एक महिनादेखि बीपीमा सिटिस्क्यान सेवा ठप्प

धरान । सुगर अत्यधिक मात्रामा बढेपछि धरान ८ का वृद्ध खड्गबहादुर सेन्च्युरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए । मद्यपान, धुम्रपान केहीको लत नभए पनि उनको उपचारको क्रममा चिकित्सकहरुले कलेजो सुन्निएको आशंका गरे । खास के भएको हो त ? यही पत्ता लगाउन चिकित्सकले सेन्च्युरीका परिवारजनलाई बुधबार पेटको सिटिस्क्यान गर्न रिफर गर्यो । तर, सेन्च्युरीका परिवारजनले प्रतिष्ठानमा सिटिस्क्यान गराउन सकेनन् ।
बीपी प्रतिष्ठानस्थित सेन्ट्रल सिटि बिग्रिएर थन्किएर महिना दिन भइसकेको छ भने आकस्मिक कक्षमा भएको सिटि पनि दुई सातादेखि चलेको छैन । उनीहरुले कि त धरानमै रहेको निजी स्वास्थ्य संस्था वा विराटनगरमा जानुपर्ने बाध्यता भयो । सेन्च्युरी खतरामुक्त भएकाले परिवारजनले तत्काल प्रतिष्ठानबाहिर सिटि गर्न नजाने निर्णय लियो । तर, सबै विरामी सेन्च्युरी जस्ता हुदैनन् । तत्काल सिटि गर्नुपर्ने अवस्थामा विरामीहरु भने महंगो शुल्क तिरेर सिटिस्क्यान गर्न बाध्य छन् । ‘चिकित्सकसँगै सल्लाह गर्यौं, र पछि बीपीमा नै सिटि गरेर ओपिडीमा रिपोर्ट देखाउने निर्णय गर्यौं’–सेन्च्युरीका ज्वाई सुलभ गजमेरले भने ।
बीपी प्रतिष्ठान दक्षिण एसियाकै नमुना मेडिकल कलेज एवं अस्पताल मानिन्छ । यहाँ उपचार गर्न प्रदेश नं १ का मात्र होइन, छिमेकी मुलुक भारतबाट पनि विरामीहरु आउने गर्छन् । चिकित्साशास्त्र अध्ययन गर्न सार्क र अन्यत्र मुलुकबाट पनि विद्यार्थीहरु आउछन् । यस्तो प्रतिष्ठित अस्पतालमा महिनादिन देखि विरामीहरुले सिटिस्क्यान सेवा पाएका छैनन् । प्रतिष्ठानमा सिटि ठप्प हुदा विरामीहरु धरान र विराटनगरका निजी स्वास्थ्य संस्थाहरुमा धाउन बाध्य छन् । प्रतिष्ठानको नीति हेर्ने हो भने बाहिरका सिटि स्क्यान रिपोर्टलाई मान्यता दिइदैन । तर, महिना दिनदेखि प्रतिष्ठानको नीति विपरीत विरामीहरुको सिटि स्क्यान परीक्षण धरान र विराटनगरका नीजि स्वास्थ्य संस्थाहरुमा नै भइरहेको छ । प्रतिष्ठानमा करिब ३ हजारदेखि ६ हजार ५ सय रुपैयमा हुने सिटिस्क्यानको लागि सर्वसाधारण विरामीहरुले १० हजार बढी शुल्कमा सिटि गराउन बाध्य छन् । प्रतिष्ठान पुर्वकै सबैभन्दा सस्तो सिटिस्क्यान शुल्क लाग्ने स्वास्थ्य संस्था हो ।
रेडियोलोजी विभागका अनुसार प्रतिष्ठानमा दैनिक २० देखि २५ जनाको सिटि हुने गरेको थियो । सिटि बिग्रिए पछि अहिले दैनिक लाखौं आम्दानी पनि गुमिरहेको छ । ‘विरामीहरुलाई सिटिस्क्यानको सेवा दिन सकेका छैनौं । मेशिन बिग्रिएको महिना दिन भइसक्यो’–विभागीय प्रमुख डा.मुकेशकुमार गुप्ताले भने–‘बिग्रिने बित्तिकै अस्पताल निर्देशनलाई जानकारी दियौं र इञ्जिनियर आएर हेरिसकेको छ । चाडै बन्छ ।’ अस्पताल प्रशासनका अनुसार सेन्ट्रल सिटिस्क्यानको टेक्निकल बोर्ड र सफm्टवेयरमा समस्या देखिएको छ । सफ्टवेयर इञ्जिनियरले ती सामान हेरेर मर्मतको लागि काठमाण्डौं लगिसकेको सहायक अस्पताल निर्देशक डा.पप्पु रिजालले जानकारी दिए । ‘समस्या आएको छ, यो प्राविधिक कुरा हो । सबै यहाँ मर्मत हुदैन । केही सामान मगाउनु पर्दा विदेशबाटै ल्याउनुपर्छ’–उनले भने–‘ठ्याक्कै यति दिन नै भन्न सकिन्न, तर चाडै सिटिको सेवा सुचारु गछौं ।’
....................................

लामो प्रक्रियाले ढिलाई 

रेडियोलोजी विभागका अनुसार सेन्ट्रेल सिटि बिग्रिएको एक महिना बढी भइसकेको छ । विभागले तत्कालै अस्पताल प्रशासनलाई पत्राचार गर्दै सिटि बिग्रिएको जानकारी दियो । यति लामो समय बितिसक्दा पनि मर्मत हुन सकेको छैन । अझै कहिले मर्मत भइसक्छ भन्ने टुंगो छैन । यसको खास कारण सरकारी नियमअनुसार सबै प्रक्रिया पुरा गर्नुपर्दा ढिलाई हुन पुगेको विभागको भनाई छ । ‘निजी संस्थाको भए के बिग्रिएको हो, तत्काल इञ्जिनियरले भनेअनुसार खरीद गर्न सक्छ तर सरकारी संस्थाले त्यसो गर्न मिल्दैन । कुनै सामान खरीद गर्नुपर्दा सामान ल्याउने प्रक्रिया हुन्छ, त्यसैले नै बनाउन ढिलाई हुन्छ’–विभागीय प्रमुख गुप्ताले भने–‘सामान विदेशबाट ल्याउनुपर्दा झनैसमय लाग्छ ।’ हालको सिटि मेशिन जापानमा बनेको हो । यसको कुनै पार्टपुर्जा चाहिएमा त्यो पनि जापानबाटै मगाउनुपर्ने हुन्छ ।
...........................

नयाँ सिटिस्क्यान ल्याउने तयारी

प्रतिष्ठानस्थित सेन्ट्रल सिटिस्क्यान बिग्रएर थन्किएको यो नै पहिलो पटक भने होइन । यो सिटि बेला बेला बिग्रिएर थन्कने गरेको छ । यो सिटि पुरानो भएकोले पनि पटक पटक बिग्रिएको बताइन्छ । प्रतिष्ठानका अनुसार सेन्ट्रल सिटिस्क्यान सन् २००९ मा स्थापना गरिएको थियो । पटक पटक बिग्रदा विरामीले दुःख पाएको भन्दै आलोचना खेप्नु परिरहेपछि अस्पताल प्रशासन र रेडियोलोजी विभागले नयाँ अत्याधुनिक सिटि मेशिन खरीद गर्ने प्रक्रिया अघि बढाएको छ । ‘धेरै क्षमताको अत्याधुनिक नयाँ सिटिस्क्यानको माग गरिसकेका छौं, त्यो आएपछि धेरै सहज हुन्छ’–विभागीय प्रमुख डा.गुप्ताले भने ।
विभागका अनुसार हाल सेन्ट्रल सिटि १६ स्लाइसको हो भने आकस्मिक कक्षको मात्र २ स्लाइस क्षमताको हो । आकस्मिक कक्षको सिटिमा टाउको, अनुहार र सानो जोर्नीको मात्र सिटिस्क्यान गरिन्छ । पेट, छाती, मेरुदण्डलगायतको लामो सिटि सेन्ट्रलमा नै गर्नुपर्ने हुन्छ । विभागले माग गरेको सिटि भने १ सय २८ स्लाइस क्षमताको हुनेछ । यो सिटिले मुटूको पनि सिटिस्क्यान(कार्डियाक सिटि) पनि गर्न सकिने गुप्ताले बताए । ‘कसैलाई हर्ट अट्याक हुदा कहाँ ब्लक भएको छ भनेर पत्ता लगाउन सकिन्छ, अहिले जस्तो जति बेला पनि रगतको नशा छेडेर पाइप लगाइरहनु पदैन’–उनले भने । नयाँ सिटि मेशिन आएपछि प्रतिष्ठानमा ३ वटा मेशिन हुने र धेरै विरामीलाई छिटो सेवा दिन सकिने बताए । अस्पताल सहायक निर्देशक डा. रिजालले पनि विभागसँग समन्वय गरेर नयाँ सिटिस्क्यान खरीद गर्ने प्रक्रियामा रहेको बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे