गितारको धुनसँगै कविता
धरान । विमल स्मृति पुस्तकालय धरानको नजिकै भर्खर खुलेको फुड स्टोरी क्याफे छ । कवि एवं तर्क दर्शनका प्रणेता चेवन राईको यही क्याफेमा शनिबार कवि, साहित्यकार तथा साहित्यनुरागीहरुको भीड लाग्यो ।
कार्यक्रम थियो, युवा कवि थीरलोचन श्रेष्ठको कविता संग्रह ‘प्रश्नपत्र जिन्दगीको ’बारेमा अन्र्तक्रिया । पत्रकार एवं नेपाली भाषाका उपप्राध्यापक राजेश विद्रोहीले कार्यक्रम सहजीकरण गर्न शुरु मात्र के गरेथे, क्याफे भित्र मधुर लयमा गितार बज्न थाल्यो । यो क्रम कवि श्रेष्ठले कविता वाचन गर्दादेखि अन्त्यमा अतिथि गजलकारहरुले गजल सुनाउदासम्मै चलिरह्यो । गितारको मधुर धुनसँगै कवि श्रेष्ठले कविता सुनाउदा क्याफेको साहित्यिक वातावरणमा छुट्टै रौनक थपिएको थियो ।
गितारको धुनसँगै कवि श्रेष्ठले पहिलो कविता सुनाए, खिल पल्टेको देश...
चकमन्न रात
सुनसान सडक
लमतन्न निदाएको सिंगो पृथ्वीको एउटा कुनामा
मेरो देशको घाउ दुःखीरहेछ
कठै, खिल पल्टेको मेरो देश ।
कवि श्रेष्ठले योसँगै संग्रहका थप ४ वटा कविता सुनाए । खिल पल्टेको देशपछि उनले निसाचरी..,टुडिखेलको निम्तो..., एक्ले ढुकुर..र प्रश्नपत्र जिन्दगीको..शिर्षक कविता सुनाए । यी कविता वाचन गरिरहदा गितारको धुनमा उनलाई विकास शर्माले साथ दिएका थिए । कवि श्रेष्ठको संग्रह केही समय अघि राजधानीमा विमोचन गरिएको थियो । कवि श्रेष्ठले संग्रहमा ५ वटा खण्डमा कविताहरु राखेर नयाँपन दिने प्रयास गरेको बताए । प्रत्येक खण्डमा १० वटा कविताहरु राखिएको छ भने अन्तिममा एउटा अलग्गै कविता छ । ‘मेरो कविताहरु क्लिष्ट भाषामा छैन, बोलीचालीकै भाषामा लेखिएको कविताहरु छ’–कवि श्रेष्ठले भने ।
टिप्पणीकार एवं प्रा.डा.भिम खतिवडाले श्रेष्ठको कविता संग्रह केही अलग र रुचिवद्र्धक प्रयोग गरिएको उल्लेख गर्दै सम्पादनको पक्ष पनि नयाँ रुपमा रहेको बताए । कविता संग्रह ५ वटा खण्डमा भएकोले ५ वटा साना साना संग्रह पढेजस्तो महसुस हुने उनले बताए । ‘संग्रहलाई पठनिय बनाउने प्रयोग भएको छ । कविताप्रतिको आकर्षण गर्न र भद्दापनबाट जोगाउन नौलो प्रयोग हो’–डा.खतिवडाले भने–‘धेरै कविता प्रेमबाट बाहिर छैन । देश छोडेपछि मुटु पग्लने युवाहरुको कथा छ, आफ्नै आँगनको हासो, आफ्नै आगनको फुल, नेपाली बिम्बहरु छन् ।’ यद्यपी, टिप्पणीकार खतिवडाले केही उमेर र अनुभवको सिमाले केही कलिला शब्दहरु पनि प्रयोग गरिएको संग्रहमा रहेको कमजोरी पनि बताए ।
अर्का टिप्पणीकार एवं भाषाविद् प्रा.डा.टंक न्यौपानेले श्रेष्ठको सबैजसो कविताहरु छोटो आकारको रहेको र ति कविताहरुले केही प्रहार गरेको, केही अनुभूति बाकेको धारणा राखे । पाठकलाई जिज्ञासा जगाउने किसिमका कविताहरु भएको खुलाउदै न्यौपानेले कवितामा प्रकृतिको चित्रण सरल भाषा र शैलीमा गरिएको भन्दै प्रसंसासमेत गरे । ‘संग्रहको कविताले सामाजिक विकृतिलाई प्रहार गरेको छ । अन्याय, असमानता, भेदभाव बन्द गरिदिनुस् भन्दै बन्द सँस्कृतिविरुद्ध आक्रोश छ’–डा.न्यौपानेले भने–‘सरकार जो सुकैको होस, निरंकुश हुन्छ । त्यसलाई अंकुश लगाउने पत्रकार, कवि हुन् । समाज, सरकारलाई कविले आलोचना गर्नुपर्छ ।’ कार्यक्रममा कवि श्रेष्ठका गुरु(शिक्षक) गणेश बज्रचार्यले पनि मन्तव्य राखेको कार्यक्रमको अन्त्यमा गजलकारहरुले गजल पनि सुनाएका थिए ।
Comments
Post a Comment