जथाभावी चलेको सफारीले ट्राफिक व्यावस्थापनमा घाडो बन्दै

धरान । वातावरणमैत्री भन्दै सञ्चालन अनुमति दिने निर्णय गरेको धरान उपमहानगर र जिल्ला ट्राफिक कार्यालयले अनुगमन एवं कडाई नगर्दा अटोरिक्सा(सिटि सफारी)ले ट्राफिक व्यावस्थापनमा नै चुनौति खडा गरेको छ । उपमहानगरले तत्काल ७० वटा र बढीमा एक सय २५ वटा सिटि सफारीलाई मात्रै सञ्चालन अनुमति दिने निर्णय गरेको भएपनि धरानमा अहिले करिब ४ सयको संख्यामा सफारी गुडिरहेका छन् ।
जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज एवं सई राजकुमार कार्कीका अनुसार दर्ता र अनुमति विना बग्रेल्ती चलेका सफारीले ट्राफिक समस्या निम्त्याइरहेको बताए । उपमहानगर पालिकाबाट सफारी दर्ता सिफारिश प्रक्रिया अड्किएकोले समस्या भएको उनको भनाई छ । ‘निर्णय अनुसार ७० वटा दर्ता भएको भए नियन्त्रणमा सहज हुनेथियो, अहिले त दर्ता विनै चलेको छ । यसले धरानमा ट्राफिक समस्या भइसक्यो’–कार्कीले भने । उनका अनुसार सफारी चालकहरु बालकदेखि वृद्धसम्म छन् । उनीहरुलाई ट्राफिक नियम थाह छैन । नो पार्किङमा रोकिने, यात्रु जहीत्यही चढाउने र झार्ने गर्छन् । सफारीको रुट परमिट नभएकोले जहीत्यही चलेको छ । चालकको लाइसेन्स छैन । दर्ता विना चलेकोले दुर्घटना हुदा क्षतिपुर्ति पाउने सम्भावना छैन ।
उपमहानरपालिकाले ७० वटालाई दर्ता सिफारिश गर्ने भनेपनि अहिलेसम्म एउटा पनि सफारी वैद्यानिकरुपमा दर्ता भएको छैन । गएको असारमा सफारी सञ्चालनको तयारी गरेदेखि नै टेम्पो चालक एवं व्यावसायी संगठनको विरोधले सफारी सिफारिश र दर्ता प्रक्रियामा अड्किएके थियो । दर्ता नगरी तोकिएको संख्या भन्दा धेरै सफारी भित्रिएर निर्वाध गुडिरहे पनि उपमहानगरपालिका र ट्राफिक कार्यालयले नियन्त्रण गर्न सकेको छैन । राजमार्गमा गुडाउन नपाइने भएपनि सफारी निर्वाध चलिरहेको छ । दर्ता गराइदिने भन्दै धरानमा सफारीको बिक्री गर्ने शोरुमहरु पनि धमाधम खुलिरहेको छ ।
धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले निर्णयअनुसार ७० वटा सफारीको सिफरिश प्रक्रिया शुरु भइसकेको बताए । यो बर्ष ७० वटा सफारीले दर्ता भएर नम्बर प्लेट पाएपछि अरु सफारीलाई नियमन एवं नियन्त्रण गर्ने काम ट्राफिक प्रहरीबाट हुने उनको भनाई छ । ‘हामीले शो रुम जथाभावी खुल्न रोक लगाइसक्यौं । सफारी पनि नल्याउनुस् भनिसकेका छांै । रिक्साको विकल्प दिने भन्दै सफारी ल्याएर चलाएको पनि छन्, अनुमति मागेपनि निर्णय भएको छैन । विस्तारै नियन्त्रणमा आउछन्’–अधिकृत खतिवडाले भने ।

               टेम्पो र सफारीको जहील्यै विवाद

सिटि सफारी सञ्चालनमा ल्याउने तयारी भएदेखि नै धरानमा टेम्पो चालक एवं संघ र सफारी सञ्चालकहरुबीच विवाद शुरु भएको थियो । आफुहरुलाई पेशाबाट विस्थापित गराउन केही व्यापारी र राजनीतिक दलका नेताले सल्लाह नगरी सफारी सञ्चालनको अनुमति दिएको भन्दै टेम्पो चालकहरुले विरोध जनाएका थिए । उनीहरुकै विरोध र दबाबले निर्णय भइसकेर पनि ७० वटा सफारीको दर्ता सिफारिश उपमहानगरपालिकाबाट रोकिएको थियो ।
सिफारिश रोकिए पनि धरानमा सफारी भित्रिने क्रम रोकिएन । धमाधम शो रुम खुल्यो र दर्ता विना नै सडकमा सफारीको चाप अत्यधिक हुनपुग्यो । रुट परमिट नभएकोले पनि टेम्पो चालकसँग स्टेण्ड र रुटको कारण सफारी चालकको दिनहुजसो झगडा भइरहन्छ । एक साताअघि पनि भानुचौकमा टेम्पो चालकले एक सफारी चालकलाई कुटपिट गरेको भन्दै केही समय सफारी चालकहरुले सैनिक चोकमा सडक जाम गरेका थिए । अखिल क्रान्तिकारी सिटि सफारी मजदुर संघका अध्यक्ष सुरेश तामाङले टेम्पो चालकहरुले आफुहरुलाई दुःख दिइरहेको बताए । तथापी, उनी स्वयम पनि उपमहानगरपालिका र ट्राफिक प्रहरीले कडाई नगर्दा धरानले थेग्ने भन्दा बढी सफारी सञ्चालनमा आएको बताउछन् । ‘जही त्यहीबाट आएर सफारी चलेको छ, बजारमा जाम हुन्छ । धरानले थेग्नै सक्दैन । यो क्रम रोक्नुपर्छ’–अखिल क्रान्तिकारी सिटि सफारी मजदुर संघका अध्यक्ष सुरेश तामाङले भने ।
कोशी टेम्पो सिण्डिकेटका अध्यक्ष हिमाल श्रेष्ठले सफारीले ट्राफिक नियम उल्लंघन गरेर राजमार्गमा गुडाउने गरेकोले दिनहुजसो झगडा हुने गरेको बताए । ‘हामी टेम्पोवालालाई मात्रै होइन, सफारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सबैलाई घाडो भइसक्यो । सरोकारवाला निकायले बेलैमा ध्यान पुर्याउनुपर्छ’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे