गायन प्रतिभा खोज्दै प्रेमगीत २

धरान । गत बर्ष युवाहरुले अत्यधिक मनपराएको नेपाली फिल्म प्रेमगीतले एउटा अनौठो कार्यक्रम पनि गरेको थियो, प्रेमगीत कभर सङ्ग प्रतियोगिता । उक्त प्रतियोगिताका विजेता सागर राईले नगद पुरस्कार त पाए नै, रिलिज हुने तयारीमा रहेको सिक्वेल फिल्म प्रेमगीत २ मा गाउने अवसर पनि पाए ।
आगामी साउन १३ गते रिलिज हुन लागेको प्रेमगीत २ को टिम पुनः कभर सङ्ग प्रतियोगिताको लागि देशदौडहामा छ । पोखराबाट शुरु भएको देश दौडाहा आइतबार धरानमा आइपुगेर टुंगिएको छ । कभर सङ्ग प्रतियोगितालाई फिल्म टोलीले सामाजिक उत्तरदायित्व भएको प्रतिक्रिया दिएको छ । ‘आमदर्शकले टिकट काटेर हाम्रो चलचित्र हेरिदिनुहुन्छ । तर, हामीले फिल्मबाहेक के दिने ? त्यही सोचेर यो कभर सङ्ग प्रतियोगिता शुरु गरेका थियौं’–प्रेमगीत २ का सहायक निर्देशक किरण आचार्यले भने–‘यो हामीले समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेका हौं, समाजमा रहेका प्रतिभालाई खोज्ने होइन, फिल्ममा गाउने अवसर पनि दिन्छांै ।’ पहिलो कभर सङ्ग प्रतियोगिताका विजेताले प्रेमगीत २ मा गाएको र उनले अन्य थुप्रै चलचित्रहरुमा अवसर पाइरहेको उनको भनाई थियो ।
फिल्म टोलीले बैशाख १८ गते कभर सङ्ग प्रतियोगिताको घोषणा गरेको थियो । गायनमा रुचि भएकाहरुले असार २० गतेसम्म शिर्ष गीत कहानी यो प्रमेगीतको गाएर युट्युबमा अपलोड गरिसक्नु पर्नेछ । युट्युब भ्युजबाट १० जना र निर्णायक मण्डलीले वाइल्ड कार्डबाट थप ५ जना गरि १५ जना प्रतियोगिहरुलाई अन्तिम चरणको लागि छनौट गर्ने निर्माता सन्तोष सेनले जानकारी दिए । ‘भदौ १ गते भव्य समारोहबीच विजेता घोषित गरिन्छ । निर्णायक मण्डलकै निर्णयको आधारमा एक जना पुरुष र एक महिला विजेता हुनेछन्’–उनले भने–‘फिल्म निर्माण गर्ने र समाजमा रहेका प्रतिभालाई अवसर दिने हाम्रो यो अभियान हो ।’ विजेता दुवैले जनही एक लाख पुरस्कार पाउनेछन् भने आसुसेन फिल्मसले निर्माण गर्ने आगामी चलचित्रमा गाउने अवसर पनि पाउने सेनले बताए ।
प्रेमगीत २ को सुटिङ सकिएर अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको निर्माण टोलीले जनाएको छ । कथाले मागे अनुसार रारा ताल, थाइल्यण्ड हुदै म्यानमारसम्म पुगेर सुटिङ गरिएको सहायक निर्देशक आचार्यले बताए । पहिलो चलचित्रमा नायिका पुजा शर्मा(गीत)को मृत्यु भएको देखाइएकोले प्रेमगीत २ मा उनलाई निरन्तरता दिन नसकिएको आचार्यको भनाई थियो । ‘गीत चरित्र मरिसकेको छ, उसको कथा नै सकिएकोले यसपाली लिन सकिएन । तर, नायक प्रेम(प्रदिप खड्का) मरेको देखाइएको थिएन, त्यसैले उनी प्रेमगीत २ मा पनि दोहोरिएको हो’–उनले भने–‘उनी कसरी बाँचे भन्ने थाह पाउन फिल्म नै हेर्नुपर्छ ।’
प्रेमगीत २ मा नायक खड्कासँगै अश्लेषा ठकुरी, भुवन चन्द, कैलास कटवाल, प्रशान्त घिमिरे, श्रद्धा प्रसाई, शिशिर भण्डारीलगायतको अभिनय रहेको छ । ७० दिन सुटिङ भएको यो फिल्म ३ करोड बढी लगानी भएको छ । तीन पुस्तासम्म वर्मा(म्यानमार)मा रहेकी नायिका गीत आफ्नो पुख्यौली देश नेपाल कहिल्यै आएकी हुदैनन् । तर, उनी बिशेष कारणले भागेर नेपाल आइपुग्छिन् । उनको म्यानमारदेखिको नेपालको रारासम्मको यात्रा, भोगाई अनि जीवनको आरोहअवरोह नै प्रेमगीत २ मा कैद भएको छ । ‘हामीले गीतमा देखाउनको लागि मात्रै विदेश गएको, रारामा पुगेर सुटिङ गरिएको होइन, कथाले नै माग गरेकोले ती ठाउँमा सुटिङ भएको हो । मेहनत गरेका छौं, मन पराइदिनुहुनेछ भन्ने आशा छ’–निर्माता सेनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे