१६ औं गोधुली कप शनिबारदेखि

धरान । अन्तर वडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ्ग कपको १६ औं सँस्करण यही पुष २५ गतेदेखि शुरु हुने भएको छ । आयोजक गोधुली क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ ।
माघ ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरान उपमहानगरपालिका भित्रका २२ वटा वडाले सहभागिता जनाउने क्लबका अध्यक्ष देशकुमार राईले जानकारी दिए । उनका अनसार २७ वडामध्ये १, २, ५ र २३ वडाले मात्र प्रतियोगितामा भाग लिनेछैन । गत बर्ष २० वटा वडाले भाग लिएको थियो । ‘१६ औं गोधुली रनिङ्ग कप यही पुष २५ देखि माघ ९ गतेसम्म हुदैछ, प्रतियोगिताको सबै तयारी पुरा भइसकेको छ’–पत्रकार सम्मेलनमा अध्यक्ष राईले भने । प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका, मुख्य प्रायोजक रेडबुल, सह प्रायोजक उदय सामुदायिक वन र प्राविधिक सहयोग जिल्ला फुटबल संघ र धरान फुटबल क्लबको रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ३० हजार पाउनेछ । यो पुरस्कार गएको सँस्करणकै निरन्तरता हो । यसपटक पुरस्कार राशी बढाउन प्रयास गरेपनि क्लबको जग्गा खरीद गर्नुपर्ने भएकोले नबढाइएको उपाध्यक्ष सतिश केसीले बताए । प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगद १० हजार, हाई स्कोरलाई नगद ५ हजार, उदयीमान खेलाडीलाई नगद ५ हजार, फाइनल खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय र फेयर प्ले टिमलाई नगद ५ हजार दिइने क्लबले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख ४४ हजार १ सय रुपैया खर्च हुने क्लबको अनुमान छ ।
०५० सालबाट शुरु भएको यो प्रतियोगिता बीचमा ६ सँस्करण हुन सकेको थिएन । पछिल्लो समय ४ बर्षदेखि क्लबले पुनः निरन्तरता दिएको हो । यो प्रतियोगिता धरान हुने मोफसलको चर्चित प्रतियोगिता बुढासुब्बा गोल्डकप(०५४) भन्दा जेठो हो । धरानमा प्रतिभावान खेलाडी उत्पादनमा गोधुली कपको महत्वपुर्ण योगदान रहेको खेल जानकारहरुको भनाई छ ।
...................

                                      तीन बर्षभित्र भवन निर्माण

गोधुली क्लबले आगामी तीन बर्षभित्र आफ्नै भवन निर्माण गर्ने कसरतमा जुटेको छ । क्लबका पदाधिकारीले दिएको जानकारी अनुसार धरान १७ स्थित बीचघोपामा क्लबको नाममा सवा ९ धुर जमिन खरीद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दाता मध्येको धरान हङकङ समाजले रकम पठाएपछि जनवरी अन्तिमसम्ममा उक्त जग्गा क्लबको नाममा आइसक्ने उपाध्यक्ष सतिश केसीले बताए । जग्गा व्यवस्थापन भइसकेपछि भवन निर्माणलाई पनि प्राथमिकता दिइने उनले खुलाए ।
‘जग्गा खोज्न र व्यवस्थापन गर्न नै धेरै समय लाग्यो । जनवरी लास्टमा नामसारी हुदैछ, जग्गा भएपछि भवन निर्माणको लागि धेरै सहयोगी दाताहरु निस्किसक्नुभएको छ’–उनले भने–‘अबको ३ बर्षभित्र क्लबको आफ्नै भवन बनाइसक्ने लक्ष्य लिएका छौं ।’ क्लबले जग्गा खरीद गर्नकै लागि यसपाली आयोजना हुने लागेको १६ औ गोधुली कपको पुरस्कार राशी चाहेर पनि बृद्धि गर्न नसकेको जनाएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे