खानेपानीमा चुनाव राजनीति,भोट घट्ने डरले प्रमुख दल मौन

जेठ ३१ गतेको निर्वाचनमा आफ्नो भोट घट्ने आशंकाले प्रमुुख दलहरुले आयोजनामा उत्पन्न विवाद समाधान गर्न पहल गरेको छैन । धरानको खानेपानी समस्यालाई दलहरु चुनावी एजेण्डा बनाउन चाहिरहेको छ भने निर्वाचित भएपछि आयोजना पुरा गर्ने जस लिने लालसाले पनि ठुला दलहरु तत्काल आयोजनामा उत्पन्न विवाद समाधान गर्न चासो नदिएको देखिएको छ । स्थानीय तहको चुनावमा होमिएका नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले धरानको खानेपानी समस्यालाई चुनावी एजेण्डा बनाएका छन् । तर, तीनै दल विवाद समाधान गरेर खानेपानी आयोजना समयमै पुरा गर्न अनिच्छुक छन् ।
विजयपुरस्थित पञ्चकन्या जंगल क्षेत्रमा ६ लाख लिटरको रिजर्ब वेयर(टंकी) बनाउन आयोजनाले जिल्ला वन, वन विभाग हुदै मन्त्रालयमा रुख काट्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावलाई गत पुष २७ गतेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेपछि आयोजनाले रुख काटेको थियो । आयोजनाले स्वीकृत अनुसार १ सय १७ वटा रुखहरु काटिसकेको अवस्थामा किरातजन्य संघसंस्था र लिम्बुवान पार्टीले विरोध जनाएपछि गत फागुन तेस्रो सातायता पञ्चकन्या सिस्टमको काम ठप्प छ ।
विकल्प खोज्न सुझाव
ऐतिहासिक एवं पुरात्तात्विक महत्वको किरात दरबार क्षेत्रमा रुख काटिएको भन्दै लिम्बुवान पार्टी, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजले विरोध जनाइरहेको छ । उनीहरुले रिजर्ब वेयर(टंकी) निर्माण स्थलको विकल्प खोज्न सुझाव दिदै आएको छ । तर, आयोजनाले पञ्चकन्या सिस्टमको पाइपलाइन विछ्याउनेदेखि अन्य कामहरु गरिसकेको कारण प्राविधिकरुपमा विकल्प खोज्न सम्भव नभएको जनाउदै आएको छ ।पञ्चकन्या जंगलमा टंकी बनाउनको लागि रुख काट्न राजनैतिक दलहरुले नै आयोजनालाई सैद्धान्तिक सहमति(निर्णय) दिएको थियो । तिनै दलहरु अहिले भोट घट्ने चिन्ताले रुख काटिएको विरोध गर्दै दैत चरित्र पनि देखाइरहेको छन् । खानेपानी आयोजना ल्याउन एकजुट भएको तीन ठुला दल अहिले भने निर्वाचनमा भोट काटिने डरले चुपचाप छ । गत बैशाख पुर्णेको दिन यायोक्खा र चुम्लुङले रुख काटिएको स्थानमा थान स्थापना गरी उभौली पुजा गरेपछि समस्या झनै जटिल बन्दै गएको छ । धरानमा किरात जाति(राई, लिम्बु, याक्खा, सुनुवार)को सघन बसोबास छ । चुनावको बेला कस्लाई जिताउने भनेर ती जातीय संस्थाहरुको पनि महत्वपुर्ण भुमिका हुने भएकोले ठुला दलहरु पन्छिएको हो । ‘पहिला त्यहाँ टंकी बनाउन दिने भनेर आफै हस्ताक्षर गर्ने दलहरु अहिले समस्या आएपछि समाधान गर्नबाट पन्छिरहेको छ’–विवाद समाधानको लागि मध्यस्थता गरिरहेका आदिबासी जनजाति अभियन्ता गोपाल देवानले भने–‘कारण अरु केही पनि होइन, चुनावमा भोट घट्छ भनेर दलहरु यो समस्याबाट भागेको हो ।’
खानेपानी अभाव धरानको प्रमुख समस्यामा पर्छ । त्यसैले उपमहानगरपालिका, यहाँका राजनैतिक दलहरुले पि वान अर्थात पहिलो प्राथमिकतामा राखेर यो आयोजना कार्यान्वयन गरिरहेको थियो । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एकीकृत शहरी विकास परियोजनाअन्र्तगत खानेपानी आयोजनाको समयावधि करिब डेढ महिना भन्दा काम समय मात्र बाँकी छ भने २० प्रतिशत काम सक्न बाँकी छ । ५ जुलाई २०१७ भित्र सम्पन्न गरिसक्नु पर्ने आयोजनाको पञ्चकन्या सिस्टमअन्र्तगत रिजर्ब वेयर बनाउन नै झण्डै ६ महिना समय लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत एक अर्ब ४८ करोड बराबरको हो । चारकोसे जंगलमा बोरिङ गरेको भुमिगत स्रोतको पानी नगरबासीलाई वितरण गर्ने आयोजनाको लक्ष्य हो । विवादको कारण २ महिनाभन्दा बढी समयदेखि पञ्चकन्या सिस्टमको रिजर्ब वेयर (टंकी) बनाउने कार्य थाती छ । विवाद समाधानको ठोस पहल कतैबाट भएको छैन । ‘टंकी निर्माणको मात्र विकल्प खोजेर हुदैन, पञ्चकन्या सिस्टमको पाइपलाइनहरु बिछ्याइसकेका छौं । ठाउँ फेर्नु प¥यो भने पाइप उखेल्नुपर्छ । अर्को ठाउँको नयाँ डिजाइन, ड्रइङ बनाउनुपर्छ’–आयोजनाको परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालले भने–‘राजनैतिक दल, जातीय संस्था र उपमहानगरपालिकाले सहमति नगरेसम्म काम अघि बढ्दैन । अब प्रोजेक्ट लम्बिन्छ र बजेट पनि स्वत बढ्छ ।’
दलहरुको जस लिने लालसा


Comments
Post a Comment