सुत्केरी मृत्यु प्रकरण;छानबिन समिति गठन गरिने

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेशन गरिएकी सुत्केरीको अचानक मृत्यु भएको घटनाबारे छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रतिष्ठान पदाधिकारी र मृतक पक्षबीच शुक्रबार भएको वार्तामा घटनाबारे छानबिन समिति गठन गर्ने सहमति बनेपछि तनाव मत्थर भएको छ । एमआइसियुमा रहेको मृतकको शव मर्चरीमा लैजान मृतकका आफन्तजन सहमत भएपनि शव भने बुझेका छैनन् । दुवै पक्षबीच मृतकको शवको पोष्टमार्टम गर्ने सहमति पनि भएको छ । नर्मल डेलिभरी गराउने प्रयास सफल नभएपछि बिहिबार बिहान धरान ११ की २९ बर्षीय भगवती बिकको अप्रेशन गरिएको थियो । छोरी जन्म दिएकी बिकको केही घण्टापछि अचानक मृत्यु भएको थियो । मृतकका आफन्तजनले उपचारमा लापरवाही भएको आरोप लगाउदै आएका छन् भने अस्पताल प्रशासनले लापरवाही नभएको दाबी गर्दै ‘पल्मोनरी थम्बोइम्बोलिज्म’को कारण सडन डेथ हुन पुगेको प्रष्टिकरण दिएको छ ।
सुत्केरी मृत्युले तनाव सृर्जना भएपछि बिहिबार राती नै अस्पताल प्रशासन र मृतक पक्षबीच वार्ता भएपनि सहमति हुन सकेको थिएन । शुक्रबार पुनः भएको वार्तामा छानबिन समिति गठन गर्ने सहमति भएपछि मृतकको पक्षबाट २ जनाको नामसहित अस्पताल प्रशासनमा पत्र बुझाएको मृतकको पक्षबाट वार्तामा सहभागी जुद्ध लोहनीले जानकारी दिए । ‘छानबिन समिति गठन गर्ने सहमति भएपछि मृतक पक्षका २ जनाको नाम पनि बुझाइसकेका छांै’–उनले भने–‘मृतकको शव मर्चरीमा ल्याउने र पोष्टमार्टम गर्ने पनि सहमति भयो तर शव बुझिसकेका छैनौं ।’ उनका अनुसार छानबिन समितिमा मृतक पक्षबाट खगेन्द्र नेपाली र लोकेन्द्र फागो रहने गरि नाम बुझाइएको छ । वार्तामा मृतक पक्षले दोषी चिकित्सकलाई कारबाही र आमा गुमाएकी नवजात शिशुको शिक्षाको लागि प्रतिष्ठानले प्रबन्ध गरिदिनुपर्ने माग राखेको पनि लोहनीले बताए । मृतक पक्षले अप्रेशनमा संलग्न चिकित्सकहरुलाई छानबिनको दायरामा ल्याएर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा पनि जाहेरी दिएको उनले खुलाए ।
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक एवं प्रसुती विभागका चिकित्सक डा.पप्पु रिजालले भने छानबिन समिति गठन गर्ने समझदारी भएपनि यसको अधिकार उपकुलपतिलाई मात्र भएकोले केही दिन पर्खनुपर्ने बताए । ‘समझदारी भएको छ, तर समिति गठन गर्ने अधिकार भिसिलाई मात्र छ । उहाँ प्रतिष्ठान आएपछि समिति गठनबारे छलफल हुन्छ, मृतक पक्षबाट २ जनाको नामसहित निवेदन आइसकेको छ’–रिजालले भने । अप्रेशनपछि छोरी जन्म दिएकी बिकको अवस्था सामान्य थियो । तर, वार्डमा सारेको केही समयपछि नै अचानक स्वास्थ्य बिग्रिएर मृत्यु भएको थियो । अस्पतालले ‘पल्मोनरी थम्बोइम्बोलिज्म’को कारण मुटूबाट फोक्सोमा रगत जाने नलीमा रगतको ढिक्काले अक्जिसन ब्लक गरिदिएको र सडन डेथ भएको जनाएको छ । अप्रेशन गरिएको विरामीलाई यस्तो हुनसक्ने धेरै सम्भावना हुने र अझ डेलिभरीको अवस्थामा यस्तो जोखिम बढी हुने अस्पतालको भनाई  छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे