विदेशबाट फर्किएर गाउँमै माछापालन

सुनसरी(मधुवन) । मधुवन ७, शुक्रबारेका अशोक राई परिवारलाई सुख दिलाउनको लागि मलेसिया र कतारमा ६ बर्षभन्दा बढी बसे । तर, उनले सोचेजस्तो कमाउन सकेनन् । निराश भई उनी सन् २०१० मा घर फिरे । दुई बर्ष डुलेरै बित्यो ।
गाउँमा माछा पालनको लहर चलेको थियो । सप्तकोशीमा बाँध निर्माण गर्न उहिल्यै माटो निकाल्दा खेतमा ठुल्ठुला खाल्डाखुल्डी थियो । उनी पनि माछापालनतर्फ आकर्षित भए । चार बर्षअघिदेखि माछापालनमा होमिएका राई अहिले घरमा बसेरै लाखौं आम्दानी मात्रै गरिरहेका छैनन्, जिल्लामा उत्कृष्ट कृषकको परिचय पनि बनाएका छन् । चार बर्षअघि कसैबाट हजार रुपैया पनि ऋण नपत्याउने उनी अहिले लाखौंको विश्वास जितेका छन् ।  
माछापालन शुरु गर्दा ३० हजार लगानी गरेका थिए । यो पैसा जुटाउन पनि उनलाई हम्मे परेको थियो । तीस हजार खर्च गरेर खाल्डाखुल्डीलाई पोखरीको आकार दिएका थिए भने पोखरीमा माछा उधारोमा ल्याएर हालेका थिए । अहिले माछापालनके आम्दानीले राम्रोसँग घर व्यावहार चलेको छ । इटहरीमा बुबासँग मिलेर घर पनि ठड्याईसकेका छन् । छोरो बिग्रियो भनेर कुनै बेला चिन्तित हुने आमा बुबाको मुहार उज्यालिएको छ । ‘विदेशमा गएको भन्दा धेरै राम्रो कमाई गरिरहेको छुँ, घरपरिवार राम्रोसँग चलेको छ । छोराछोरीको भविष्य पनि यसैले बन्दैछ’–खुशी हुदै उनले भने–‘गर्न जानियो भने यही सबथोक हुने रैछ, विदेश गइरहनै नपर्ने रहेछ । अहिले सबै खुशी हुनुहुन्छ ।’
उनको पौने २ बिघा जग्गामा ३ वटा पोखरी छ । ती पोखरीमा रौ, नैनी, बिगहेड, कमन, सिल्भर, ग्रासलगायत विभिन्न जातका माछा छ । व्यापारीहरु माछा किन्न पोखरीमै आइपुग्छन् । तीन तीन महिनामा पोखरीबाट माछा निकाल्छन् । बर्षमा कम्तीमा ५ लाख रुपैया माछा बचेर चोखो आम्दानी भइरहेको छ । माछासँगै उनले लोकल जातको वंगुरपालन पनि गरेका छन् । वंगुर र माछा दुवैबाट भने बर्षीक ९ लाख बढी आम्दानी हुने गरको अशोक बताउछन् ।
मेहनत र लगनले गर्दा छोटो समयमा उनले गरेको प्रगति लोभलाग्दो छ । उनको मेहनतको कदर गर्दै करिब २ महिनाअघि मात्र उनले माछा र वंगुरपालनमा जिल्लाको उत्कृष्ट कृषकमा छानिएर नगद १० हजारसहित राष्ट्रपति पुरस्कार पाए । यस्तै, इटहरीमा प्रधानमन्त्री केपी शर्माओलीको हातबाट पनि उनी सम्मानित भइसकेका छन् । ‘लाहुरेको छोरो मात्तिएर ब्रिगिएको भन्थे । विदेश गएर पनि केही गर्न सकेको थिइन । यो परिचय, सम्मान यही पेशाले नै दिलाएको हो’–उनी सन्तुष्टि व्यक्त गर्छन् ।

 तीन गाविसले ९ महिना आत्मनिर्भर

सुनसरीको लक्षिण पश्चिम तीन गाविस प्रकाशपुर, मधुवन र पश्चिम कुशाहामा व्यावसायिक माछापालन फष्टाएको छ । यहाँको माटो कोशीमा बाँध बनाउन प्रयोग गरेकोले धेरै खाल्डाखुल्डी भई प्रयोगविहिन थियो । स्थानीयले त्यही खाल्डाखुल्डीलाई पोखरीकोरुप दिएर माछापालन शुरु गरेका थिए । कृषकहरुका अनुसार ०४८ सालमा मधुवनमा मात्र २ वटा पोखरी थियो । ०५० सालमा जिल्ला कृर्षि विकास कार्यालयले बैंकबाट ऋण दिलाए पछि माछापालन अभियान शुरु भएको थियो भने ०६४ सालदेखि मात्रै माछापालन व्यावसायिकरण हुनसकेको माछापालन कृषक संघका जिल्ला सचिव वलराम माझी बताउछन् ।
उनका अनुसार ०६४ सालदेखि मात्रै माछापालनबाट पनि मनग्ये आम्दानी हुन्छ भन्ने सोच पलाएको हो । त्यसयता तीन गाविसमा १ सय ४० हेक्टर क्षेत्रफलमा माछापालन भइरहेको छ भने प्रतिहेक्टर ५ मेट्रिक टन माछा बार्षिकरुपमा उत्पादन भइरहेको छ । प्रतिकट्ठा २ मेट्रिक टनसम्म पनि माछा उत्पादन भइरहेको छ । विगतमा ४ महिनामात्रै माछामा आत्मनिर्भर रहेको सुनसरी जिल्लामा अहिले यहीको उत्पादनले ९ महिना माछामा आत्मनिर्भर बनाएको कृषकहरुको भनाई छ । ‘अहिले ९ महिनासम्म यहीको माछाले बजारको माग धानेको छ । विदेशबाट फर्मालिन हालेको माछालाई विस्तारै विस्थापित गर्दैछ’–कृषक संघका सचिव माझीले भने । यहाँको माछालाई खाद्य मल प्रयोग नगरिएकोले अग्र्यानिक हुने उनले बताए ।
कृषकहरुले रौ, नैनी, सिल्भर, बिगहेड, कमन्स, ग्रास, टिलपियालगायत विभिन्न ८ किसिमका माछापालन गरेका छन् । संघका अनुसार तीन गाविसमा एक सय ६२ जना कृषकहरु माछापालनमा प्रत्यक्ष संलग्न छन् । ती किसानहरुको यी गाविसमा ५ वटा समुह पनि छ । बजारमा अग्र्यानिक माछाको माग उच्च भएपनि माग वमोजिम पुर्याउन नसकिएको कृषकहरुको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे