उपभोक्ताको घरखेतमा अवैध गोलिया

धरान । सबैको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको मौकामा सुनसरीको वन क्षेत्रबाट गोलिया काठ तस्करी हुन थालेको पाइएको छ । सुनसरीको बराह नगरपालिका(साविक भरौल गाविस) को केही घर एवं खेतबारीमा गोलिया काठ फेला परेपछि चुनावको मौका पारेर तस्करहरु सक्रिय भएका हुन् ।
बराह नगरपालिकामा स्थानीयको घर, खेतबारीमा गोलिया र चिरान गर्दै गरेको अवस्थामा ठुलो परिमाणमा अवैध काठ भेटिए पछि सेक्टर वन कार्यालय महेन्द्रनगरले अनुसन्धान शुरु गरिसकेको जनाएको छ । ती काठ जनजागृति सामुदायिक वन उपभोक्ता समुहको कार्यालय नजिका उपभोक्ताहरुको घरखेतमा फेला परेको हो । इलाका वन कार्यालय पनि नजिककै पर्छ । उपभोक्ताहरुले भने वन समुहका पदाधिकारी र वन कर्मचारीकै मिलेमतोमा तस्करी गरिएको आरोप लगाएका छन् । सेक्टर वन कार्यालयले पनि वन समुहका पदाधिकारीहरुलाई शंकाको घेरामा राखेर अनुसन्धानको दायरामा ल्याउने जनाएको छ ।
टाँचा नलागेको गोलिया काठ बिक्री भएको सुइको पाएपछि गत बिहिबार २९ जना उपभोक्ताहरुले सिधै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दिएका थिए । त्यसपछि मात्र वन कार्यालयले अवैध काठबारेमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा ६ वटा गोलिया र चिरान गरिएको काठ फेला परेपछि सेक्टर वन कार्यालयले इलाका वन प्रमुख चन्द्र नारायण राउतलाई अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको थियो । ‘यथासीघ्र सत्यतथ्य पत्ता लगाउन भनेर भलवाचौरी इलाका प्रमुखलाई अनुसन्धान अधिकृत तोकेको छुँ, सेक्टर आफैले पनि यसबारेमा छुट्टै ढंगले वाच गरिरहेको छ’–सेक्टर प्रमुख महेशकुमार साहले भने–‘वन समुह नजिकैको खेतबारीमा गोलिया भेटिएको छ, त्यसैले पदाधिकारीहरु पनि शंकाको घेरामा छन् । पत्र काट्ने तयारी हुदैछ, उनीहरुलाई पनि वयान हुन्छ ।’

इलाका वनका अनुसार शुक्रबार स्थलगत निरीक्षणको क्रममा २ सय २३ क्युफिट चिरान गरिएको सहित गोलिया टुन वरामद भएको थियो । ती गोलियाहरु कसैको घर नजिक चिरान हुदै गरेको त कसैको खेतबारीमा राखिएको अवस्थामा भेटिएको इलाका प्रमुख चन्द्र नारायण राउतले बताए । ती काठलाई वरामदी मुचुल्का गरेर अहिले वन कार्यालय परिसरमा ल्याएर राखिएको छ । कार्यालयका अनुसार ६ वटा गोलिया र १८ थान चिरान गरिएको काठ वरामद भएको छ । ‘अहिलेसम्म ती काठहरु अवैध नै देखिएको छ । ज जसको घरखेतमा भेटिएको हो, ती सबैलाई पत्र काटेर सोधपुछको लागि बोलाउछौं’–राउतले भने–‘कसरी ती गोलिया त्यहाँ पुग्यो ? कोमार्फत पुग्यो ? सबै खोतल्छौं । दोषीलाई छोड्दैनौं ।’ यसअघि(एक महिनाभित्र) पनि यस्तै ६ गोलिया टुना जंगलमा फेला परेकोले चुनावको मौका पारेर तस्करहरु मौलाएको हुनसक्ने राउत बताउछन् ।
आम उपभोक्ताहरु भने समुहका पदाधिकारी र वन कर्मचारीकै मिलेमतोमा अवैधरुपमा ती गोलिया बिक्रीवितरण भएको आरोप लगाउछन् । गत बर्ष(२०७३) जनजागृति वन समुहले जिल्ला वनबाट ९ सय ८२ क्युफिट काठ छप्पन गरेर निकासी गर्ने अनुमति पाएको थियो । जसको लागि ११ वटा रुख कटानको आदेश पाएको हो । त्यसैको आडमा समुहका पदाधिकारी र वन कर्मचारी मिलेर अवैधरुपमा गोलिया निकासी गरेको उपभोक्ताहरु बताउछन् । उनीहरुले अख्तियारमा लिखित उजुरी नै दिएपनि नाम खुलाउने गरी भने सञ्चारमाध्यमसँग बोल्न चाहेनन् । ‘समुहका पदाधिकारीले गोलिया बिक्री गरेपनि उपभोक्ताहरुलाई बिल दिएका छैनन् । एक जनाले १ लाख २० हजारसम्मको काठ विल बिनै किनेको पाइयो’–नाम नखुलाउन आग्रह गर्दै एक उपभोक्ताले भने–‘वनले एक दिन घुम्दा त त्यति धेरै अवैध काठ भेट्यो, गाउँमा अरु कति होला ? तर वनले थप खोजतलास गर्न वास्ता गरेको छैन, यसले गर्दा मिलेमतो देखिन्छ ।’ उपभोक्ताहरुले ढुक्कले चिरान गरेको भेटिनले पनि मिलेमतोमा नै अवैध काठ बिक्री भएको उनीहरुको दाबी छ । गोलिया खरीद गर्ने उपभोक्ताहरुले भने बोल्न चाहेनन् ।
वन समुहका अध्यक्ष खड्गबहादुर कार्कीले भने आफुहरुले टाँचा विनाको गोलिया बिक्री नगरेको र विल विना कसैबाट पैसा पनि नलिएको दाबी गरे । उपभोक्ताको घरखेतमा भेटिएको टुना कहाँबाट कसरी पुग्यो भनेर थाह नभएको पनि उनले बताए । ‘हामीले वन जोगाउन तारजाली लगाएर चरिचरणमा कडाई ग¥यौ, पहिला जस्तो जथाभावी नाका पनि बन्द भयो । त्यसैले माथिल्लो भेगका उपभोक्ता रिसाएका छन्’–उनले भने–‘हामीमाथिको आरोप सत्य होइन, विल विनाको पैसा कसैले समाएकै छैन ।’ इलाका प्रमुख एवं अनुसन्धान अधिकृत राउतले पनि मिलेमतोमा बिक्री गरेको आरोप सत्य नभएको बताए । यो समुह २०५६ सालमा गठन भएपनि २०७२ सालमा मात्र विधान दर्ता भएको थियो । समुहको १ सय ८६ हेक्टर वनको क्षेत्रफलमा कार्ययोजनाभित्र पर्छ । कार्ययोजना भित्रको ढलेपडेका, सुकेका रुखहरु जिल्ला वनको आदेश अनुसार कटान गरेर सबै उपभोक्तालाई बिक्रीवितरण गर्न पाउछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे