सरल ‘सरला दिदी’


‘हेलो, सरला दिदी बोल्नुभएको हो ?’
ल्याण्डलाइन फोनबाट जवाफ आयो,–‘हजुर बोल्दैछु, तपाई नि ?’
‘म नागरिक दैनिकको रोहित भाई ’
‘अँ बाबु, भन्नुस् न’
‘आज तपाई घरमै रहनुहुन्छ कि कतै जानुहुन्छ ?’
‘२ बजेपछि एउटा मिटिङमा जानुछ, बाबु ।’
घडि हेरे, १० बजिसकेको थियो । आजै(बिहिबार,चैत ३१) नभेटे काम अधुरै हुन्छ ।
‘तपाईसँग भेटेर कुरा गर्नुछ, ११ बजेतिर घरमै आउछु है दिदी ।’
‘हुन्छ बाबु’–जवाफ आयो ।
........................................................................................................
धरान २, रत्न रोड निवासी ७८ बर्षीय सरला कायस्थलाई जतिबेला पनि घरमा भेट्न सकिदैन । यसको कारण हो, उनले बिताइरहेको सक्रिय सामाजिक जीवन । उमेरले ७ दशकको उत्तराद्र्धमा हिडेपनि सामाजिक काम अथवा समाजसेवामा उनको लगाव युवा भन्दा कम छैन । यही सक्रिय जीवन, सरल विचार, मधुर वचन र मिलनसार व्यावहारले उनी सबैको प्रिय छिन् । समाजको सेवामा समर्पित कायस्थको जीवन आफ्नो नाम जस्तै सरल छ । उनलाई सबैले ‘सरला दिदी’ भनेर सम्बोधन गर्छन् । यो ‘दिदी’ शब्दभित्र अगाध श्रद्धा, सम्मान, प्रेम र प्रेरणा(उर्जा) भरिएको छ । उनले केही पाउने लालसाले समाज सेवा गरिनन्, जे गरिन निःस्वार्थ भावले गरिन् । महिलाहरुको निम्ति उनको जीवन एउटा छुट्टै पाठशाला हो ।
.............................................................

                                                        रेडक्रसमा कुशल नेतृत्व 

कायस्थले समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याएकी छिन् । उनी आवद्ध संघसंस्था र कामहरुको लामो फेहरिस्त(सुची) बन्छ । ती मध्ये पनि नेपाल रेडक्रस सोसाइटीको सुनसरी शाखाको संस्थापक अध्यक्ष भई उनले गरेको सेवा उल्लेखनीय छ । हरेक क्षेत्रमा पुरुषहरुको दबदबा रहेको बेला पनि उनी २०२८ सालमा रेडक्रसको संस्थापक अध्यक्ष बनिन् । त्यसपछि निरन्तर २१ बर्ष(२०४९ साल)सम्म रेडक्रस सुुनसरीको अध्यक्ष भएर कुशल नेतृत्व पनि सम्हालिन् । त्यसपछि पनि रेडक्रसको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भई उनले रेडक्रसमा निरन्तर ४० बर्ष(२०६८ साल) आवद्ध भएर सेवा गरिन् । रेडक्रसको केन्द्रमा महिला विकास समितिको सभापति पनि भइन् ।
उनकै नेतृत्वमा जग्गाको व्यवस्था गरेर रेडक्रस सुनसरीको भवन धरानमा निर्माण भयो । काठमाण्डौं बाहिर एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि सुनसरी पहिलो बन्यो । उनकै कार्यकालमा ब्लड बैंक सञ्चालनमा आयो । इनरुवामा रेडक्रस प्राथमिक विद्यालय स्थापना भयो । भुटानी शरणार्थी व्यवस्थापन, २०४५ सालको भुकम्प पीडित, आगलागी, बाढीपहिरो एवं कोशीकटान पीडितहरुलाई उद्दार, राहत र पुर्नस्थापना जस्ता गहन जिम्मेवारीलाई पनि रेडक्रसले उनको नेतृत्वमा निर्वाह ग¥यो । रेडक्रसमा उनी एक्ली महिला थिइन्, जो पुरुषहरुसँगै राहत लिएर प्रभावित क्षेत्र, गाउँ गाउँमा पुग्थिन् । यसक्रममा उनले ६८ जिल्लाहरुमा पुगिन् । तीठामिठा अनुभव संगालिन र ज्ञानको भण्डार बनिन् । ‘रेडक्रससँगको लामो यात्रा मेरो जीवनभरिको वहुमुल्य आर्जन भएको छ । रेडक्रसको चिन्हमात्र देख्दा पनि अझै मनमा खुशी छाउछ’–उनी भन्छिन्–‘रेडक्रस शब्दले मेरो मुटु छुन्छ ।’
.............................................................

दृष्टिविहिनहरुको सारथी

धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयको स्थापना, विकास र सञ्चालनमा कायस्थको महत्वपुर्ण योगदान छ । दृष्टिविहिन विद्यार्थीहरुको निम्ति २०३४ सालमा स्थापना भएको यो विद्यालयको उनी संस्थापक सदस्य सचिव थिइन् । त्यसबेला व्यवस्थापन समितिको अध्यक्ष अञ्चलाधिश थिए । उनी २०४६ सालसम्म सदस्य सचिव रहिन् । राजनैतिक परिवर्तनले अञ्चलाधिश पद स्वतः खारेज भएपछि २०४६ सालदेखि २०६९ सालसम्म उनी व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा योगदान दिइन् । ‘यो विद्यालयलाई अहिलेको अवस्थासम्म ल्याउन धेरै खुन, पसिना बगेको छ’–उनी भावुक हुदै भन्छिन्–‘भाडाको कोठाबाट शुरु भएको विद्यालयलाई जग्गा खोज्यौं, विभिन्न दाताहरुबाट सहयोग लिएर विद्यालयको भवन, छात्रावास बनायौं ।’ यो विद्यालयको कार्यालय भएको भवन मात्र शिक्षा मन्त्रालयको बजेटबाट बनेको हो । अन्य भवनहरु ब्रिटिश वेल्फेयर, कादुरी फाउण्डेशनलगायतको सहयोगमा ठडियो । उनी रेडक्रसको नेतृत्वमा हुँदा ती संस्थासँगको सम्बन्धले यो विद्यालयको विकासमा मद्दत पु¥यायो ।
दृष्टिविहिनहरुलाई ब्रेललिपीबाट निःशुल्क अध्ययन, अध्यापन गराउने यो एकमात्र विद्यालय हो । शुरुवातमा विद्यालय खोल्न गाउँ गाउँबाट १० जना दृष्टिविहिन छात्रहरु भेला पार्नुपरेको थियो । तिनीहरुलाई कायस्थले नै नुवाई धुवाई गरी ड्रेस लगाइदिएर विद्यालय पठाएकी थिइन् । यसरी शुरु भएको यो विद्यालय अहिले नमुना बनेको छ । पछिल्लो पटक दृष्टिविहिन विद्यार्थीहरु एसएलसीमा सतप्रतिशत उर्तीण भएका थिए । यो विद्यालयका विद्यार्थीहरु कोही शिक्षक छन्, कोही सरकारी जागिरे, कोही एफएम रेडियोमा, कोही विभिन्न प्रोजेक्टमा छन् । ती विद्यार्थीहरुले उनको आवाजबाटै चिन्छन् । ‘दिदी’ भन्दै हात समाउछन्, उनको मन खुशीले गदगद हुन्छ । ‘उनीहरुको प्रगति देख्दा छोराछोरीको प्रगतिमा खुशी भएको आमाको मन जस्तै अनुभूति हुन्छ’–कायस्थले भावना पोखिन्–‘म अहिले त्यो विद्यालयमा छैन, तर मेरो मन त्यही पुगिरहेको हुन्छ । मेरो चाहना छ, कोही पनि दृष्टिविहिनहरु शिक्षा, जिउने कला, सिपबाट बञ्चित नहोस् । यो विद्यालय दृष्टिविहिनहरुको लागि विश्वविद्यालय बन्न सकोस् ।’
...............................................................
रेडक्रस र ज्ञानचक्षु विद्यालय स्थापना गर्न मात्र उनको योगदान होइन । सुनसरी(धरान)मा स्थापना भएका हरेक जस्तो संस्था, विद्यालयको समिति र भौतिक निर्माणमा उनको देन छ । २०३२ सालमा स्थापना भएको नारी शिल्पकला केन्द्रको उनी संस्थापक उपाध्यक्ष थिइन् । कायस्थ आफैले २ वटा र रेडक्रसबाट थप २ वटा गरी ४ वटा मेशिन दिएर केन्द्रको शुरुवात भएको थियो । महिलालाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्य थियो । सिद्धि नेवाः परिषदको स्थापना गर्न र संस्थाको सुविधासम्पन्न भौतिक संरचना निर्माणमा पनि उनको ठुलो देन छ । २०६३ देखि २०७१ सालसम्म अध्यक्ष बनेकी कायस्थको नेतृत्वमा २ वटा भव्य भवन निर्माण भइसकेको छ । नेपाल परिवार नियोजन संघ, नेपाल क्षयरोग निवारण संघ, वसुन्धरा स्मृति सदनलगायत थुप्रै संस्थाको भवन निर्माणमा पनि उनको योगदान छ । कुष्ठरोग निवारण संघ, नागरिक समाज धरान, बीपी प्रतिष्ठानको सल्लाहकार समिति सदस्य, पुर्वाञ्चल आसरा सुधार केन्द्र निर्माण समिति सदस्यलगायत विभिन्न संघसंस्थामा उनको संलग्नता छ ।
करिब ९ बर्ष नेवाःदेय् दबूको अध्यक्ष रहेर भर्खर मात्र उनले नेतृत्व हस्तान्तरण गरेकी छिन् भने ज्येष्ठ नागरिक मिलन केन्द्रको अध्यक्ष हुन् । ज्येष्ठ नागरिकहरु घरपरिवार, समाजबाट तिरस्कृत भएको वा एक्लो भएको महसुस नहोस् भनेर विभिन्न ठाउँमा भेला हुने, गफिने र समय कटाउन केन्द्रले पहल गरिरहेको छ । कायस्थ गोपाल प्रसाद–सरला प्रतिष्ठान स्थापना गरेर एक जना पत्रकारलाई सम्मानको साथै दृष्टिविहिन, विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदानको थालनी गरेको छ । अन्य विभिन्न स्कुलमा पनि छात्रवृत्ति स्थापना गरेकी छिन् । उनको निश्वार्थ कर्मबाट प्रभावित भएकाहरुले उनलाई राजनीतिमा लाग्न पनि सुझाएका थिए । कतिले त दबाब पनि दिए । उनले आफैलाई मनन गरिन । उनलाई लाग्यो, ‘मेरो स्वभावले राजनीति हुदैन, सधै रेडक्रसकर्मी सरला दिदी भएर नै बाँच्न चाहन्छु ।’ उनी राजनीति बाहिर रहेरै समाजको सेवामा समर्पित भइन् ।

...............................................................

                                                श्रीमान् र परिवारको साथ

घरपरिवारको दायरा नाघेर समाजको सेवामा लाग्नु अझै पनि नेपाली महिलाहरुको लागि सहज छैन । झन् ४ दशकअघिकको नेपाली समाज महिलाहरुको लागि ज्यादै संर्कीण थियो । बुहारी भएर भित्रिएपछि उनी पनि लामो समय घरपरिवारमा सिमित भइन् । ६ भाई छोरा र एक छोरी हुर्काउने जिम्मेवारी थियो । श्रीमति, बुहारी, आमाको जिम्मेवारी वहन गर्दै उनले विस्तारै समाज सेवामा पाइला चालिन् । उनको पाइला अहिले पनि अनवरत चलिरहेको छ ।
उनलाई घरपरिवार र बिशेष गरी श्रीमान् गोपालप्रसाद कायस्थको पुर्णसमर्थन थियो । उनकै शब्दमा आमाजु दिदी विष्णुदेवी श्रेष्ठ, जेठाजु भागवतप्रसादको प्रेरणाले उनी अघि बढ्न सकिन् । ‘घरपरिवार र मेरो श्रीमान्ले एकदमै साथ दिनुभयो, उहाँको हृदय विशाल थियो’–स्वर्गीय श्रीमान् गोपालप्रसादप्रति सम्मान दर्शाउदै उनले भनिन्–‘रेडक्रसमा धेरै पुरुषहरु थिएँ, उहाँहरुसँगै राहत, उद्दारलगायतको काममा हिड्नुपथ्र्यो तरपनि घरपरिवार, श्रीमान्बाट कहिल्यै छेकबार भएन ।’ रेडक्रसको कार्यालय टाढा भएकोले कतिपय पीडितहरु घरमै आइपुग्थे । घरमा कसैले पनि नराम्रो भन्दैनथे । श्रीमान्ले त उल्टै ती पीडितलाई सहयोग दिएरै पठाउथे ।
त्यसो त धनकुटा बजारमा वि.स.१९९५ सालमा अमात्य परिवारमा जन्मिएकी सरला स्कुले जीवनदेखि नै सक्रिय अनि सेवा भावकी थिइन् । आर्युवेदका चिकित्सक उनका बुवा डिल्लीमान अमात्यसँगै उनी गाउँघरमा घाउ, खटिराको उपचार गरेको हेर्न जान्थिन् । बुबाको सेवा देखेर उनलाई प्रेरणा मिल्यो । पण्डित छविलाल पोख्रेल, गजेन्द्रबहादुर प्रधानाङ्गलगायतको प्रयासमा धनकुटामा कन्या स्कुलमा खुलेको थियो । उनी त्यही पढ्ने मौका पाइन् । हातले लेखेर अञ्जली पत्रिका निकाल्ने टिममा थिइन भने स्कुल निर्माणको लागि आर्थिक सहयोग जुटाउन गाउदै हिडिन् । छोरीलाई पनि स्कुलमा भर्ना गरौं भन्दै घरघरमा  पुगिन् । ‘छोरी भर्ना गर्नै मान्दैनथे, कसैले बीचैमा छुटाइदिन्थे’–स्मरण गर्दै उनले भनिन्–‘घरमा ८, १० जना भाइबहिनी थियो, म जेठी भएकोले उनीहरुलाई पढाउने र हेरबिचार पनि गर्थे ।’
२००९ सालमा सरला र मेरी पार्थिवले एसएलसी उर्तीण गरिन् । उच्चशिक्षा पढ्न कलेज थिएन । काठमाण्डौं गएर पढ्न धेरै कोसिस गरेपनि पाइनन् । आफु पढेकै कन्या स्कुलमा २ बर्ष पढाइन् । वि.स.२०१२ सालमा धनकुटामा कलेज खुलेपछि मात्र उनले पढ्न पाइन । कक्षामा ४ जना मात्र छात्रा थिए । कलेज जादा आउदा ठिक समयमा घर पुग्नुपर्ने । आई.ए.पढिनसक्दै २०१३ सालमा बिहे भएर उनी धरान झर्नुप¥यो । जाँच दिन पठाउने सर्त थियो । बिहेपछि उनले काठमाण्डौंमा गएर आइ.ए.परीक्षा दिइन्, र उर्तीर्ण पनि भइन् । पछि धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिन् ।
........................................

                                      महिलामैत्री बनाउन रेडक्रसमा उम्मेद्वारी

रेडक्रसमा लामो समय रहेर सेवा गरेकी कायस्थलाई लाग्यो, संस्था समयसापेक्ष महिलामैत्री हुन सकेन । अरु संस्थाहरुमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व निश्चित भइसक्दा पनि रेडक्रसमा त्यो व्यवस्था लागु हुन सकेको छैन । त्यसैको सुधार र परिवर्तनको लागि उनले २०६८ सालमा भक्तपुरमा भएको केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । उनको विजय भएन, तर आवाज सशक्त बन्यो । ‘म अध्यक्ष पदमा उठ्ने मनसाय थिएन, तर बाध्यतावश त्यतिबेला उठे । रेडक्रसमा ३३ प्रतिशत महिला चाहिन्छ भनेर आवाज उठाउन उठेको थिए’–उनले भनिन्–‘रेडक्रसको नेतृत्वमा अहिले पनि महिलाहरु कम छन् । त्यसको लागि त विधान संशोधन हुनु अनिवार्य छ ।’
महिलाहरुको आत्मसम्मानका साथै क्षमता विकास र शिक्षामा जोडदिनुपर्ने उनको धारणा छ । तब मात्र पाएको अधिकार सदुपयोग हुने उनको मान्यता छ । गाउँ गाउँमा शिक्षाको लहर पुगेको र छोरीहरुलाई पनि शिक्षा दिनुपर्छ भन्ने चेतना जागेको देखेर उनी खुशी छिन् । निःस्वार्थ समाजको सेवामा लाग्दा पुरस्कार, सम्मान पनि थापिन् । ती भन्दा पनि सेवा गर्दाको मिलेको आत्मसन्तुष्टीलाई उनी आफ्नो उपलब्धी ठान्छिन् । ‘मैले केही पाउन गरेको होइन, जे गरे निःस्वार्थ भएर गरे । मलाई आत्मसन्तुष्टी छ, यसैमा म खुशी छुँ’–कुराकानीको विट मार्दै सरला दिदीले सुझाइन्–‘आफ्नो घर विगारेर देश बनाउछु भन्ने सोच गलत हो, पहिला घर बनाउ । घर घर बनेपछि समाज बन्छ, समाज बनेपछि देश बन्छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे