धरानमा उम्मेदवार विना घरदैलो,घोषणा पत्र पनि आएन

धरान । तीन वटा प्रदेशमा पहिलो चरणको स्थानीय तहको निर्वाचनले उत्साहित बनेका राजनैतिक दलहरुले प्रदेश १ का नगर र गाउँहरुमा घरदैलो अभियानलाई तीब्रता दिएका छन् । तर, आधिकारिकरुपमा उम्मेद्वार नहुदा भने मतदाताहरुलाई प्रभावित पार्न दलहरुलाई निक्कै सकस भइरहेको छ ।
स्थानीय तहको निर्वाचन भएकोले मतदाताहरुमा कुन दलको को उम्मेद्वार छ भनेर अत्यधिक चासो छ । तर, निर्वाचनको मिति नजिकिदै गर्दा पनि दलहरुले आफ्नो आधिकारिक उम्मेद्वार टुंगो लगाउन नसक्दा मतदाताहरु पनि अन्यौलमा नै छन् । सर्वसाधारण मतदाताहरुलाई राजनैतिक दलका उम्मेद्वारमा मात्र होइन, ती दलले के कस्ता विकासका एजेण्डाहरु अघि सारेका छन् भन्नेमा पनि अत्यधिक चासो छ । तर, धरान उपमहानगरमा अहिलेसम्म कुनै पनि दलले घोषणा पत्र सार्वजनिक गरेको छैन । प्रमुख तीन कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि घोषणा पत्र सार्वजनिक गरिसकेको छैन । माओवादी केन्द्रले मात्र पछि विस्तृतरुपमा सार्वजनिक गर्ने भन्दै संक्षिप्तरुपमा मात्र घोषणापत्रका केही बुँदाहरु सार्वजनिक गरेको थियो । घोषणा पत्र तयारी अन्तिम चरणमा रहेको प्रमुख दलका नेताहरुले बताएका छन् ।
धरानमा माओवादी केन्द्रले मात्र मेयर र वडाहरुका अध्यक्ष पदमा उम्मेद्वारको नाम सर्वसम्मत निर्णय गरेर माथिल्लो कमिटिमा सिफारिश गरेको छ । उपमेयरमा भने माओवादीले पनि उम्मेद्वारको टुंगो लगाएको छैन । संघीय समाजवादी फोरमले पनि उपमेयरमा मात्र उम्मेद्वारको टुंगो लगाएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा नेपाललगायत अन्य दलहरुले अझै उम्मेद्वारको नाम टुंगो लगाउन सकेको छैन । ती दलहरु आधिकारिक उम्मेद्वार विना नै मतदाताहरुसमक्ष भोट माग्दै घरदैलो अभियान गरिरहेको छ । उम्मेदवार विना भोट माग्दै घरदैलोमा पुग्दा मतदाताहरुले ती दलहरुलाई उम्मेद्वारबारे सोध्छन् । त्यसबेला स्थानीय नेताहरुलाई जवाफ दिन गाह्रो परिरहेको छ । ‘उम्मेदवार निश्चित हुदा न हुदा धेरै फरक हुदो रहेछ । मतदाताहरुले उम्मेदवार को हो भनेर सोध्छन्, हामीलाई उत्तर दिन ज्यादै गाह्रो हुन्छ’–मेयरका आकांक्षीसमेत रहेका एमालेअध्यक्ष तारा सुब्बा भन्छन्–‘अहिले पार्टीको लागि भोट मागिरहेका छौं ।’ एमालेले गत बैशाख ५ गते नै मेयर, उपमेयर आकांक्षीको नाम सिफारिश गरेको थियो । एमालेको मेयर र उपमेयर उम्मेद्वारका आकांक्षीहरुको नाम जिल्ला कमिटिबाट प्रदेश हुदै स्थायी कमिटिमा पुगेर मात्र उम्मेद्वार तय हुन्छ । यो प्रक्रिया टुंगिन अझै केही समय लाग्छ । मेयरमा सुब्बासँगै प्रदिप भण्डारी र जयकुमार राईको नाम सिफारिश भएको छ भने उपमेयरमा मञ्जु भण्डारी, वेणु काफ्ले र सावित्री श्रेष्ठको नाम सिफारिश भएको छ ।
नेपाली कांग्रेसका सभापति तिलक राईको अनुभव पनि एमाले अध्यक्षको भन्दा फरक छैन । कांग्रेसले पनि वडा वडामा उम्मेद्वार विना नै घरदैलो अभियान गरिरहेको छ । मेयर, उपमेयरमा धेरै आकांक्षी भएपछि कांग्रेसले सर्वसम्मत उम्मेद्वारको टुंगो लगाउन सकेको छैन । वडामा भने अधिकांश उम्मेद्वार निश्चित भइसकेको राईले बताए । ‘वडा वडामा अभियान त चलिरहेको छ, अहिले उम्मेद्वारलाई भन्दा पनि कांग्रेसलाई जिताउ भन्दै घरदैलो गरिरहेका छौं’–मेयरमा उम्मेद्वारका आकांक्षी राईले भने । कांग्रेसमा मेयर र उपमेयरमा अत्यधिक आकांक्षी भएपछि जिल्ला कमिटिलाई निर्णय गर्न हम्मे परिरहेको छ । मेयरमा सभापति राई, पुर्वसभापति किसोर राई, विनोद राई, सुजेन्द्र तामाङ, लक्ष्मी खतिवडा, सन्दिप श्रेष्ठलगायत ११ जना आकांक्षी छन् भने उपमेयरमा श्यामा रेग्मी, निलकुमारी गिरी, मिना पुलामी, उर्मिला प्रधान, नेत्रकुमारी राईसहित १७ जनाको नाम सिफारिश छ ।
धरान उपमहानगरमा माओवादी केन्द्रले मात्र मेयर पदमा अइन्द्रबिक्रम बेघाको नाम सर्वसम्मत निर्णय गरेर सिफारिश गरेको छ । तर, यो सिफारिशलाई पनि जिल्ला कमिटि हुदै प्रदेश कमिटिमा पुगेर मात्र औपचारिक निर्णय हुन बाँकी नै छ । उपमेयरमा भने कमला अधिकारी(चेतना श्रेङ), कमला राई, लक्ष्मी प्रधान र गंगा पौडेल बरालको नाम नगरबाट सिफारिश गरेको छ । ‘वडाको छुट्टै टिम र मेयरसहित घरदैलो कार्यक्रम गरिरहेका छांै’–माओवादी केन्द्रका नगर संयोजक चोत्लुङले भने–‘हामीलाई मेयर र वडा अध्यक्षहरुमा भोट माग्न समस्या छैन, उपमेयरमा ४ जना प्रस्ताव गरेका छौं ।’ घरदैलो अभियान गर्दै भोट मागिरहेको राप्रपाले पनि पार्टीको लागि मात्र भोट मागिरहेको छ । समाजवादी फोरमले भने मेयरको उम्मेद्वार टुंगो नलगाएपनि उपमेयरमा पारस काङमाङको नाम मात्र टुंगो लगाएको छ । मेयरमा भने अन्य दलहरुसँग मोर्चावन्दी गर्ने फोरमको योजना छ ।
धरान उपमहानगरमा २० वटा वडा छ भने मतदाता संख्या ७९ हजार २ सय ८२ रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । यसअघि भएको २ स्थानीय निकायको निर्वाचनमा धरानमा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले जित हासिल गरेको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे