वैकल्पिक उर्जा ब्रिक्रेटको उत्पादन शुरु

धरान । ठुला उद्योग एवं इटा भट्टाहरुमा उर्जाकोरुपमा प्रयोग हुने कोइलाको विकल्पमा धनकुटाको दुर्गम गाउँमा तांखुवा ३, वनचरेमा ब्रिक्रेट उत्पादन शुरु भएको छ । धरान ४ स्थित मकालु जडीबुटी उद्योगले ठुला उद्योगहरुलाई लक्षित गरेर वैकल्पिक उर्जाको रुपमा तांखुवा गाविसमा ब्रिक्रेट उत्पादन शुरु गरेको हो ।
उद्योगले करिब एक करोड लगानीमा मेशिन जडान गरी करिब तीन सातादेखि ब्रिक्रेट उत्पादन थालेको हो । मेशिनबाट ठुलो परिमाणमा ब्रिक्रेट उत्पादन नेपालमै पहिलो पटक शुरु भएको उद्योगको दाबी छ । धनकुटा सदरमुकामदेखि पुर्व रहेको तांखुवासम्म पुग्न कर्मीटारबाट करिब १५ किलोमिटर ट्याक्टर यात्रा गर्नुपर्छ । जडीबुटी उद्योगले करिब ७ बर्षअघि ठुलो परिमाणमा जग्गा खरीद गरेर तांखुवामा बर्षेनी विभिन्न प्रजातिको रुखविरुवा रोप्ने गर्छ । विदेशबाट कोइला आयात गरी सञ्चालन हुने उद्योगहरुलाई लक्षित गरिएको भएपनि मधेश आन्दोलन र भारतीय नाकाबन्दीले गर्दा यो ब्रिकेट घरायसी प्रयोजनमा पनि धेरै उपयोगी भएको उद्योगका सञ्चालक बताउछन् ।
‘विदेशबाट कोइला ल्याएर चल्ने उद्योगहरुलाई विकल्पकोरुपमा यो ब्रिक्रेट उपयोगी हुन्छ, त्यस्ता उद्योगहरुले अब विदेशको कोइलामा भर परिरहनु पर्दैन’–उद्योगका सञ्चालक गोविन्दराम अग्रवालले भने–‘वैकल्पिक उर्जामा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । अहिलेको नाकाबन्दीले गर्दा यो ब्रिक्रेट सर्वसाधारणले भान्सामा पनि उपयोग गर्न सक्छन् ।’ खेर गएको वनस्पतिबाट ब्रिक्रेट तयार गरिने भएकोले यसको धुवाले मानव स्वास्थ्य र वातावरणलाई असर नगर्ने सञ्चालक अग्रवालको भनाई छ । वनजंगल, घरखेत वरीपरी खेर गइरहेको झारपात, झिंक्रा, पराल, धानको भुस, काठको धुलो, वनमारालगायतलाई मेशिनले पेलेर धुलो बनाई ब्रिक्रेटको रुपमा उत्पादन गरिन्छ । यो ब्रिक्रेट मेशिनबाट उत्पादन भएकोले हाल लघु उद्यमकोरुपमा सामुदायिक वनहरुले उत्पादन गरेको ब्रिक्रेटको तुलनामा धेरै खदिलो, गुणस्तरीय, टिकाउ र वातावरणमैत्री भएको सञ्चालकको दाबी छ । ‘उद्योगहरुले चलाउने कोइलाबाट धेरै कार्बनडाईअक्साइड उत्पादन हुन्छ, तर यो ब्रिक्रेटको धुवाले वातावरणलाई असर गर्दैन । उल्टै हावालाई नै शुद्धिकरण गर्छ’–अग्रवालको दाबी छ ।
सञ्चालक अग्रवालका अनुसार उर्जाकोरुपमा कोइला धेरै प्रयोग गर्ने इटा भटा, फर्निसिङ उद्योग, तारे होटल एवं अन्य उद्योग, कारखानालाई यो ब्रिक्रेटले धेरै राहत हुनेछ भने नेपाललाई बैकल्पिक उर्जामा आत्मनिर्भर पनि बनाउनेछ । एलपी ग्याँस नपाएर छटपटिएका गरिब जनतालाई राज्यले सहुलियत एवं अनुदानको व्यवस्था गरेर ब्रिक्रेटजस्तो बैकल्पिक उर्जा उपभोग गर्ने नीति अवलम्बन गर्न आवश्यक भएको अग्रवालले बताए । ‘पंखाजडित एउटा चुलो चाहिन्छ,एक पटक बलेपछि निरन्तर बल्छ र खाना पनि मिठो पाक्छ’–उनले भने–‘राज्यले एलपि ग्यासमा पनि परनिर्भरता हटाउने हो भने जनतालाई सहुलियत दिएर ब्रिक्रेट उपयोगमा प्रोत्साहन गर्नुपर्छ ।’
ब्रिक्रेट उत्पादनमा एक दशकदेखिको अनुभवी अपरेटर प्रनोव आचार्जीका अनुसार ९० एमएस मेशिनले उत्पादन गरेको ब्रिक्रेट ७५ मिनेटसम्म बल्छ भने ७० एमएमको मेशिनबाट बनेको ब्रिक्रेट ४५ देखि ५० मिनेटसम्म बल्छ । मकालु उद्योगमा ७० एमएमको मेशिनबाट एक घण्टामा ९ सय किलोसम्म ब्रिक्रेट उत्पादन हुने आचार्जीले जानकारी दिए । उनका अनुसार यो ब्रिक्रेटको भारतका ठुला उद्योगहरुमा धेरै माग छ । ‘कपडा, चिनी फैक्ट्रीहरुमा र खाना पकाउनमा पनि प्रयोग हुन्छ । भारतमा त यसको धेरै माग छ’–स्थायी ठेगाना भारत, कुच विहार भएका आचार्जीले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे