चरा हेर्न विदेशी पर्यटक आएनन्

सुनसरी(कोशीटप्पु) । चराको स्वर्ग मानिने सुनसरीको कोशीटप्पु वन्य जन्तु आरक्षमा आगन्तुक चराको आगमन भइसकेको छ । तर, ती चरालाई रुचिपुर्वक हेर्ने पर्यटकहरु भने यसपाली आएका छैनन् । चराप्रेमी पर्यटकहरु नआइदिदा स्थानीय पर्यटन व्यावसायीहरु निराश छन् ।
करिब पाँच महिनादेखि मधेशमा जारी आन्दोलनको कारण आरक्ष क्षेत्रमा पर्यटकहरुको कुनै चहलपहल छैन । अक्कल झुक्कल आन्तरिक पर्यटकहरु आरक्षमा घुम्न पुग्छन् । तर, चरा अवलोकनकै लागि जानेहरुको संख्या भने ज्यादै न्युन छ । यसले आरक्षसँगै आसपासमा खुलेका ५ होटल तथा रिसोर्टको आम्दानी पनि गुमेको छ । ‘अहिले चरा हेर्ने पिक सिजन हो, तर मधेश आन्दोलन र बन्दले गर्दा विदेशी पर्यटकहरु एक जना पनि आइदिएनन्’–प्रकाशपुर ९ स्थित कोशी बर्ड भिलेजका सञ्चालक प्रेम थुलुङ राई भन्छन्–‘यता भुकम्पले पनि कुनै असर थिएन, बन्द नभईदिएको भए यसपाली पर्यटकहरु झनै धेरै आउने आशा थियो ।’
उनका अनुसार बन्दकै कारण दशैं र तिहारको बीचमा आउने निश्चित भइसकेको बेलायत र चीनीया पर्यटकको दुई समुहले बुकिङ नै रद्द गरेका थिए । त्यसयता कसैले पनि बुकिङ नगरेको उनले बताए । चार सय बढी चरा चिन्नसक्ने खुबी भएका राईले गत बर्षको माघदेखि कोशी वर्ड भिलेज सञ्चालनमा ल्याएका हुन् । उनको भिजेल उद्घाटन हुदा आगन्तुक चरा र चरा हेर्न आउने ‘पिक सिजन’ थियो । विदेशी चराप्रेमी पर्यटकहरुको ९ वटा समुह आएर उनको भिलेजमा बसेर चरा पनि अवलोकन गरेका थिए । कोशी टप्पु वन्यजन्तु आरक्षमा सप्तकोशी नदी पनि भएकोले अर्ना(जंगली भैसी)सँगै चराको उपयुक्त बासस्थान हो ।
पर्यटन व्यावसायीहरुका अनुसार कोशी टप्पुमा चरा अवलोकन गर्न आउनेमा धेरै बेलायती नागरिक छन् भने चीनीयाहरु चराको फोटोग्राफी गर्न आउने गर्छन् । काठमाण्डौंस्थित ट्राभल्स एजेन्सीमार्फत चराप्रेमी स्वीडिस र अमेरिकी पर्यटकहरु पनि आइपुग्छन् । बिहान ६ बजेदेखि १० बजेसम्म चराको ‘फिडिङ’ समय हुने भएकोले त्यसबेला अवलोकन र फोटोग्राफी गर्न उपयुक्त हुन्छ । आरक्षमा असोजदेखि बैशाख अन्तिमसम्म चरा अवोलकन गर्ने उपयुक्त समय हो । यहाँ ५ सय २ प्रजातिको चरा पाइएको रेकर्ड छ । सन् १९८७ मा आरक्ष अन्र्तराष्ट्रियस्तरमा रामसार क्षेत्रमा सुचिकृत भएको थियो । कोशीटप्पुलाई चराको लागि स्वर्ग पनि भनिन्छ । यहाँ तिब्बत, साइबेरियाबाट पनि चराहरु आउछन् । राजहाँस प्रजातिको बार हेडेड गु्रज चरा त उडेर सगरमाथा पार गर्दै यहाँसम्म आइपुग्ने गरेको चराका जानकारहरु बताउछन् ।
आरक्ष कार्यालयका अनुसार गत आर्थिक बर्षमा ८ हजारको हाराहारीमा कोशीटप्पु घुम्ने पर्यटकहरु आएका थिए । ती मध्ये ३ सय जति विदेशी पर्यटकहरु हुन् । विदेशी पर्यटकहरु चरा अवलोकनसँगै अर्नालगायत अन्य वन्यजन्तु पनि हेर्न आउने प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए । ‘छिमेकी जिल्लाहरुबाट स्कुल, कलेजका विद्यार्थीहरु अवलोकन, भ्रमणमा आइरहेका छन् । तर, यसपाली विदेशी पर्यटकहरु आएकै छैन भन्दा पनि हुन्छ’–संरक्षण अधिकृत शाहले पनि भने । उनका अनुसार यस बर्ष मात्र एक पटक ८ जना जतिको संख्यामा विदेशी पर्यटक आरक्षमा आएका थिए । त्यसपछि विदेशी पर्यटकहरुको आगमन भएकै छैन ।
आरक्ष क्षेत्रमा प्रवेश गर्दा विदेशी पर्यटकको गाडीलाई २ हजार शुल्क लिइन्छ भने प्रतिव्यक्ति बराबर एक हजार शुल्क लिइने गरिन्छ । यस्तै, बोटिङ गर्दा २ हजार शुल्क लाग्छ । तर स्वदेशीको गाडीलाई एक सय ५० रुपैया र प्रतिव्यक्ति ५० रुपैया मात्र शुल्क लाग्छ । आरक्षमा पर्यटक लक्षित कार्यक्रम नभएको हुनाले विदेशी पर्यटकलााई लिइने शुल्क महंगो भएको पर्यटन व्यावसायीहरुको गुनासो छ । आरक्ष क्षेत्रमा चराको फिडिङ क्षेत्रमा स्थानीयले माछा मार्ने गरेकोले पनि चरालाई बस्न समस्या भइरहेको व्यावसायी राईले बताए । संरक्षण अधिकृत शाहले बर्षौदेखि केही स्थानीय समुदाय बषौंदेखि आरक्ष र कोशी नदीमा आश्रित भएकोले सहकार्य र समन्वयमा विस्तारै समस्यालाई व्यवस्थित गर्दै हल गरिने बताए । ‘पुस्तौदेखि आरक्षमा चरिचरण गर्दै आएको र कोशीमा आश्रित समुदाय भएकोले केही समस्याहरु छन्, तर स्थानीयसँग सहकार्य गर्दै यसको महत्व बुुझाउन सक्यौं भने पर्यटकहरुलाई तानेर नै स्थानीयले फाइदा लिनसक्छन् । हामी त्यता लागेका छौं’–शाहले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे