धरानमा बन्यो उत्कृष्ट सेन्थेटिक ब्याडमिन्टन कोर्ट

धरान । स्थानीय खेलाडी र प्रहरीको संयुक्त प्रयासमा धरानमा राष्ट्रिय एवं अन्र्तराष्ट्रियस्तरको स्पर्धासमेत गराउन सकिने ब्याडमिन्टन हल तयार भएको छ । धरान १३ स्थित पुर्व क्षेत्रीय प्रहरी बहुउद्देश्यीय भवन(हल)मा सुविधायुक्त ब्याडमिन्टन कोर्ट बनेको हो ।
भुईमा ‘सेन्थेटिक रबर’ प्रयोग गरेको ब्याडमिन्टन कोर्ट पुर्वमा यही नै पहिलो हो । अन्यत्र पनि उड(काठ) र म्याट प्रयोग गरेको कोर्ट मात्रै भएको खेलाडी एवं प्रशिक्षकहरुको भनाई छ । यहाँ ९ लेयरको रबर प्रयोग भएको छ । पैतिस लाख बढी खर्च भएको कोर्टमा सबैभन्दा धेरै लगानी खेलाडी र प्रहरीको छ । यही कोर्टमा अहिले १२ औं दक्षिण एसियाली खेलकुद(साग)को लागि छनौट भएका १४ खेलाडीहरु बन्द प्रशिक्षणमा छन् । ‘यहीका खेलाडीहरुबाट आजिवन सदस्यता र साधारण सदस्यता बनाएर रकम संकलन गर्यौं, निर्माणमा प्रहरीको पनि लगानी छ, प्रहरीको जनशक्ति खटियो’–भेट्रान खेलाडी एवं भवन सञ्चालक समितिका अध्यक्ष गणेश राईले भने–‘अहिले खेलाडीहरुलाई धेरै सुविधा भएको छ, यहाँ राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरको खेल पनि गराउनसक्ने भएको छ ।’
यो भवन कोशी अञ्चल प्रहरी कार्यालयसँगै रहेको तत्कालीन दिपेन्द्र प्रहरी आवासिय मावि हातामा ०६१ सालमा निर्माण भएको थियो । विद्यालयको नाममा रहेको भवनमा एउटा मात्रै कोर्ट थियो भने भुुईमा सिमेन्टको प्लाष्टर थियो । जसले खेलाडीहरुलाई खेल्न धेरै पालो कुर्नुपर्ने बाध्यता थियो । यो अवस्था देखेपछि अञ्चल प्रहरी प्रमुख एसएसपी एवं पुर्वराष्ट्रिय खेलाडी ज्ञानबिक्रम शाहले हललाई अन्र्तराष्ट्रियस्तरको बनाउन पहल थालेका थिए । उनी हाल सरुवा भएर गइसकेका छन् । हलमा स्थानीय एवं खेलाडीहरुको पनि पहुचमा पुर्याउन विद्यालयबाट प्र्रहरीको नाममा बनाइएको छ ।
स्तरोन्नति गरिएको भवनभित्र बाल्कोनीमा भिआइपी प्याराफिटसमेत बनाइएको छ । एउटा कोर्टमा सिमित भवनको क्षेत्र विस्तार गरेर दुई वटा कोर्ट बनाइएको छ । अहिले विगतमा जस्तो खेलाडीहरुले घण्टांै पालो कुर्न पर्दैन । धरानमा ब्याडमिन्टन कोर्ट भएका थप ५ वटा कवर्ड हल भए पनि तिनमा एउटा मात्र कोर्ट छ । खेलाडीहरुलाई क्यान्टिन र पार्किङ सुविधा थपिएको छ भने भविष्यमा जिम हल र बाथरुम सुविधा पनि थपिने समितिका अध्यक्ष राईले बताए । उनका अनुसार जिम हलको लागि कोठा तयार भएपनि बजेट अभावले सामानहरु राख्न बाँकी छ । महिला र पुरुषको लागि छुट्टै बाथरुमको काम पनि थाती नै छ ।
धरानमा स्वास्थ्य एवं फिटनेश रहनको लागि ब्याडमिन्टन खेल्ने युवा र पाका(भेट्रान)हरुको संख्या बढ्दो छ । सय भन्दा बढी खेलाडी छन् । भवन बनाउन १७ जना आजिवन सदस्यहरुले २५ हजारको दरले सहयोग गरेका छन् भने १८ जना साधारण सदस्यहरुले ३ बर्षको एकमुष्ठ १० हजार ५ सय बुझाएको अञ्चल प्रहरी कार्यालयका एसएसपी पवनप्रसाद खरेलले जानकारी दिए । भवन निर्माणको क्रममा ५० हजारको दरले सापट दिएका खेलाडीहरु राजेश वर्मा, राजेश श्रेष्ठ र गणेश राईले त मिनाहा नै गरिदिए । धरान उपमहानगरपालिकाले पनि ७५ हजार दिएको छ । राष्ट्रिय खेलकुद परिषदमा निरन्तर पहल गरिरहे पनि हालसम्म बजेट भने दिएको छैन ।
नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य शेखर लामाका अनुुसार पुर्वकै उत्कृट ब्याडमिन्टन हल तयार भएकोले सातौं राष्ट्रिय खेलकुद धरानमा आयोजना गर्न पहल हुनेछ । सेन्थेटिक कोर्टमा प्रशिक्षण लिएका एवं खेल्ने अवसर पाएका खेलाडीहरुको प्रर्दशन अन्र्तराष्ट्रिय प्रतियोगिता पनि राम्रो हुने उनको भनाई छ । ‘नेपालमा हार्ड कार्टमा खेलेका हुन्छौं, विदेशतिर म्याटमा खेल्नुपर्छ, त्यसले गर्दा खेलको स्तर नै मिल्दैन’–उनले भने–‘यति राम्रो कोर्ट छ, सातौं खेलकुद यहाँ खेलाउन पाउदा खेलाडीको पनि स्तरवृद्धि हुन्छ ।’ राखेपले सातौं खेलकुदअन्र्तगत ब्याडमिन्टन खेल झापाको काकडभिट्टामा गर्ने निर्णय गरेको छ भने क्षेत्रीय छनौट धरानमा गर्ने भनिए पनि हाल इटहरीमा गर्ने भनिएको छ ।
....................

                                सागको बन्द प्रशिक्षण धरानमा

माघ तेस्रो साता भारतमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुद(साग)को लागि छनौट भएका ब्याडमिन्टनका १४ खेलाडीहरु बन्द प्रशिक्षणको क्रममा धरानमा छन् । तीन प्रशिक्षकसहित ७ महिला र ७ पुरुष खेलाडीहरु पुष २१ गतेदेखि धरानमा प्रशिक्षणमा ब्यस्त रहेका छन् । उनीहरुको नवनिर्मित धरान १३ स्थित पुर्व क्षेत्रीय प्रहरी बहुउद्देश्यीय भवन(कवर्ड हल)मा बन्द प्रशिक्षण भइरहेको छ ।
सागमा पुरुषतर्फ दिपेश धामी, विकास श्रेष्ठ, रत्नजी तामाङ, नविन श्रेष्ठ, विष्णु कटवालल, सुदिप सेढाई, साजनकृष्ण ताम्राकार र वैकल्पिक खेलाडीकोरुपमा सञ्जिव खड्का छन् । यस्तै, महिलातर्फ सारादेवी तामाङ, नङसल तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेसिका गुरुङ, मेघा चन्द र अनुमाया राई छिन् । उनीहरुलाई मुख्य प्रशिक्षक रजनीमैया जोशी र प्रशिक्षकद्धय जयन्त श्रेष्ठ र मेघराज कठायतले प्रशिक्षण गराइरहेका छन् ।
प्रशिक्षक कठायतका अनुसार गत बैशाखमा गएको भुकम्पले राखेपको भवन चर्किएको र बत्तिको पनि समस्या भएकोले बन्द प्रशिक्षणको लागि धरान आएको बताए । ‘यहाँ राम्रो कोर्ट बनेको रहेछ, त्यसैले पनि यता प्रशिक्षण गर्न आएको । हाम्रो लागि बजेट पनि पर्याप्त छैन, राजधानीमा महंगी छ । यताबाट भारत जान पनि सजिलो हुने भएकोले आएका हौं’–उनले भने । साग आगामी माघ २३ गतदेखि फागुन ४ सम्म भारतमा हुदैछ । नेपालले ब्याडमिन्टनमा नवौं सागदेखि सहभागीता जनाउदै आएको छ । त्यसयता नेपालले निरन्तर महिला र पुरुष टिममा काँस्य पदक जित्दै आएको प्रशिक्षक कठायतले सुनाए । दशौं सागमा भने सुमिना श्रेष्ठले कास्य जितेकी थिइन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे