धरानमा रंग संवाद, दर्शक र रंगकर्मीबीच ‘ग्याप’ कम गर्न सुझाव


धरान । रंगकर्मी र आम दर्शकहरुबीचमा ‘ग्याप’ भएकोले त्यसलाई हटाउन सकेमात्र रंगमञ्चको सामग्र विकास र व्यावसायिकरण हुनसक्ने रंगकर्मीहरुले नै बताएका छन् । नाट्यकर्मी महासंघ नेपाल पुर्वाञ्चल क्षेत्रीय समितिले शनिबार धरानमा आयोजना गरेको क्षेत्रीय भेला तथा रङ्ग संवाद कार्यक्रममा स्वयम रंगकर्मीहरुको यस्तो धारणा आएको हो ।
प्रदेश नम्बर १ स्तरीय सो भेलामा विभिन्न जिल्ला वा शहरमा थिएटर हल बन्ने र मात्र एउटा नाटक तयार गरेर मञ्चन गर्ने हो भने पनि निरन्तरताको साथै व्यावसायिकरण हुन सघाउ पुग्ने उनीहरुको धारणा थियो । रङ्ग संवादमा बोल्दै लेखक तथा पत्रकार राजेश विद्रोहीले रंगकर्मी र दर्शकहरुबीच दुरी रहेको टिप्पणी गर्दै यो दुरीलाई हटाउन सकेमात्र आमदर्शकलाई नाटकमा आकर्षित गर्न सकिने बताए । साथै उनले नाटक लेखक र रंगकर्मीबीचको ग्याप पनि हटाउन सुझाव दिए । ‘रंगकर्मी र दशर्कबीचमा ग्याप छ, यसलाई कम गर्नुपर्छ । नाटकबारे दर्शकलाई थाहै नहुने परिपाटीलाई हटाउनुपर्छ’–उनले भने–‘नाटककार लेखक र नाट्यकर्मीबीचमा पनि ग्याप छ । नाट्यकर्मीहरुले कस्तो नाटक खोजेको हो भन्ने नाटककारले बुझ्नुर्पछ ।’ यसको लागि उनले दुवैपक्षबीच एक ठाउँमा भेला भएर संवाद गर्न जरुरी रहेकोमा उनले जोडदिए ।
नाट्यकर्मी महासंघका केन्द्रीय महासचिव राजेन्द्र रिमालले अनि देउराली रुन्छ जस्तो नेपाली नाटक आउन नसकेको उल्लेख गर्दै त्यसमा रंगकर्मीहरुको कमजोरी रहेको स्वीकार गरे । विदेशी नाटकहरु मञ्चनमा केन्द्रीत हुदा नेपालीपन, नेपाली सँस्कृतिका नाटकहरु बनाउन र विदेश लैजान नसकिएको उनको टिप्पणी थियो । रंगकर्मीहरु दर्शकसम्म पुग्नै नसकेको उनको पनि भनाई थियो । ‘लेखनमा कमजोरी हुदाहुदै पनि सम्भावना प्रशस्तै छ, अनि देउराली रुन्छ जस्तो नेपाली नाटक किन आउन सकेन भनेर हामीले पनि मनन गर्नुपर्छ’–रिमालले भने–‘राज्यलाई मात्रै दोष दिनु हुन्न । अब पुर्वमा रंगमञ्चको शहर बनाउन केन्द्रीत हुनुपर्छ ।’ पुर्वका विभिन्न शहरमा १० वटा मात्र थिएटर बन्ने र प्रत्येकले एउटा मात्र नाटक बनाउने हो भने रंगमञ्चले निरन्तरता पाउनुका साथै रंगकर्मीहरुलाई व्यावसायिक बन्न पनि मद्दत पुग्ने उनको भनाई थियो ।
नाट्यकर्मी महासंघ धनकुटा च्याप्टरका अध्यक्ष मुकुन्द्र प्रयासले हाल मञ्चन भइरहेको नाटकको भाषा क्लिष्ट भएको र आममान्छेले बुझ्न नसकेको भनाई राखे । कसलाई लक्षित गरेर नाटक लेख्ने,मञ्चन गर्ने भनेर नाट्यकर्मीहरुले विचार पु¥याउनुपर्ने उनको धारणा थियो । ‘नेपालमा विदेशी नाटक धेरैजसो मञ्चन हुन्छ । अब आममान्छेको कथा ल्याउनुपर्छ र मात्र नाट्यक्षेत्र अघि बढ्छ’–उनले भने । महासंघका उदयपुर च्याप्टर अध्यक्ष राजु सुन्दासले थिएटर हल निर्माणमा जोड दिदै त्यसले नाटकमा निरन्तरता हुने र रोजगारी पनि सृर्जना गर्ने बताए । मोरङ च्याप्टरका सदस्य मनोज न्यौपानेले स्थानीय तहको निर्वाचन पछि नाट्यक्षेत्रले पनि प्राथमिकता पाउने अपेक्षा व्यक्त गरे ।
नाट्यकर्मी महासंघ सुनसरी च्याप्टरका अध्यक्ष किसोर थुलुङले सहजीकरण गरेको रंग संवादमा कांग्रेस नेता किसोर राई र पुर्व सभासद किरण राईले पनि आफ्नो धारणा राखेका थिए । क्षेत्रीय अध्यक्ष विशाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारितामार्फत नाट्यक्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै अग्रज पत्रकार आनन्द श्रेष्ठलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे