रेयुकाईको कार्यालयमा युवा संघद्धारा तालाबन्दी
धरान । गैरकानुनीरुपमा करोडौंको चलअचल सम्पत्ति बिक्री गर्न लागेको विरोधमा उत्रिएका एमाले निकट युवा संघ नेपालले धरान १५ स्थित युरासिया रेयुकाई नेपालको भवन एवं कार्यालयमा तालाबन्दी गरेको छ । भुमाफियासँगको मिलेमतोमा धरानसहित विभिन्न स्थानको सम्पत्ति बिक्री गर्न टेण्डर गरेको रहस्य खुलेपछि गैरसरकारी संस्थाको सम्पत्ति सरकारीकरण गर्नुपर्ने माग गर्दै संघले धरानस्थित भवनमा ताला लगाएको हो ।भवनसहितको जग्गाको लिलामी प्रक्रिया तत्काल रोकेर संस्थाको सम्पत्तिलाई सरकारीकरण गर्न संघले नेपाल सरकार एवं सरोकारवाला निकायलाई आह्वान पनि गरेको छ । संघका केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इञ्चार्ज ज्ञानदिप लिम्बुको नेतृत्वमा गएको युवाहरुले कार्यालय र भवन प्रवेश गर्ने मुल गेटमा नै तालाबन्दी गरेको छ । संस्थाको सम्पत्ति सरकारीकरणको पक्षमा आन्दोलित स्थानीयबासीले पनि संघलाई साथ दिएको थियो । स्थानीयबासीले यसअघि नै एक समिति बनाएर उपमहानगरपालिका, मालपोत, जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायमा ज्ञापन पत्र बुझाउदै बिक्री प्रक्रिया रोकेर सरकारीकरण गर्न माग गरेको थियो । संघले पनि पुष १६ गते संस्थाको भवनमा ब्यानर राख्दै गैरकानुनीरुपमा बिक्री नगर्न चेतावनी दिएको थियो ।
आर्थिकरुपमा टाट पल्टिएको भन्दै युरासिया रेयुकाईको केन्द्रीय कार्यालयले विभिन्न स्थानको जग्गा एवं जग्गासहितको भवन बिक्रीको लागि बोलपत्र आह्वान गरेको थियो । ‘यो सम्पत्ति जनता र सरकारको हो, यसलाई व्यक्तिगत सम्पत्ति सरह किनबेच गर्न पाइदैन । सरकारीकरण हुनैपर्छ भनेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन संघले दोस्रो चरणमा तालाबन्दी गरेको हो’–संघका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज लिम्बुले भने–‘यहाँका सबै राजनीतिक दल, युवा र नागरिक समाजले पनि यो अभियानमा साथ दिन आह्वान गर्छु ।’ संघका नगर अध्यक्ष राजेन्द्र राईले संस्थाको सम्पत्ति किनबेच रोक्न र सरकारीकरण गराउन कानुनी प्रक्रिया अवलम्बन गरिने बताए । उनका अनुसार स्थानीयबासीसँग मिलेर अदालतमा जाने तयारी भइरहेको छ । स्थानीयबासीले गठन गरेको संघर्ष समितिका संयोजक पदम कार्कीले पनि कानुनी प्रक्रियामा जान लागेको खुलाउदै साथ दिन सबैमा आग्रह गरे ।
युरासिया रेयुकाईको धरान १५ मा ५ कठ्ठा जग्गासहित २ तले पक्की भवन छ । यो भवनलाई रेयुकाईले सामाजिक विकास केन्द्रको नाममा सञ्चालन गरिरहेको छ । आर्थिकरुपमा टाट पल्टिएको भन्दै युरासिया रेयुकाईले धरानसहित काठमाण्डौं, बाँके, सिद्धार्थनगर र भक्तपुरमा रहेको घर, जग्गा बिक्री गर्ने तयारी गरेको छ । यी सबै स्थानको सम्पत्तिको मुल्य ३५ करोड भन्दा बढीको रहेको आँकलन गरिएको छ । विश्व शान्ति फैलाउने उद्देश्य लिएको युरेसिया रेयुकाई जापानी संस्था हो । द रेयुकाई नेपालको नाममा शुरुवात भएपनि पछि उक्त संस्थालाई युरासिया रेयुकाईमा गाभेका थिए । जानकारहरुका अनुसार दुई गैरसरकारी संस्था एक अर्कामा गाभ्नै पाइदैन । युरासिया ललितपुर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता भएको छ ।धरानस्थित १९ आंै शाखा जिल्ला प्रशासन कार्यालय सुनसरीमा छुट्टै दर्ता भएपनि पछि विभिन्न प्रपञ्च गरेर यहाँको घरजग्गालाई केन्द्रीय कार्यालय मातहत बनाइएको थियो । रेयुकाईलाई युरासियामा गाभेपछि विवाद चर्किएर यसका सदस्य संख्या ह्वातै घट्यो भने अनुदान पनि आउन छोडेपछि आर्थिकरुपमा यो संस्था धरासायी हुन पुगेको थियो । धरानस्थित कार्यालयमा हाल समाज विकास केन्द्रका संयोजक भीमबहादुर बस्नेतसहित २ जना कर्मचारीले रेखदेख गरिरहेका छन् । डिसेम्बर ३१ देखि आफुहरु जिम्मेवारीमुक्त भएपनि केन्द्रीय कार्यालयको आग्रहमा भवन हेर्न बसेको उनले बताए । उनका अनुसार द रेयुकाई नेपाल र युरेसिया रेयुकाईको दाता एउटै भएकोले रेयुकाईलाई युरेसियामा गाभिएको थियो । जापानको ८ औं शाखाबाट सहयोग पाउदै आएपनि विगत ३ बर्षदेखि आउन छोडेको छ ।




Comments
Post a Comment