अवैध गोलिया प्रकरण;वन समुहका पदाधिकारीलाई स्पष्टीकरण

धरान । उपभोक्ताको खेत र करेसाबारीमा भेटिएको ठुलो परिमाणको अवैध गोलिया काठबारे वन कार्यालयले जनजागृति सामुदायिक वन कार्यालयका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
गोलिया काठ प्रकरणको अनुसन्धान अघि बढाएको सेक्टर वन कार्यालय, महेन्द्रनगरले अनुसन्धान अधिकृतमार्फत वन समुहलाई स्पष्टीकरण सोधिएको जनाएको छ । कार्यालयका अनुसार समुहलाई चार किल्लाभित्र अवैध काठ भएको थाह भएर पनि चासो नदिएकोबारेमा स्पष्टीकरण सोधिएको सेक्टर प्रमुख महेशकुमार साहले जानकारी दिए । समुहबाट स्पष्टीकरणको जवाफ आइनसकेको खुलाउदै उनले त्यसपछि घटनाबारे पदाधिकारीसँग वयान लिइने बताए । ‘उपभोक्ताको खेतबारी, करेसाबारीमा काठ कहाँबाट आयो ? स्रोत के हो ? चारकिल्लाभित्र काठ छ भन्ने थाह हुदाहुदै किन वन कार्यालयलाई भनिएन ? चासो किन लिइएन ? भनेर अनुसन्धान अधिकृतबाट स्पष्टीकरण सोधिएको छ’–सेक्टर प्रमुख साहले भने–‘जवाफ आइसकेको छैन, जवाफ आएपछि अध्यक्ष, कोषाध्यक्षलगायतलाई वयान लिन्छौं । अनुसन्धानबारे सेक्टर कार्यालयले चासो दिएर हेरिरहेको छ ।’
गत बिहिबार २९ जना उपभोक्ताहरुले सिधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अवैध गोलियाबारे निवेदन दिएपछि मात्र वन कार्यालयले स्थलगत अनुगमन गरेको थियो । त्यसक्रममा २ सय २३ क्युफिट ६ वटा गोलिया र चिरान गरिएको काठ फेला परेको थियो । त्यसपछि मात्र सेक्टर वनले इलाका वन कार्यालय भलवाचौरीका प्रमुख चन्द्र नारायण राउतलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको थियो । वनले उपभोक्ताको खेत र करेसाबारीमा टाँचा नलागेको ६ वटा अवैध गोलिया र १८ थान चिरान गरिदै गरेको काठ भेटेका थियो । ती काठलाई नियन्त्रणमा लिएर वनले आफ्नो परिसरमा घाटगद्दी गरिसकेको छ भने थप अवैध काठको खोजी पनि भइरहेको सेक्टर वनले जनाएको छ ।
अनुसन्धान अधिकृत राउतले अनुसन्धान कार्य अघि बढाउदै गर्दा सेक्टर वनले वन रक्षकद्धय लालुप्रसाद महरा र चन्द्र नारायण चौधरीलाई पनि गोप्यढंगले अनुसन्धानमा खटाएको छ । ‘अनुसन्धान अघिकृतले पनि अनुसन्धान गरिरहेकै छ, तर सेक्टरले २ जना वन रक्षकलाई पनि घटनाको मुख्य दोषी पत्ता लगाएर पक्राउ गरि कारबाहीकोे लागि पेश गर्न निर्देशन दिएको छ’–सेक्टर वन स्रोतले भन्यो । दुवै वन रक्षक भलवाचौरी इलाका वनमा कार्यरत छन् । जनजागृतिका उपभोक्ताहरु भने समुहका पदाधिकारी र वन कर्मचारीकै मिलेमतोमा अवैधरुपमा गोलिया बिक्रीवितरण भएको आरोप लगाउदै आएका छन् । गत बर्ष(२०७३) जनजागृति वन समुहले जिल्ला वनबाट ९ सय ८२ क्युफिट काठ छप्पन गरेर निकासी गर्ने अनुमति पाएको थियो । जसको लागि ११ वटा रुख कटानको आदेश पाएको हो । त्यसैको आडमा समुहका पदाधिकारी र वन कर्मचारी मिलेर अवैधरुपमा गोलिया निकासी गरेको उपभोक्ताहरु बताउछन् । तर, समुहका पदाधिकारी र कर्मचारीहरु भने फेला परेको अवैध गोलियाबारे थाह नभएको जवाफ दिने गरेका छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे