पोर्चुगलमा पाएको टिप्सको रकम समाजिक काममा


धरान । विदेशमा काम गर्दा ग्राहकबाट टिप्स्वापत बर्षभरी पाएको पैसालाई धराने एक युवाले सामाजिक कार्यमा खर्चिएका छन् । हाल पोर्चुगलमा कार्यरत धरान १५ का अरुण राईले टिप्स् वापतको रकम अभिभावकविहिन बालबालिकाहरुलाई सहयोग पठाएका हुन् ।
राईले बर्षभरि टिप्स्वापत संकलन भएको नगद ७५ हजार उनका साथी दिपक थापा मगरमार्फत सहयोग गरेका हुन् । धरान ११ की सीता देवानले विभिन्न कारणले अभिभावकले त्यागेका १६ बालबालिकाहरुको पालनपोषण गर्दै आइरहेकी छिन् । पोर्चुगलमा रहेका राईले पठाएको रकममध्ये नगद ६१ हजार र १४ हजार बराबारको न्यानो स्वीटर, टोपी, चामल, तेललगायत सामग्रीलाई मगरले शनिबार हस्तान्तरण गरे ।
मगरका अनुसार अध्ययनतर १५ जना बालबालिकाको बार्षिक पढाई खर्च जनही ५ हजारको दरले ६० हजार प्रदान गरिएको हो भने सामाग्री खरीदमा १४ हजार खर्च भएको र उब्रिएको एक हजार पनि थप गरेर नगद दिइएको हो । ‘अरुण यही हुदा पनि सामाजिक काममा रुचि राख्थ्यो, पोर्चुगल गएदेखि नै बर्षभरि जम्मा गरेको टिप्स् सामाजिक कामको लागि पठाउन थालेको हो’–अरुणबारे उनका साथी मगरले भने–‘गएको बर्ष पनि ६५ हजार जति चतराको वृद्ध आश्रममा सहयोग दिएको थियो ।’ उनका अनुसार अरुण विदेशिएको दुई बर्ष जति मात्र भएको छ ।
धरान ११ का देवान परिवारले विगत १० बर्षदेखि अभिभावकविहिन बालबालिकाहरुलाई आफ्नै घरमा संरक्षण दिदै आएको छ । हाल ६ बर्षदेखि १८ बर्षसम्मका १६ बालबालिकाहरु छन् । उनीहरु युकेजीदेखि कक्षा १० सम्म अध्ययनतर छन् । आफ्नै र मनकारीहरुको सहयोगबाट ती बालबालिकाहरुको पालनपोषण भइरहेको देवानले बताइन् । ‘५, ६ बर्षअघिसम्म हामीलाई हुर्काउन बढाउन धेरै समस्या थियो, अहिले उहाँहरुजस्तो मनकारी आएर बेला बेला सहयोग गरिदिनुहुन्छ र सजिलो भएको छ’–उनले भनिन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे