युरासिया रेयुकाईको हिसाब किताब पारदर्शी नगरे युवा संघले फेरि तालाबन्दी गर्ने


धरान । युरासिया रेयुकाई नेपाल नामको संस्थाले करोडौंको चलअचल सम्पत्ति सुटुक्क बेच्न लागेपछि विरोधमा उत्रिएको युवा संघ नेपालले संस्थाको आर्थिक कारोबारको प्रतिवेदन पारदर्शी गर्न माग गरेको छ । संस्थालाई के कति कार्यको लागि यतिका ठुलो आर्थिक आवश्यकता परेको भन्ने खुलाउनुपर्ने माग गर्दै संघले संस्थाको सम्पत्ति सरकारीकरण गर्न थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
संघको क्षेत्रीय कमिटि र धरान उपमहानगर कमिटिले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै संस्थाको आर्थिक आवस्था एवं कारोबार पारदर्शी गर्न माग गरेको हो । आर्थिक पारदर्शीता नगरे पुनः धरानस्थित भवनमा तालाबन्दी गर्ने संघले चेतावनी पनि दिएको छ । ‘संस्थालाई आफ्नो सम्पत्ति नै बिक्री गर्नुपर्ने गरी करोडौं सम्पत्ति किन आवश्यक पर्यो, आर्थिक पारदर्शीता गर्न पनि हामी माग गर्दछौं’–संघका उपमहानगर अध्यक्ष राजेन्द्र राईले भने । संघले यसअघि पुष २२ गते बिक्री प्रक्रिया रोक्न माग गर्दै धरान १५ स्थित युरासियाको भवनमा तालाबन्दी गरेको थियो । पछि प्रशासनबाट चर्को दबाब आएपछि संघले चाबी इलाका प्रशासन कार्यालयलाई बुझाएको थियो । प्रशासनले ताला खुलाइसकेको छ ।
संघले आन्दोलन गर्नुअघि नै स्थानीयबासीले एक समिति नै बनाएर गैरसरकारी संस्थाको सम्पत्ति सरकारीकरण गर्न माग गर्दै विभिन्न सरकारी निकायमा निवेदन दिइसकेका थिए । संघका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज ज्ञानदिप लिम्बुले केन्द्रीय कार्यालयमार्फत गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालयमा पनि कावाहीको निमित्त प्रक्रिया अघि बढाउन अनुरोध गरिने जानकारी दिए । ‘सबै राजनीतिक दलहरुका युवा संगठनसँग मोर्चाबन्दी र आन्दोलनको लागि आह्वान गर्ने, नागरिक समाजसँग समन्वय गरेर यस मुद्दालाई उठान गर्ने र वृहत हस्ताक्षर अभियान गर्ने पनि निर्णय गरिएको छ’–उनले भने ।
युरासिया रेयुकाईको केन्द्रीय कार्यालयले धरानसहित विभिन्न स्थानको जग्गा एवं जग्गासहितको भवन बिक्रीको लागि बोलपत्र आह्वान गरेको थियो । युरासियाको धरान १५ मा ५ कठ्ठा जग्गासहित २ तले पक्की भवन छ । युरासियाले धरानसहित काठमाण्डौं, बाँके, सिद्धार्थनगर र भक्तपुरमा रहेको घर, जग्गा बिक्री गर्ने तयारी गरेको छ । यी सबै स्थानको सम्पत्तिको मुल्य ३५ करोड भन्दा बढीको रहेको आँकलन गरिएको छ । विश्व शान्ति फैलाउने उद्देश्य लिएको युरेसिया रेयुकाई जापानी संस्था हो । द रेयुकाई नेपालको नाममा शुरुवात भएपनि पछि उक्त संस्थालाई युरासिया रेयुकाईमा गाभेका थिए । युरासिया ललितपुर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता भएको छ । 



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे