भानुचौकमा साकेलाको रौनक(फोटोफिचर)

धरान । गाडीको चर्को हर्न र आवाजले सधै अस्तब्यस्त रहने धरानको भानुचौकमा बिहिबार भने ढोल र झ्याम्टाको ‘ढ्याङक्कुढ्याङकु’ र ‘झ्याम्झ्याम’ आवाजले गुञ्जायमान भयो ।
अरुबेला सडक पार गर्न हत्तारिने सर्वसाधारणहरु पनि भानुचौकमा रोकिएर ढोल र  झ्याम्टा गुञ्जिएको स्थानमा भिडसँगै मिसिन्थे । त्यहाँ, मौलिक भेषभुषमा सजिएका किरात राई युवायुवती, वृद्धवृद्धाहरु गोलाकार भएर साकेला सिली नाचिरहेका थिए । भानुचौकको दृष्य अरुबेला भन्दा फरक साकेलामय थियो ।
सोई ढोले सोइ, अर्को ढोले खोई...।
ढोल र झ्याम्टाको तालसँगै किराती तरुनी तन्नेरीहरु सिली नाच्न थाले । उनीहरुको सिको गर्दै अरु पनि नाच्न थाले । प्रविधि र आधुनिकीकरणले विदेशी गीत संगीत र सँस्कृतिप्रति बढी रुचि लिने युवायुवतीहरु पनि मौलिक पहिरनमा सजिएर साकेला सिली नाचिरहेको दृष्य आकर्षक थियो । पछिल्लो समय पहिचान र सँस्कृतिमा युवा पुस्ताको पनि रुचि बढ्दो छ । भानुचौकको साकेला सिली प्रर्दशनीमा पनि केटाकेटी, युवा र वृद्धवृद्धा गरी तीन पुस्ता आफ्नो सस्ँकृति र पहिचान जोगाउन एकै लहरमा थिए ।
उभौलीको अवसरमा किरात राई यायोक्खा उपमहानगर समितिले भानुचोकमा साकेला सिलि प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न प्रारम्भिक कार्य समितिहरुको साँस्कृतिक टोलीले फरक फरक सिली प्रर्दशनी गरेको थियो । बुधबार यायोक्खा जिल्ला कार्यसमितिले ऐतिहासिक विजयपुरगढीमा अवस्थित किरात हाङ बुद्धिकर्णको दरबारस्थलमा पितृ सम्झदै भुमिपुजा गरेर साकेला सिलीको शुरुवात गरेको थियो । किरात राईहरुले बैशाख पूर्णेदेखि १५ दिनसम्म लगातार साकेला नाचेर उभौली मनाउने गर्छन् । किरात बाहुल्य गाउँघर र शहरमा दुई सातासम्म ढोल र झ्याम्टाको तालमा साकेला सिलीले यसरी नै रौनक थप्छ । पछिल्लो समय किराती युवापुस्तामा आफ्नो सँस्कृति प्रतिको मोह बढ्दो छ ।
ढोल र झ्याम्टाको तालमा राईहरुले साकेला सिली नाच्न थालेपछि अब खेतीपाती गर्ने समय शुरु भएको संकेत पनि हो । खेतीपातीको समय आएपछि चार किराती राई, लिम्बु, सुनुवार र याक्खा जातिले बैशाखे पुर्णेमा उभौली पूजा गर्छन् । खेतीपाती शुरु गर्नुअघि किरातीहरुले बर्षा राम्रो होस, उब्जनी राम्रो होस, रोगब्यधा नलागेस्, शुखशान्ति मिलोस भन्ने प्राथना गदै प्रकृति र पितृहरुलाई पुज्ने गर्छन् । यसैलाई उभौली चाड भनिन्छ । उभौली लागेपछि बेसी झरेका कर्याङ कुरुङ र माछा लेक चढ्छन् । यस्तै, मंसिरे पुर्णेमा पाकेको अन्नबालीलाई घरभित्र हुलेर सबैभन्दा पहिला आफ्ना पितृहरुलाई चढाई आशिक मागेर परिवारबीच भेटघाट गरी साकेला नाचिन्छ । यो चाडलाई भने उधौली भनिन्छ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे