ज्ञानचक्षु विद्यालयमा प्रअ बन्ने खेल, प्रअ थापाको राजिनामा माग्दै आन्दोलन
धरान । रिटायर्ड(अवकाश) हुन करिब ६ महिना मात्र समय बाँकी रहदा धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयकी प्रअ केशरी थापाको तत्काल राजीनामा माग गर्दै केही शिक्षक, शिक्षिकाहरुले आन्दोलन थालेका छन् ।
विद्यार्थी र शिक्षक, शिक्षिकामाथि अत्याचार भएको आरोप लगाउदै विद्यालयका ६ जना शिक्षक तथा शिक्षिकाहरु प्रअको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यो विद्यालय दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने एक मात्र बिशेष विद्यालय हो । बिशेष विद्यालयहरुमध्ये ज्ञानचक्षु उत्कृष्ट एवं नमुना विद्यालयको रुपमा गनिन्छ । विद्यालयलाई यो स्थानमा ल्याउन सञ्चालक समितिसँगै प्रअ थापाको बिशेष योगदान रहेको मानिन्छ । तर, मंसिर १७ गतेदेखि अवकास पाउन लागेकी प्रअ थापाविरुद्ध सोही विद्यालयका ६ जना शिक्षक, शिक्षिकाहरुले राजिनामाको माग गरेपछि विवादमा तानिएकी छिन् ।
विद्यालयका शिक्षकहरु प्रकाश कार्की, विद्या शाक्य, सीता कार्की, सुशिला थापा, तुलसी तिम्सिना र डोल्मा योञ्जनले आइतबार विद्यालय परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रअ थापाको राजिनामा माग गरेका हुन् । साथै, विद्यालयका बिशेष शिक्षकहरुबाटै प्रअको छनौट गर्नुपर्ने पनि उनीहरुको माग छ । सोमबारदेखि प्रअलाई कार्यालय प्रवेशमा निषेध गर्ने पनि आन्दोलित शिक्षकहरुले घोषणा गरेका छन् । उनीहरुले जेठ १०, ११ र १२ गतेदेखि हातमा कालोपटी बाँधेर पढाइरहेका थिए । विद्यालयमा ३० जनाको हाराहारीमा शिक्षक कर्मचारी छन् । विद्यालयको अवस्था सुधार्न २०५१ सालमा थापालाई काजमा प्रअकोरुपमा यो विद्यालयको जिम्मेवारी दिइएको थियो । पत्रकार सम्मेलनमा आन्दोलित शिक्षकहरुसँगै विद्यालयका केही पुर्वविद्यार्थी र एक जना कर्मचारी(धाईआमा)ले पनि विद्यार्थी र कर्मचारीमाथि यातना भएको आरोप लगाएका थिए ।
आन्दोलनको नेतृत्व गरेका करार शिक्षक प्रकाश कार्कीले नियुक्ती प्रक्रियाको नाममा आफुलाई विद्यालयबाट निकाल्ने प्रयास गरेको साथै प्रअ थापाले शक्तिको आडमा शिक्षक, विद्यार्थीहरुलाई सधै त्रासमा राखेको आरोप लगाए । ‘अब हामी काजमा कोही पनि प्रअ चाहदैनौं, केशरी मिसले अहिल्यै राजिनामा दिनुपर्छ र यही विद्यालयबाटै प्रअ बनाउनुपर्छ’–कार्कीले भने । धाईआमा सीता फुँयालले प्रअ थापाले कुटपिट गरेकोले आफ्नो देब्रे कान सुन्न नसक्ने भएको आरोप लगाइन् । २०५५ सालमा कक्षा ८ सम्म पढेका पुर्वविद्यार्थी भक्तबहादुर गौतम, पुर्व विद्यार्थी दीपक थापा र सुन्दर लिम्बुले खाना, तरकारी राम्रो नभएको गुनासो गर्दा त्यसबेला धेरै मानसिक र शारीरिक यातना खेप्नु परेको बताए । अर्का पुर्व विद्यार्थी ओमप्रकाश तिम्सिनाले २०५३ सालमा पनि प्रअ थापाकोविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेपछि आफुसहित ४ जना भाग्नुपरेको बताए । शिक्षिका डोल्मा योञ्जनले प्रअ थापाले आफुलाई असक्षम शिक्षिका भन्दै अपमानजनक व्यवहार गर्ने गरेको बताइन् ।


Comments
Post a Comment