उम्मेद्वार छनौटप्रति असन्तुष्टि:चुनावको मुखमा कार्यकर्ता जोगाउनै गाह्रो

आफुभन्दा उमेर र पार्टीमा योगदानको हिसाबले पनि कान्छा रहेका भटराईले उम्मेद्वारी पाएपछि श्रेष्ठ यतिबेला पार्टीसँग रुष्ट छन् । आफुमाथि अन्याय भएको महसुस गर्दै उनले सोमबार स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरे, त्यो पनि गणतन्त्र दिवसको अवसरमा माओवादी केन्द्रले विजयपुर चोकमा आयोजित एक कार्यक्रममा । ‘२०२५ सालदेखि म कांग्रेसमा छु । नेताहरुले तपाई नै वडा अध्यक्षको उम्मेद्वार हो भन्थे, अहिले एक शब्द पनि नसोधी अरुलाई टिकट दियो’–असन्तुष्टी जनाउदै ६३ बर्षीय श्रेष्ठले भने–‘मलाई अन्याय भएको छ, म स्वतन्त्र उम्मेद्वारी दिन्छु ।’
करिब २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ झै ठुला दललाई उम्मेद्वारका आकांक्षीहरुको लर्कोले उम्मेद्वार टुंगो लगाउन जति सकस छ, चुनावको मुखमा आफ्ना कार्यकर्ताहरुलाई जोगाउन उतिकै चुनौती पनि छ । लामो समय निर्वाचन नहुदा नेतृत्व जाम भएर अघिल्लो(पुराना) र नयाँ पुस्ता उम्मेद्वारका आकांक्षी छन् । मेयर र उपमेयरमा मात्र होइन, ठुला दलहरुलाई वडा अध्यक्षदेखि सदस्यको उम्मेद्वार पनि कस्लाई बनाउने भनेर सकस भइरहेको छ । ‘उम्मेद्वारका आकांक्षीहरु यति धेरै छन् कि, कसैले टिकट नपाएको झोकमा विद्रोही उम्मेद्वार होला कि वा अर्को पार्टीतिर जाला कि भन्ने पिर छ’–कांग्रेसका एक स्थानीय नेताले भने । कांग्रेसले धरानमा वडाको उम्मेद्वार टुंगो लगाइसक्यो, तर असन्तुष्टी चुलिदै गएको छ । वडा नम्बर १८ मा उम्मेद्वार छनौट तथा सिफारिश प्रक्रियाप्रति असन्तुष्टी जनाउदै पहिलो चरणको चुनावको मुखमा एमाले उपमहानगर सचिवालय सदस्य एवं १८ वडाका इञ्चार्ज ऋर्षिराज राई कांग्रेसमा प्रवेश गरे भने नेकपा एमालेले आधिकारिकरुपमा उम्मेद्वारको घोषणा गर्न बाँकी छदै असन्तुष्ट आंकाक्षीहरुले पार्टीको वडा कमिटि र उपमहानगर कमिटि कार्यालयमा शनिबार तालाबन्दी नै गरेका थिए । असन्तुष्ट पक्षसँग पार्टी नेतृत्वले वार्ता गरेपछि सोमबार उक्त ताला खुलिसकेको छ । एमालेको वडा ७, १० र १७ मा उम्मद्वार छनौटप्रति धेरै असन्तुष्टी छ ।
नेतृत्व भन्छ,‘निर्वाचन नहुदाको परिणाम’

कांग्रेसका नगर सचिव श्याम पोख्रेल पनि लामो समय पछि स्थानीय निर्वाचन हुन लागेकोले उम्मेद्वारका आकांक्षीहरु धेरै भएको र मिलाउने क्रममा केही वार्डमा असन्तुष्टी देखिएको बताए । ‘निर्वाचन २० बर्षपछि हुदैछ, २०५४ सालमा मतदाता नभएको व्यक्ति अहिले उम्मेद्वार हुने बेला भएको छ’–पोख्रेलले भने–‘केही वार्डमा निष्क्रिय भएर बसेकाहरु चुनाव हुने भएपछि टिकट पाउन सक्रिय भए तर समय धेरै परिवर्तन भइसकेो छ, पुरानो भएकै कारणले टिकट पाउनुपर्छ भनेर पनि हुदैछ ।’ नेतृत्वले जसलाई टिकट दिन्छ, उसैलाई कांग्रेसका कार्यकर्ताहरुले जिताउनु पर्ने उनले बताए ।
असन्तुष्टहरु भन्छन्, ‘नेतृत्वमा भागवण्डा, अपारदर्शी र एकपक्षीय प्रवृत्ति’


राजनीति र स्थानीय निर्वाचनलाई नजिकबाट नियालीरहेका वडा १४ विजयपुर निवासी प्रेमप्रसाद पराजुली भने प्रजातान्त्रिक भनिएका पार्टीहरुको नेतृत्वको आचरण र कार्यशैली अप्रजातान्त्रिक भएको टिप्पणी गर्छन् । ‘कुनै एउटा दलको मात्र कुरा होइन, सबै दलको नेतृत्वले जनतामा को प्रिय छ भन्ने हेदैन, को मेरो नजिकको छ, उसैलाई टिकट दिने रवैयाले समस्या बनाएको हो’–उनी भन्छन्–‘टिकट पाउनेले के आधारमा पायो र नपाउनेले के कारणले नपाएको हो भनेर पार्टीले स्पष्ट पार्नुपर्छ, तर कुनै पनि पार्टीले प्रष्ट्याउदैन, समस्य त्यही हो ।’
Comments
Post a Comment