सुत्केरीको मृत्युले बीपीमा तनाव

धरान । अप्रेशन गरेपछि सामान्य अवस्थामा रहेकी एक सुत्केरीको अचानक मृत्यु भएपछि बिहिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सृर्जना भएको छ । धरान ११ की २९ बर्षीय भगवती बिकको अप्रेशन गरेर बेडमा ल्याइसकेपछि अवस्था बिग्रिएर अचानक मृत्यु भएको थियो ।
नर्मल डेलिभरी गराउने प्रयास असफल भएपछि चिकित्सकहरुले बिहान करिब ७ बजेतिर अप्रेशन गर्नुपर्ने आफन्तजनलाई सुनाएका थिए । अप्रेशनमार्फत उनले छोरी जन्म दिएकी थिइन् । अप्रेशनपश्चात सामान्य अवस्थामा रहेकी बिकको अचानक मृत्यु भएपछि उनका आफन्तजनहरु आक्रोशित भएका छन् । बिकको करिब ३ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युपश्चात आफन्त एवं छरछिमेकहरुले उपचारमा लापरवाहीले मृत्यु भएको भन्द गाइनो वार्डमा घेराउ गरेका थिए । बच्चाको अवस्था सामान्य छ । मृतकका श्रीमान् राम बिक वैदेशिक रोजगारमा कतारमा छन् । दुवैको करिब ९ बर्षीय छोरा छन् ।
आफन्त एवं छिमेकीहरुले मृत्युको कारण स्पष्ट नपारेसम्म शव नबुझ्ने र दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । मृतकका भेना हर्कबहादुर ल्वागुनकका अनुसार उपचारमा संलग्न नर्सलाई विरामीको अवस्थाबारे भन्दा अप्रेशन गरेको यस्तै त हुन्छ भन्दै वेवास्ता गरेको र डाक्टर पनि तत्काल नआइदिएकोले भगवतीको मृत्यु हुनपुगेको दाबी गरे । ‘अप्रेशन गरेपछि ठिकै थियो, केही समयपछि पेट दुख्यो भन्न थालि । नर्सलाई भन्दा अप्रेशन गरेको यस्तै हो भनेर झर्किइन्’–उनले भने–‘डक्टर पनि समयमै आइदिएनन्, यो त उपचारमा लापरवाही नै हो ।’
कुरुवा रहेकी बहिनी गंगाका अनुसार दिदीलाई गाइनो वार्डमा मंगलबार भर्ना गरिएको थियो । चिकित्सकहरुले नर्मल डेलिभरी हुन्छ भनेपनि बिहान भने बच्चाले दिसा खाइसकेकोले अप्रेशन गर्नुपर्ने भनेको उनले बताइन् । ‘अप्रेशन गरिसकेर वेडमा सार्दा पनि दिदी ठिक हुनुहुन्थ्यो । वेडमा ल्याएपछि पेट घोच्यो भनिन्’–रुदै बहिनी गंगाले भनिन्–‘सबै ठिक थियो, एक्कासी मेरो दिदी कसरी म¥यो ?’
गाइनो वार्डका चिकित्सक एवं सहायक अस्पताल निर्देशक डा.पप्पु रिजालले भने उपचारमा लापरवाही नभएको जिकिर गर्दै ‘पल्मोनरी थम्बोइम्बोलिज्म’को कारण बिकको अचानक मृत्यु भएको बताए । अप्रेशन गरिएको विरामीलाई यस्तो हुनसक्ने धेरै सम्भावना हुने र अझ डेलिभरीको अवस्थामा यस्तो जोखिम बढी हुने उनले खुलाए । ‘पल्मोनरी थम्बोइम्बोलिज्म भनेको मुटूबाट फोक्सोमा रगत जाने नलीमा रगतको ढिक्काले अक्जिसन ब्लक गरिदिन्छ, र विरामीको सडन डेथ हुन्छ’–डा.रिजालले भने–‘यस्तो अवस्थामा विकसित मुलुकमा पनि धेरै जोखिम हुन्छ ।’ मृतक बिकलाई ‘अब्स्ट्रयाक्टिभ कोलेस्ट्यासिस’ पनि भएकोले छिटो नर्मल डेलिभरी गराउन प्रयास गरेको तर सम्भव नभएपछि अप्रेशन गर्नुपरेको पनि उनले बताए । ‘उहाँलाई जति सक्दो छिटो डेलिभरी गराउनुपर्ने थियो, त्यसैले औषधीले नर्मल गराउन खोजेपनि नसकेपछि अप्रेशन भएको हो’–उनले भने ।
आक्रोशित आफन्तजन र छरछिमेकहरुले शव नबुझ्ने भन्दै गाइनो वार्डमा घेराउ गरेपछि बिहिबार साँझ नै अस्पताल प्रशासन, चिकित्सक, प्रहरी र मृतकका आफन्तहरुबीच वार्ता भएको थियो । अस्पताल निर्देशकको वैठक कक्षमा भएको वार्तामा यो समाचार तयार पार्दासम्म सहमति हुन सकेको थिएन । मृतकको शव एमआइसियुमा राखिएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे