थाउजेन्ड बिग बुद्ध विवाद:छोटीमोरङमा धार्मिक वनको माग

धरान । कानुनी प्रक्रिया पुरा नगरी थाउजेण्ड बिग बुद्ध निर्माण गर्न लागेको भन्दै तीब्र आलोचना खेपेको सुर्योदय बुद्ध विहारले छोटीमोरङ डाँडास्थित वनको जग्गालाई धार्मिक वन कायम गराएर स्वामित्व लिने प्रक्रिया थालेको छ । गत कार्तिक तेस्रो साता जर्बजस्ती बिग बुद्ध सिलान्यास गरेको वनको जग्गालाई धार्मिक वनकोरुपमा हस्तान्तरण गरिदिन माग गर्दै विहारले जिल्ला वन कार्यालय सुनसरीलाई निवेदन पेश गरेको हो ।
कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी निर्माण कार्य नगर्न जिल्ला वनको चेतावनी वेवास्ता गर्दै धरान उपमहानगरपालिकाकै नेतृत्वमा कार्तिक २३ गते सिलान्यास गरिएपछि बिग बुद्धबारे तीब्र विवाद भएको थियो । ठोस योजना र प्रक्रिया पुरा नगरी कन्सेप्ट प्लानकै आधारमा वनको जग्गामा सिलान्यास भएको थियो । राजनैतिक दबाब र प्रभावमार्फत बिग बुद्ध बनाउन खोजेपनि नसकेपछि अहिले निर्माणकर्ताहरु धार्मिक वन हस्तान्रतण गराउनतर्फ लागेका हुन् । विहारले धार्मिक वनको माग गरेपछि जिल्ला वनले सेक्टर वन कार्यालय धरानलाई स्थलगत निरीक्षण सर्वेक्षण गरी रायसहित प्रतिवेदन पेश गर्न बैशाख १० गते पत्राचार गरेको छ । विहारले १० बिगाह क्षेत्रफल धार्मिक वनकोरुपमा हस्तान्तरण गर्न माग गरेको छ ।
बिग बुद्ध सिलान्यास गरेको जग्गा कित्ता नं ९२ पर्छ । मालपोत स्रोस्तामा उक्त जग्गा जंगल उल्लेख छ । सो कित्तामा ३१ बिगाहा १५ कट्टा ७ धुर जंगल क्षेत्र छ । ‘धार्मिक वन हस्तान्तरण गर्न भनेर जिल्लामा निवदेन परेकोछ, त्यहाँबाट स्थलगत निरीक्षण सर्वेक्षण गरी रायसहित प्रतिवेदन पेश गर्न भने पत्र आएको छ’–सेक्टर वनका प्रमुख एवं सहायक वन अधिकृत ज्ञानकुमार लामाले भने । उनका अनुसार सो क्षेत्र पाँचकन्या इलाका वन कार्यालयअन्र्तगत पर्ने भएकोले इलाका र सेक्टरको संयुक्त टोलीले सर्वेक्षण गरेर चाडै प्रतिवेदन पठाउनेछ ।
वनको टोलीले चार किल्ला कायम गरेर त्यहाँ के कति रुखविरुवा छ भनेर सर्वेक्षण गर्नेछ । त्यसपछि धार्मिक वनको लागि दिन उपयुक्त छ कि छैन भनेर रायसहित जिल्ला वनलाई प्रतिवेदन बुझाउनेछ । वन ऐनले उपयुक्त ठह¥याएमा जिल्ला वन कार्यालयलाई धार्मिक वन हस्तान्तरण गर्ने अधिकार दिएको सेक्टर प्रमुख लामाको भनाई छ । विहारले धार्मिक वनको माग गरेपनि यसअघि प्रचार गरेजस्तै ठुलो भौतिक संरचनाहरु बनाउन मिल्ने कि नमिल्ने भन्ने अन्यौल भने कायमै छ । यसअघि उपमहानगरपालिका र विहारले धार्मिक वनकोरुपमा सिफारिश माग गरेपनि ठुला भौतिक संरचना बनाउन नमिल्ने भएकोले सिफारिश नगरिएको जिल्ला वन कार्यालयले बताउदै आएको थियो । धार्मिक वन क्षेत्रमा ठुला भौतिक संरचनाहरु निर्माण पाइदैन । कार्ययोजना अनुसार मात्र कार्यहरु गर्न पाइन्छ । बिग बुद्ध निर्माण गर्ने भनिएको स्थान सर्दु जलाधार क्षेत्र पनि हो । बिग बुद्ध बनाउने भनिएको आसपासमा करिब ४२ बिगाह जलाधारको क्षेत्र भुमाफियाहरुले कब्जा गरेका छन् । भुमाफियाबाट कर्मचारी, नेताहरुले लाभ लिएको साथै त्यही जग्गाको भाउ बढाउन बिग बुद्धको योजना ल्याइएको आरोप पनि लाग्दै आएको छ । यसअघि जलाधार क्षेत्र जोगाउन आन्दोलन गर्नेहरु नै अहिले मौन छन् ।
सुर्योदय बिहारले १ सय ७५ फिट अग्लो बुद्धको मुर्तिसँगै हजार बुद्ध बनाउने भनिएको छ । साथै, प्रशासनिक भवन, भिक्षु बस्ने हल, अतिथि गृहललगायत भवनहरु पनि बनाउने भनिएको छ । सिलान्यास अघि वनको जग्गा स्वामित्व हस्तान्तरण, वातावरणीय मुल्यांकन, माटो परीक्षण, सर्वे, गुरुयोजनालगायत प्रक्रिया नगरेपछि निर्माण संस्था र उपमहानगरपालिकाको आलोचना भएको थियो । सुर्योदयका अध्यक्ष प्रदिप थापाले विगतमा आफुहरु कानुन र प्रक्रियाबारे अनभिज्ञ रहेको भन्दै अहिले धार्मिक वनको अवधारणामा अघि बढेको बताए । ‘धार्मिक वनको लागि निवेदन दिएका छौं, वनले मागेको डकुमेन्ट पनि बुझाएका छौं’–थापाले भने–‘पहिला थाह नभएर हो, काम गर्दै जादा ठक्कर खाइन्छ । धेरै टिकाटिप्पणी भयो, त्यसलाई सकरात्मकरुपमा लिएका छौं ।’ धार्मिक वनमा पनि १ सय ७५ फिट अग्लो बुद्ध भने निर्माण गरिछोड्ने उनको भनाई छ ।

...........................

                                              जग्गाको भाउ आकासियो


बिग बुद्ध बनाउने हल्ला चलेपछि जलाधारको जग्गा कब्जा जमाएका भुमाफिया र जग्गा दलालहरुले त्यसआसपासको जग्गाको भाउ ह्वात्तै बढाएका छन् । लामो कानुनी झञ्झटमा फसेको छोटीमोरङ डाँडास्थित जलाधारको जग्गा भुमाफियाले कब्जा जमाए पनि केही समय अघिसम्म खासै भाउ थिएन । अहिले भने बिग बुद्धको योजना आएसँगै आकासिएको छ । जग्गा व्यापारी(दलाल)हरुले डाँडामा डोजर लगाएर प्लाटिङ गर्न थालेका छन् ।
सुर्योदय बुद्ध विहारले वनसँग १० बिगाह जग्गा धार्मिक वनकोरुपमा माग गरेपनि थप जग्गा आवश्यक पर्ने भन्दै अध्यक्ष थापाले थप जग्गा खरीद गर्न खोजीरहेका छन् । अध्यक्ष थापाका अनुसार कित्ता नं ३५ र ३६ को जग्गा आवश्यक छ । कित्ता ३६ मा करिब १७ कट्ठा जग्गा छ भने ३५ मा ८ कट्ठा छ । उनले जग्गा खरीदको लागि वैनासमेत दिइसकेका छन् । अहिले दलालहरुले प्रतिकट्ठा १५ लाख रुपैया भाउ भनेको पनि उनले बताए । ‘बैना गरेको जग्गा व्यक्तिगत होइन, विहारकै लागि हो, जग्गा १५ लाख कट्ठा भन्दैछन् । हामीलाई ३५ र ३६ कित्ताको जग्गा चाहिएको छ’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे