शहरी जीवन जोखिमपुर्ण बन्दै

धरान । सक्रिय जीवन(कसरत)बाट टाढिएका र चिल्लोपन बढी भएको खानेकुरामा स्वाद बसेका शहरियाहरुमा अत्यधिक उच्चरक्तचाप र सुगर(मधुमेह) रोगले ग्रस्त भेटिएका छन् । विश्व उच्चरक्तचाप दिवसको सन्दर्भ पारेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित सामाजिक उत्तरदायित्वको लागि चिकित्सक(पिएसआरएन)ले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षणबाट यस्तो देखिएको हो ।
पिएसआरएनका अनुसार शनिबार छाताचोकमा आयोजित शिविरमा २ सय ९२ जनाको निःशुल्क ब्लड सुगर, युरिन र ब्लड प्रेसर परीक्षण गरिएको थियो । ती मध्ये १ सय १० जनामा उच्च रक्तचाप भेटिएको पिएसआरएन अध्यक्ष बमबहादुर कुँवरले बताए । यस्तै, ४२ जनामा सुगरको मात्रा लेभलभन्दा बढी भएको जाँचपछि पत्ता लागेको थियो भने २६ जनाको पिसाबमा प्रोटिन र सुगरको मात्रा बढी भएको फेला परेको उनले बताए । ‘उच्चरक्तचाप र सुगर बढी भएका मान्छेहरु बढीरहेको भेटियो । शहरी जिवनशैलीले शहरबजारमा यस्तो रोगी बढ्दै गइरहेका छन्’–कँुवरले भने–‘जीवनशैली र खानपानमा ख्याल नगर्ने हो भने स्वास्थ्य जोखिमपुर्ण बन्दै गइरहेको छ ।’
केएचडिसिको सहयोगमा आयोजित परीक्षणमा २ जना डाक्टरसहित २४ जना स्वयमसेवकहरु ख्टिएका थिए । पिएसआरएन बीपी प्रतिष्ठान धरानमा एमबिबिएस, बिडिएस र नर्सिङ अध्ययनरत विद्यार्थीहरुको समुह हो । समुहले स्वास्थ्य चेतना जगाउन साप्ताहिकरुपमा रेडियो कार्यक्रम र नियमितरुपमा स्वास्थ्य परीक्षण आयोजना गरिरहेको छ ।
चिकित्सकहरुका अनुसार शहरीया जीवन सुविधाभोगी बन्दै गइरहेको छ । सक्रिय जीवन एवं शारीरिक कसरतबाट टाढिएको कारण र जथाभावी खानपिनले गर्दा उच्चरक्तचाप, मधुमेहजस्ता रोगले मानिसहरुलाई ग्रस्त पारेको चिकित्सकहरुको भनाई छ । यसले शहरीयाहरुमा मृगौला, मुटूरोगको अत्यधिक जोखिम पनि बढाएको छ । ‘यी रोगहरु जीवनशैलीसँग जोडिएको हुन्छ, एक हिसाबले भन्नुपर्दा अल्छेहरुलाई लाग्ने रोग हो’–कुँवरले भने–‘कसरत नगर्दा वा सक्रिय जीवनबाट टाढिएका, गुलियो र चिल्लोपन बढी भएको खानेकुराले पनि शरीरमा रोग पालेर बसेका छन् । यी रोगहरुबाट बच्ने हो भने जीवनशैली, खानपिनमा परिवर्तन हुनु जरुरी छ ।’
चिकित्सकहरुका अनुसार उच्च रक्तचापको कारण मुटू, मृगौला, खुट्टा, दिमाग, आँखालगायत अंगहरुमा असर पारेर पक्षघात, ह्दयघात, मृगौला विफललगायत हुनसक्छ । यसको कुनै लक्षण नहुने भएकोले जतिबेला पनि मानिसको मृत्युसमेत गराउन सक्ने हुनाले मौन हत्यारासमेत भनिन्छ । तसर्थ, खानपिनमा परिवर्तन गरेर सन्तुलित आहार उपभोग गर्ने र खाने नुनमा कमी ल्याउने, कफीजन्य पेय पदार्थको प्रयोगमा कमी ल्याउने, धुम्रपान, मद्यपानबाट टाढै रहने, नियमित व्यायाम तथा योग आसनहरु गर्नेलगायत गतिविधि गर्नुपर्ने चिकित्सकहरु बताउछन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे