रेयुकाईको सम्पत्ति गैरकानुनीरुमा बिक्री गर्न लागेको खुलासा

धरान । युरासिया रेयुकाई नेपाल नामको अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाको नाममा रहेको करोडौं मुल्यको घरजग्गा गैरकानुनीरुपमा बिक्री गर्न लागेको खुलेपछि संस्थाको सम्पत्ति सरकारीकरण गर्न माग गर्दै धरानबासी तथा युवाहरु आन्दोलित बनेका छन् । धरान १५ स्थित संस्थाको घरजग्गासहित अन्य शहरमा रहेको चलअचल सम्पत्ति टेण्डर आह्वान गर्दै बिक्री गर्ने प्रक्रिया अघि बढाएपछि लिलामी रोक्न धरानबासीहरु संगठित भएका छन् भने बिहिबार युवा संघ नेपालले पनि संस्थाको भवनमा ब्यानर राख्दै गैरकानुनीरुपमा बिक्री नगर्न चेतावनी दिएको छ ।
सामाजिक तथा गैरसरकारी संस्थाहरु सञ्चालन हुन नसक्ने भए सम्पुर्ण चल, अचल सम्पत्ति सरकारी स्वामित्वमा हुनुपर्ने भएपनि बिक्री गर्न लागेकोले सरकारीकरण गर्न अभियान चलाएको केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इञ्चार्ज ज्ञानदिप लिम्बुले बताए । ‘संस्थाको अस्तित्व समाप्त हुन्छ भने संस्थाको मातहतको सम्पत्ति सरकारीकरण हुनुपर्छ । तर, सिमित कर्मचारीहरुले भु माफियासँग मिलेर बिक्री गर्न लागेको रहेछ । यो काम तत्काल रोकिनुपर्छ र सबै सम्पत्ति सरकारीकरण नभए सशक्त आन्दोलन गछौं’–उनले भने । विदेशी सहयोगमा बनेको भवन र जग्गा गैरकानुनीरुपमा बिक्री हुनबाट जोगाउन माग गर्दै संघले बिहिबार नै इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र धरान उपमहानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएको छ । धरान १५ मा युरासिया रेयुकाईको पाँच कठ्ठा जग्गासहित २ तले पक्की भवन छ । यो भवनलाई रेयुकाईले सामाजिक विकास केन्द्रको नाममा सञ्चालन गरिरहेको छ । आर्थिकरुपमा टाट पल्टिएको भन्दै युरासिया रेयुकाईले धरानसहित काठमाण्डौं, बाँके, सिद्धार्थनगर र भक्तपुरमा रहेको घर, जग्गा बिक्री गर्ने तयारी गरेको छ । यी सबै स्थानको सम्पत्तिको मुल्य ३५ करोड भन्दा बढीको रहेको आँकलन गरिएको छ ।
संस्थाले आफ्नो चलअचल सम्पत्ति बिक्रीवितरण गर्नुपुर्व समाज कल्याण परिषदबाट स्वीकृति लिनुपर्ने प्रावधान भएपनि युरेसियाले भने स्वीकृति नलिएको परिषदका उपनिर्देशक सञ्जयकुुमार मल्लिकले बताए । ‘रेयुकाईले आफ्नो नाममा रहेको घरजग्गा बिक्री गर्न स्वीकृति लिएको छैन, त्यसो गरेको हो भने कानुनअनुसार कार्वाही हुन्छ’–उनले भने । विश्व शान्ति फैलाउने उद्देश्य लिएको युरेसिया रेयुकाई जापानी संस्था हो । द रेयुकाई नेपालको नाममा शुरुवात भएपनि पछि उक्त संस्थालाई युरासिया रेयुकाईमा गाभेका थिए । जानकारहरुका अनुसार दुई गैरसरकारी संस्था एक अर्कामा गाभ्न पनि पाइदैन । युरासिया ललितपुर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता भएको छ । धरानस्थित १९ आंै शाखा जिल्ला प्रशासन कार्यालय सुनसरीमा छुट्टै दर्ता भएपनि पछि विभिन्न प्रपञ्च गरेर यहाँको घरजग्गालाई केन्द्रीय कार्यालय मातहत बनाइएको थियो । रेयुकाईलाई युरासियामा गाभेपछि विवाद चर्किएर यसका सदस्य संख्या ह्वातै घट्यो भने अनुदान पनि आउन छोडेपछि आर्थिकरुपमा यो संस्था धरासायी हुन पुगेको थियो ।
युरासिया रेयुकाईले मंसिर ४ गते एक राष्ट्रिय पत्रिकामा धरानसहित अन्य शहरको जग्गा र घर बिक्रीको लागि टेण्डर आह्वानको सुचना निकालेको थियो । यो थाह पाएपछि संस्थाको सम्पत्ति लिलामी हुन नदिन स्थानीयबासीले पदम कार्कीको संयोजकत्वमा एक संघर्ष समिति बनाएर अभियान चलाएका थिए । उनीहरुले उपमहानगरपालिका कार्यालय, मालपोत कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रशासन कार्यालयलगायत निकायमा बिक्री सिफारिश रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । ‘विदेशीले बनाइदिए पनि यो जनताको सम्पत्ति हो, सरकारको हो । यसलाई जोगाउनुपर्छ र सामुदायिक काममा उपयोग गर्नुपर्छ भनेर मन्त्री, यहाँका राजनीतिक दलका नेता, सभासद सबैलाई भेट्यौं । नगरपालिकालाई सिफारिश नगर्नु पनि भन्यौ’–कार्कीले भने ।
धरान १५ स्थित कित्ता नम्बर ७५५९ को ५ कट्ठा जमिनमा दुइ तले पक्की घर छ । यस्तै, काठमाडौं वडा नम्बर ३३ मा रहेको कित्ता नम्बर ९४० को २ रोपनी ८ आना एक पैंसा २ दाम जमिन र उक्त जमिनमा बनेको भवन, मध्यपुर ठिमी वडा १५ मा रहेको १५१ कित्ता नम्बरको एक रोपनी ९ आना एक दाम जमिन, रुपन्देही जिल्लाको सिदार्थनगर वडा १२ मा रहेको ३२५५ कित्ता नम्बरको २ कट्ठा १३ धुर, नेपालगञ्ज वडा १५ मा रहेको २९८ र ३०५ कित्ता नम्बरको एक कट्ठा जमिन बिक्रीको टेण्डर निकालेको थियो । टेण्डर आव्हान गर्दा काठमाडौंको घरजग्गाको दाम २५ करोड, धरानको घरजग्गाको दाम ३ करोड ३० लाख, मध्यपुर थिमीको दाम ३ करोड ५० लाख, सिद्धार्थनगरको २ करोड २० लाख र बाँकेको ६५ लाख रुपैया मुल्य तोकेको थियो । धरानको घरजग्गालाई विनिता नेपालको नाममा ३ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको टेण्डर स्विकृत भइसकेको पनि खुलेको छ । साथै, टेण्डर स्विकृत भएपछि घरजग्गा खरिद गर्न ३५ लाख बढी रकम पनि उनले बुझाईसकेको पनि स्रोतले जनाएको छ ।
युरेसियाको धरानस्थित समाज विकास केन्द्रका संयोजक भीमबहादुर बस्नेतले संस्थाको घरजग्गा बिक्रीबारे आफुलाई थाह नभए पनि बजेट अभावले संस्था सञ्चालन र सामाजिक गतिविधिहरु रोकिएको बताए । ‘अनुदान आउनै छोड्यो । बजेट नभएकोले कुनै काम भएको छैन । अक्षय कोष खडा गरेर संस्था चलाउने भनेर बिक्री गर्न लागेको भन्ने सुनेको छुँ’–उनले भने । द रेयुकाई नेपाल र युरेसिया रेयुकाईको दाता एउटै भएकोले रेयुकाईलाई युरेसियामा गाभिएको उनले जानकारी दिए । जापानको ८ औं शाखाबाट सहयोग पाउदै आएपनि विगत ३ बर्षदेखि आउन छोडेको उनको भनाई छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले ग्रैरसरकारी संस्था(एनजिओ) तथा अन्र्तराष्टिय गैरसरकारी संस्था(आइएनजिओ)ले जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदको स्विकृत विना संस्थाको नाममा रहेको चलअचल सम्पत्ती विक्रि गर्न नपाईने बताए । धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीयले निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर रोक्काको आवश्यक प्रक्रिया गरिदिन र समाज कल्याण परिषदलाई पनि रोक्काको लागि जानकारी गराइदिन भन्दै पत्राचार गरेको बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे