होटल इजी राइडर र धराने पानीको उद्घाटन


धरान । पुर्वमा घुम्न आउने पर्यटकहरुलाई लक्षित गर्दै धरान १५ स्थित पर्वत मार्गमा साढे १३ करोड लगानीमा स्तरीय होटल र पिउने पानीको उद्योग एकैसाथ सञ्चालनमा आएको छ । इजि राइडर्स बिजनेस ग्रुप प्रालिले सञ्चालनमा ल्याएको होटल इजि राइडर्स र ‘धराने’ पिउने पानी आइतबार एकैसाथ उद्घाटन भएको छ ।
प्रालिका परिकल्पनाकार एवं संरक्षक चन्द्र खापुङले एक समारोहबीच होटल र पानी उद्योगको उद्घाटन गरेका छन् । धरानमा सफल व्यावसायीको रुपमा परिचित खापुङ भूपू गोर्खा सैनिकसमेहत हुन् ।
प्रालिका अध्यक्ष लोक खापुङका अनुसार होेटल र पानी उद्योगमा साढे १३ लाख लगानी भइसकेको छ । होटलमा पर्यटक एवं पाहुनाहरुलाई अझै धेरै सुविधा थपिने भएकोले लगानी पनि वृद्धि हुने उनले जानकारी दिए । प्रालिका अनुसार १० कट्टा जग्गामा पानी उद्योग र होटल निर्माण भएको हो । कुल ६ तले होटलको डिजाइन भएपनि हाल ४ तला मात्र निर्माण भएको छ । सबैभन्दा तल्लो तलामा ३ सय क्षमताको रेष्टुरेष्ट, दोस्रो तलामा ५ सय क्षमताको सेमिनार हाल र बाँकीमा १९ वटा स्तरीय कोठाहरु रहेको प्रालि अध्यक्ष खापुङले बताए । ‘पर्यटकहरुलाई लक्षित गरेर नै होटलमा लगानी गरेको हुँ, अहिले स्वीट रुम, डिलक्स रुम र स्ट्याण्डर्ड रुमहरु छ । २ तला थप गरेपछि अझै धेरै रुम हुन्छ’–उनले भने । कोठाहरु न्युनतम २ हजारदेखि ५ हजारसम्म रहेको प्रालिले जनाएको छ ।
प्रालिले होटलसँगै पानी उद्योग पनि सञ्चालनमा ल्याएको छ । उद्योगमा डेढ करोड रुपैया लगानी भएको खापुङले जानकारी दिए । उनका अनुसार उद्योगको लागि २ सय मिटर गहिराईबाट भुमिगत पानी बोरिङ गरिएको छ । शुरुमा होटललाई मात्र लक्षित गरेर पानी बोरिङ गरिएपनि पछि प्रालिले पिउने पानी उत्पादन गरेर बिक्री गर्ने सोच बनाएको उनले खुलाए । ‘बोरिङमा मात्र ३० लाख खर्च भएको छ । आफुलाई मात्र पानी धेरै भएपछि प्रशोधन गरेर पिउने पानी बेच्ने सोच बन्यो, र उद्योगै खोल्यौं’–उनले भने । पिउने पानीकोलागि अत्याधुनिक प्रविधि अपनाइएको प्रालिले जनाएको छ । उद्योगमा आफै बोतल बनाउन मोडलिङ मेशिन पनि राखिएको छ । धराने पिउने पानी नाममा उत्पादन भएको पानी १ लिटर, ५ सय एमएल र २ सय एमएल बोतलमा बिक्रीबितरण हुने प्रालिले जानकारी दिएको छ ।
धरानमा घुम्न आउने पर्यटकहरुले स्तरीय होटल नभएको गुनासो गर्दै आइरहेका छन् । साथै, ठुला होटल र सेमिनार हल अभावमा धरानमा तय गरिएका गोष्ठी, सेमिनारहरु पनि अन्यत्र सार्ने गरिएको थियो । अब भने त्यस्तो नहुने अपेक्षा गरिएको छ । प्रालिले भविष्यमा होटलमा पाहुनाहरुलाई लक्षित गरेर जिम, साउना, स्पा र रिक्रिएशन हेल्थ क्लब पनि सञ्चालन गर्ने योजना रहेको खापुङले बताए । इजि राइडर्स ग्रुपअन्र्तगत विभिन्न १६ वटा कम्पनीहरु छन् । जसमा गोल्डसप, अटोकेयर, वर्कसप, रेष्टुरेष्ट,एग्रोटेक, कन्स्ट्रक्सन, सप्लायर्सलगायत छन् । हालसम्म प्रालिले ५ सय बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उद्घाटन समारोहमा बोल्दै परिकल्पनाकार एवं संस्थापक चन्द्र खापुङले धरान आउने पर्यटकहरुलाई नै सुविधा दिनको लागि लगानी गरेको खुलाउदै सहकार्य एवं समन्वय गरेर व्यावसाय गर्न अन्य व्यावसायीहरुसँग आग्रह गरे । सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठले धरानको विकास पर्यटनबाट मात्र सम्भव हुने भन्दै यसको लागि स्तरीय होटलहरुको आवश्यकता रहेको बताए । बराह ज्वेलर्स प्रालिका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्माले विगतमा ठुला कार्यक्रम गर्नुपर्दा धरान बाहिर जानुपरेको भन्दै अब त्यस्तो समस्या नहुने विश्वास व्यक्त गरे । होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले पनि स्तरीय र व्यवस्थित होटलको अभाव धरानको लागि चिन्ताको बिषय भएको र इजि राइडर्सले केही मात्रामा भएपनि त्यो अभाव पुर्ति गर्ने बताए ।
.............................................................

महिनाभर सांगीतिक कार्यक्रम


होटल इजि राइडर्सको उद्घाटन अवसरमा जेठ महिनाभरि होटलमा सांगीतिक कार्यक्रम भइरहने प्रालिले जनाएको छ । प्रालिका अनुसार उद्घाटन भएको दिन आइतबार साँझ र सोमबार साँझ चर्चित गायक गायिकाद्धय उदय र मनिला सोताङको लाइभ प्रस्तुती रहने प्रालिका निर्देशक मणिकुमार राईले जानकारी दिए । दोस्रो दिन(सोमबार) सोताङ दम्पत्तिको लाइभ प्रस्तुतीसँगै फेशन शो र गरिमा डान्स सेन्टरको नृत्य प्रस्तुती पनि रहनेछ । ‘त्यसपछि जेठ महिनाभर ग्राहक पाहुनाहरुलाई मनोरञ्जन दिलाउन हरेक साँझ स्थानीय ब्याण्डहरुको लाइभ प्रस्तुती रहन्छ’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे