बुढासुब्बा गोल्डकप फागुन ८ देखि

धरान । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको १८ औं सँस्करण फागुनको दोस्रो साता हुने भएको छ । आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ८ देखि १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ ।
संविधान जारीपछि उत्पन्न असहज परिस्थितिले गोल्डकप आयोजना गर्नु चुनौतिपुर्ण भएपनि खेलप्रेमी धराने जनताको साथ, सहयोग पाएर सफल बनाउने अपेक्षा लिएको एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका क्लबका अध्यक्ष किसोर राईले बताए । पत्रकार सम्मेलनमा तीन विदेशीसहित १० टिमले सहभागीता जनाउने सम्भावित टिमको नाम पनि क्लबले सार्वजनिक गरेको छ । क्लबका अनुसार सम्भावित टिममा सशस्त्र प्रहरीको एपिएफ, मनाङ मस्र्याङ्दी क्लब(एमएमसी), सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, आयोजकको धरान फुटबल क्लब र पोखरा ११ रहेको छ भने आमन्त्रित टिमको रुपमा भुटान टिम, धनमुन्दी क्लब वंगलादेश र भारतीय ए डिभिजन क्लब रहने आयोजकको भनाई छ ।
‘भुटानबाट राष्ट्रिय टिम नै सहभागी गराउने हरसम्भव प्रयास भइरहेको छ, भारतको पनि आइलिगको कुनै एक टिमलाई ल्याउन प्रयास गरिरहेका छौं’–अध्यक्ष राईले भने । भुटान र भारतीय फुटबल संघसँग क्लबले औपचारिक पत्राचार गरेको पनि उनले खुलाए । आयोजकले यसपटक प्रतियोगिताको पुरस्कार राशीमा पनि वृद्धि गरेको जनाएको छ । प्रथम पुरस्कार राशी वृद्धि गरेर ४ लाख र दोस्रो पुरस्कार २ लाख पुर्याइएको छ । गत सँस्करणमा प्रथम र दोस्रो पुरस्कार राशी क्रमशः ३ लाख ५० हजार र १ लाख ७५ हजार थियो । यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल पाउने छ भने सर्वाधिक गोलकर्तालाई नगद २१ ह्जार दिइनेछ । यसैगरि, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र प्रशिक्षकले जनही नगद ११ हजार दिइने पनि क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा ५६ लाख २५ हजार आय हुने अनुमान क्लबले गरेको छ भने ५० लाख ६ हजार खर्च हुने अनुमान छ । धरान उपमहानगरपालिका संयोजक रहेको गोल्डकपको मुख्य प्रायोजक रेडबुल(जिबि मार्केटिङप्रालि) हो । प्रतियोगिता सम्पन्न गर्न नरेन्द्र चोङबाङको संयोजक रहेको आर्थिक समिति, सतिश केसी संयोजक रहेको मैदान मर्मत समिति, प्रताप तामाङ संयोजक रहेको प्रचार प्रसार समिति, अशोक राई संयोजक रहेको टिम व्यावस्थापन र इन्द्र थापा मगर संयोजक रहेको यातायात व्यवस्थापन समिति गठन गरिसकेको क्लबले जनाएको छ ।
.....................

                                 एन्फाले असयोग गरेको आरोप

क्लबका अध्यक्ष राई आफै एन्फाको केन्द्रीय उपाध्यक्ष भएपनि यसअघिका २ सँस्करणदेखि नै एन्फाबाट गोल्डकपलाई पुर्णरुपमा असहयोग हुदै आएको छ । उपाध्यक्ष राईसहितको एक टिमले हालै फिफाबाट कारबाहीमा परेका एन्फा अध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टचारको मुद्दा उठाएपछि पुर्वाग्रही बन्दै बुढासुब्बा गोल्डकपलाई सहयोग नभएको हो । फुटबल गतिविधि एवं प्रतियोगिताहरुलाई एन्फाले प्रत्यक्ष सहयोग र प्रोत्साहन दिनुपर्नेमा थापाको विरोध गरेकै कारण बुढासुब्बा गोल्डकपले सहयोग नपाएको अध्यक्ष राईले बताए । ‘विगत १८ बर्षदेखि निरन्तर हुदै आएको यो मात्रै एक प्रतियोगिता हो, यसलाई झन् धेरै सहयोग गर्नुपर्नेमा २ बर्षदेखि एक रुपैया पनि एन्फाबाट पाएका छैनौं । हामीले शुद्धिकरण अभियान थालेपछि एन्फा बुढासुब्बा गोल्डकपप्रति पनि पुर्वाग्रही भयो’–उनले भने ।
उनका अनुसार विगतको दुई सँस्करणमा क्लबले एन्फाबाट डेढ लाखको दरले सहयोग पाउने अपेक्षा गरेको थियो । यसबर्ष पनि २ लाख बजेट सहयोग पाउने क्लबको अपेक्षा छ । ‘यो बर्ष पनि अनुमान मात्रै गरेका हौं, २ बर्षदेखि बजेट नपाए पनि आश छोडेका छैनौं’–उनले भने । एन्फाले सहयोग नगरेपनि युुवराज लामा सदस्य सचिव हुदा राखेपले एक लाख रुपैया दिएको भन्दै उनले आभार जनाए । यो बर्ष पनि नयाँ सदस्य सचिव केशव विष्टले ५ लाख रुपैया विनियोजन गरिदिएकोमा उनले खुुशी जनाए ।
निरन्तरको घाटा र वर्तमान असहज परिस्थितिले गोल्डकप आयोजना गर्नु कठिन भएपनि प्रतिष्ठा एवं निरन्तरताको लागि प्रतियोगिता गर्न लागेको उनको भनाई छ । ‘क्लबलाई ७, ८ लाख घाटा छ, यो पटक गोल्डकप स्थगन गर्ने मनस्थितिमा पुगिसकेका थियौं तर प्रतिष्ठा र निरन्तरताको लागि मात्र गर्ने निर्णयमा पुग्यौं । एक पटक रोकियो भने फेरि उठ्न गाह्रो हुन्छ’–उनले भने । ०५५ सालदेखि शुरु भएको गोल्डकप कुनै बर्ष पनि रोकिएको छैन ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे