुमार्फतबाट महाअभियोगबारे र कार्कीमाथि महाअभियोग दर्ता गर्नुका वास्तविकता पनि प्रष्ट पारिने सञ्जालले जनाएको छ । शुक्रबार भने संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइने सञ्जालको भनाई छ ।
प्रधानन्यायाधिश कार्कीलाई विभिन्न आरोप लगाउदै नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना संसादहरुले महाअभियोग दर्ता गरेपछि उनी निलम्बित भएकी छिन् । कांग्रेस र माओवादीले क्षेत्राधिकार नाघेर फैसला गरेकोलगायत विभिन्न आरोप लगाएपनि आफुअनुकुल फैसला नगरेपछि न्यायापालिकामाथि अंकुश लगाएको भन्दै सर्वत्र आलोचनाको क्रम बढीरहेको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे