हङकङबाट गोधुली रनिङ कपलाई सहयोग


धरान । यहाँ जारी १६ औं अन्तर वडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ्ग कप फुटबल प्रतियोगितालाई हङकङमा बसोबास गरिरहेका नेपालीले करिब डेढ लाख बराबार भौतिक एवं खेल सामग्री सहयोग गरेका छन् । धरान १७ समाज हङकङको पहल तथा समन्वयमा जारी प्रतियोगिताको विभिन्न पुरस्कार ट्रफी, मेडल र फुटबल सहयोग प्राप्त भएको हो ।
प्रतियोगिताको उपविजेता ट्रफी न्यु केटिम भिसिडि स्टोर हङकङका नेत्र बेघाले सहयोग गरेका छन् भने वेष्ट प्लेयरको ट्रफी सिएनटि सुपरभाईजर कमल राईले प्रदान गरेका छन् । यस्तै, वेष्ट गोलकिपरको ट्रफी खोटाङ सममाज हङकङका अध्यक्ष अधिराज राई(प्रकाश)ले दिएका छन् भने हाई स्कोररको ट्रफी पोखरा स्पोर्टस् क्लबका ओम गुरुङले सहयोग गरेका छन् । यसैगरि म्यान अफ दि म्याचको ट्रफी शान्तो होम धरान ८ र राईजिङ प्लेयरको ट्रफी ढोरपाटन वाग्लुङ(हाल हङकङ)का गोपालबहादुर घर्तीले प्रदान गरेका छन् ।
सहयोग जुटाउन पहल गर्ने धरान १७ समाज हङकङले विजेता र उपविजेतालाई दिइने मेडल सहयोग गरेको छ भने ६ वटा वल पनि आयोजक गोधुल क्लबलाई उपलब्ध गराएको छ । सहयोग स्वरुप प्राप्त सामग्रीलाई शुक्रबार एक कार्यक्रमबीच धरान १७ समाज हङकङका प्रतिनिधि नारद राईले क्लबका अध्यक्ष देशकुमार राईलाई हस्तान्तरण गरेका थिए । यो सहयोगले धरानमा राम्रा खेलाडी उत्पादनमा योगदान पुर्याएको पुरानो मध्येको एक प्रतियोगितालाई निरन्तरता दिलाउन मद्दत पुग्ने क्लबका अध्यक्ष राईले बताए । समाजका प्रतिनिधि राईका अनुसार करिब डेढ लाख बराबरको सहयोग प्राप्त भएको छ ।
खेलप्रेमी पुष २५ गतेदेखि जारी प्रतियोगिताको फाइनल शनिबार हुदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा उपाधिको लागि शनिबार धरान वडा नम्बर १९ र वडा नम्बर ११ फाइनलमा भिड्दैछन् । वडा १९ ले सेमीफाइनलमा धरान १७ लाई ३–२ गोलअन्तरले हराउदै फाइनल स्थान सुरक्षित गरेको थियो भने वडा ११ ले वडा १३ लाई ४–१ गोलले पन्छाउदै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले नगद ५० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ३० हजार पाउनेछ । यस्तै, व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगद १० हजार, हाई स्कोरलाई नगद ५ हजार, उदयीमान खेलाडीलाई नगद ५ हजार, फाइनल खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय र फेयर प्ले टिमलाई नगद ५ हजार दिइनेछ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे