पत्रकार प्रधान पुरस्कृत

धरान । सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट सुनसरीका अग्रज पत्रकार याम प्रधान पुरस्कृत भएका छन् । कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठानले स्थापना गरेको पुरस्कार मंगलबार धरानस्थित सिद्धि नेवा परिषदमा एक समारोहबीच प्रधानलाई प्रदान गरिएको छ ।
प्रतिष्ठानकी संरक्षक सरला कायस्थ, प्रमुख अतिथि एवं सांसद कृष्णकुमार राई, अध्यक्ष मुकुल कायस्थलगायतले प्रधानलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र र नगद प्रदान गरिएको थियो । पुरस्कारको राशी २१ ह्जार रहेको छ । प्रतिष्ठानले गत बर्षदेखि एक पत्रकारलाई पुरस्कार र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति पुरस्कार तथा शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ । रत्नप्रसाद वि.स.१९५७ सालमा धरान शहर बसाल्ने सुब्बा हुन् । उनी प्रतिष्ठानकी संरक्षक सरला कायस्थकी ससुरा हुन् । गत बर्ष यो पुरस्कार अग्रज पत्रकार हर्ष सुब्बालाई प्रदान गरिएको थियो ।
प्रतिष्ठानले नगद १५ हजार रुपैयाको छात्रवृत्ति सरस्वती बाल आश्रमका विद्यार्थी राम परियारलाई उच्च शिक्षाको लागि प्रदान गरेको छ । यस्तै, सारदा बालिकाकी कक्षा ११ मा अध्ययनरत गंगा मगरलाई पनि शिक्षाको लागि छात्रवृत्ति स्वरुप नगद १५ हजार प्रतिष्ठानले प्रदान गरेको छ । यसैगरि, दृष्टिविहिन विद्यार्थीहरु कौसिकी क्याम्पसमा बि.एड.पहिलो बर्षका लालबहादुर लावती र दोस्रो बर्षमा अध्ययनरत रश्मी गुरुङलाई पनि छात्रवृत्ति स्वरुप जनही नगद १५ हजार प्रदान गरिएको थियो ।
यसबाहेक, प्रतिष्ठानले दृष्टिविहिन विद्यार्थीहरु विनिता सतार, सविता साह, अनिता घिमिरे, सुनिता मण्डल, सुमित्रा साह, पोष्टबहादुर थापा र पदम ठट्टाललाई आवश्यक शैक्षिक सामग्रीहरु पनि प्रदान गरेको थियो । साथै, सुर्योदय विहारलाई पनि १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गरिएको थियो । फरक क्षमता भएका दृष्टिविहिन विद्यार्थीहरुलाई शिक्षामा अघि बढाउने उद्देश्यले सहयोग प्रदान गरेको प्रतिष्ठानकी संरक्षक कायस्थले बताइन् । ‘कतैबाट पनि सहयोग नपाएका विद्यार्थीहरु छनौट गरेर सहयोग गरेका हौं । पुरस्कारको राशी ठुलो नहोला तर त्यसले हौसला दिन्छ, उत्प्रेरित गर्छ भन्ने आशा लिएका छौं’–कायस्थले भनिन्–‘समाजमा आडम्बर देखाउनलाई यस्तो गरेको होइनौं, बाचुञ्जेल समाज सेवा गरुँ भन्ने मन मात्र हो ।’
प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थले आफ्नो हजुर बा, बुबा तथा आमाले समाजको लागि गरेको योगदान र किर्तिलाई प्रतिष्ठानको माध्यमबाट बचाइराख्न पुरस्कार, छात्रवृत्ति तथा सहयोग गरिएको प्रष्ट्याए । कार्यक्रममा सांसद कृष्णकुमार राई, धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला, पुरस्कृत पत्रकार प्रधानलगायतले पनि मन्तव्य राखेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे