कांग्रेसको आदिबासी जनजाति संघमा समानन्तर गुट

धरान । नेपाली कांग्रेसको भातृ संगठन नेपाल आदिबासी जनजाति संघको सुनसरी जिल्ला समितिमा दुई गुटबीच आधिकारिकता विवाद चर्किएको छ । संघको केन्द्रीय समितिले चन्द्रबहादुर लिम्बुको अध्यक्षतामा रहेको जिल्ला समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरेपछि शुरु भएको विवाद अहिले उत्कर्षमा पुगेको छ ।
केन्द्रीय समितिले कार्तिक २२ गते जिल्ला अधिवेशन गराउन भन्दै नन्दराज राईको संयोजकत्वमा तदर्थ समिति गठन गरेपछि सुनसरीमा दुई गुट अस्तित्वमा थियो । तदर्थ समितिले पुष २८, २९ र ३० गते केन्द्रीय अध्यक्ष इन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएपछि संघको आधिकारिकता विवाद सतहमा देखिएको हो । सुनसरीमा देउवा पक्षको नेतृत्व थियो । तदर्थ समितिमा संस्थापन पक्ष छन् । लिम्बुको नेतृत्वमा रहेको संघले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय महामन्त्री प्रशान्त राईले विधि र प्रक्रिया मिचेर आफ्ना आसेपासेलाई तदर्थ समिति बनाएको आरोप लगाउदै आफुहरु नै आधिकारिक भएको दाबी गरेको छ । अर्कोतर्फ तदर्थ समितिले भने केन्द्रीय समितिले जिल्ला अधिवेशन गराउन तोकेको केन्द्रीय प्रतिनिधिबाट जिल्ला समिति भंग गरेर तदर्थ समिति गठन गरेकोले आफुहरु आधिकारिक भएको जिकिर गरेको छ ।
दुई पक्षबीचको आधिकारिकता विवाद शुक्रबार पत्रकार सम्मेलनमा पनि देखिएको थियो । तदर्थ समितिको टोली पत्रकार सम्मेलनमा पुगेर विघटित कमिटिले संघको ब्यानरमा पत्रकार सम्मेलन गर्न नपाउने भनेपछि केहीबेर तनाव भएको थियो । संघका अध्यक्ष लिम्बुले दर्ता, चलानी नभएको संघको केन्द्रीय समितिको लेटरप्याडमा जिल्ला समिति विघटन गरेको भन्दै महामन्त्री राईले विधि, प्रक्रिया मिचेर अलोकतान्त्रिक तरिकाले तदर्थ समिति गठन गरेको आरोप लगाए । ‘जिल्ला समितिसँग कुनै सरसल्लाह नगरी, विघटन गर्नुपर्ने कारण नै नभई हठातढंगले प्रशान्त राईले समिति भंग गरेर उसको आसेपासे राखेर तदर्थ समिति बनाएको भन्ने सुन्यौं, तर हामीलाई अहिलेसम्म आधिकारिक जानकारी नै छैन ।’–अध्यक्ष लिम्बुले भने–‘यस्तो टिके प्रथा र मनपरीतन्त्रको हामी विरोध गछौं, अहिलेसम्म आधिकारिक संघ हामी नै हौं ।’
नगर र क्षेत्रीय अधिवेशन सकेर जिल्ला अधिवेशनको तयारी गरिरहदा पार्टीको महाधिवेशनको मिति तोकिएकोले आचारसंहिताअनुसार नै अधिवेशन रोकिएको सचिव जीवनकुमार राईले बताए । महाधिवेशन तोकिएपछि आचारसंहिता र पार्टीको विधानअनुसार भातृसंगठनलाई गठन तथा विघटन गर्न नपाइने भएपछि महामन्त्री राईले स्वेच्छाचारिढंगले जिल्ला संघ विघटन गरेको उनको भनाई थियो । ‘पार्टी र भातृसंस्थालाई विधि विधान र प्रक्रियाबाट हिडाउन तथा स्वेच्छाचारी, चाकडी चाप्लुसी प्रवृत्तिलाई मेटाउन महामन्त्रीबाट गरिएको गलत कदमको विरोध गर्दै हामीले सच्याउन र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति, अनुशासन विभाग, जनजाति विभाग र संघको केन्द्रीय समितिमा पत्र पठाइसकेका छौं’–सचिव राईले भने ।
तदर्थ समितिका सचिव प्रेमकुमार राईले भने केन्द्रीय समिति र सभापतिबाट नै नन्दराज राईलाई अधिवेशन गराउने संयोजक तोकेको पत्र आइसकेकोले आफुहरु नै आधिकारिक रहेको बताए । संघको ब्यानरमा अन्य व्यक्तिहरुले कुनै पनि गतिविधि गर्न नपाउने उनका भनाई थियो । ‘केन्द्रीय समितिबाट पटक पटकको समयसिमाभित्र अधिवेशन हुन नसकेपछि पुरानो समिति भंग गरेर तदर्थ समिति विधानसम्मत गठन गरेको पत्र प्राप्त भएको छ, त्यसैले आधिकारिक तदर्थ समिति नै हो’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे