धरानको कोशी राजमार्गमा गाडी पार्किङ निषेध

धरान । जथाभावी पार्किङ र बढ्दो सवारी चापले सडक साघुरो हुदै गएपछि धरान बजार क्षेत्रमा पर्ने कोशी राजमार्गअन्र्तगतको सडकमा तीन पांग्रे माथिको सवारीसाधनलाई पार्किङ गर्न प्रतिबन्ध गरिएको छ । सडकमा सहजरुपमा सवारीसाधन आवागमन गराउन तथा दुर्घटना नियन्त्रण गर्ने प्रयास स्वरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघले संयुक्तरुपमा निर्णय गर्दै प्रतिबन्ध लगाएको हो ।
उक्त निर्णयलाई जिल्ला ट्राफिक कार्यालयले शुक्रबारदेखि कार्यान्वयन थालेको छ । ट्राफिक कार्यालयले धरानस्थित कोशी अञ्चल प्रहरी कार्यालय गुल्मबाट थप प्रहरी जनशक्ति मगाएर सडकमा तीन र चार पांग्रे सवारीको पार्किङलाई कडाईका साथ निषेध गरिएको जनाएको छ । ‘तत्कालको लागि तीन पांग्रे र त्यसमाथिको सवारीलाई निषेध गरिएको हो, विस्तारै मोटरसाइकललाई पनि राजमार्गमा पार्किङ गर्न दिदैनौं’–जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले भने–‘सडक खुल्ला राख्न ट्राफिक प्रहरीले मात्रै सम्भव हुदैन, यसमा सबैको साथ र सहयोग आवश्यक पर्छ ।’
पहिलो चरणमा पार्किङ निषेध गरिएको क्षेत्र राजेश पेट्रोल पम्पदेखि नेपाल टेलिकमको कार्यालय अघिसम्म हो । यो क्षेत्रमा करिब डेढ किलोमिटर लामो कोशी राजमार्ग पर्छ । धरानमा सबैभन्दा बढी सवारी गुड्ने, बजार भएकोले भीडभाड हुने र पार्किङ पनि यही क्षेत्रमा पर्छ । पछिल्लो समय अनुमति भन्दा बढी संख्यामा सिटि सफारी सञ्चालनमा आएपछि धरानसँगै पुर्वको ट्राफिक व्यावस्थापन अस्तब्यस्त छ । सहायक एवं भित्रि सडकहरुमा मात्र गुड्नुपर्ने सफारी मुख्य राजमार्गमा नै गुड्ने गरेकोले सडक साँघुरो मात्र बनेको छैन, दुर्घटना पनि बढाइरहेको छ ।
तीन र चार पांग्रे सवारीलाई पार्किङ निषेध गराउन १५ जना ट्राफिक खटिएका छन् भने अञ्चल प्रहरी गुल्मबाट थप १० जना प्रहरी परिचालन गरिएको छ । ती सवारी एवं ढुवानीका साधानले ‘पिक एण्ड ड्रप’ गर्न मात्र रोक्न पाउनेछन् । ‘पहिलाको जस्तो दिनैभरि पार्किङ गर्न पाउदैन, पिक एण्ड ड्रप गर्न मात्र पाइन्छ’–ट्राफिक प्रमुख सुवेदीले भने । तीन र चार पांग्रे साधनलाई सडकमा पार्किङ निषेध गरेपछि शुक्रबार कोशी राजमार्ग सडकमा विगत जस्तो अस्तब्यस्त नदेखिएको सर्वसाधारणहरुले अनुभव गरे । ‘आज ट्राफिक पुलिसहरु पनि धेरै थिए । गाडीहरु मात्र पार्किङ नहुदा पनि धरानको सडक धेरै खुल्ला देखियो’–पैदल यात्री धरान ८ का नरहाङ राईले भने ।
तत्कालको लागि मोटरसाइकललाई पार्किङ छुट भएपनि भविष्यमा दुई पांग्रे सवारीलाई पनि निषेध गर्ने योजना रहेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । उनका अनुसार अहिले उपमहानगरले सडक अतिक्रमण गरिएको संरचनाहरु भत्काएर खुल्ला गरिरहेको र पार्किङ समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने योजना छ । ‘ट्राफिक व्यवस्थापन दीर्घकालीनरुपमा नै हुन्छ । उपमहानगरले सडक क्लियर गराउदैछौं, पार्किङको विकल्प खोज्दैछौं । त्यसपछि मोटरसाइकल पनि निषेध हुन्छ’–कोइरालाले भने । गत बर्ष पनि ट्राफिक र उपमहानगरपालिकाले यो राजमार्ग क्षेत्रमा पार्किङ निषेध गरेपनि स्थानीय व्यापारीहरुको विरोधपछि असफल भएको थियो । यो पटक भने सुनसरी उद्योग वाणिज्य संघ पनि पार्किङ निषेध अभियानमा जुटेकोले सफल हुने उपमहानगर र ट्राफिक प्रहरीको अपेक्षा छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे