कांग्रेसको अधिवेशन स्थानीय निकायको चुनाव जस्तो

धरान । पहिलो संविधासभा निर्वाचनमा एमाओवादीको चर्चित नारा थियो, ‘अरुलाई हेर्यौं पटक पटक, एमाओवादीलाई हेरौं यसपटक ।’ अहिले एमाओवादीको त्यही चुनावी नाराको झल्को दिने नारा धरानमा चर्चामा छ । न संविधानसभाको चुनाव हो, न स्थानीय निकायको । देशको ठुलो पार्टी नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा संसदीय एवं स्थानीय निकायको निर्वाचनको छनक दिनेगरी कांग्रेसको संस्थापन र देउवापक्षीय गुट गाउँ, नगर र क्षेत्रीय अधिवेशनमा जुटेका छन् ।
कांग्रेसका वर्तमान उपमहानगर सभापति किसोर राईको विरुद्धमा उम्मेद्वारी घोषणा गरेका तिलक राईको नारा छ, ‘एउटैलाई हेर्यौं पटक पटक, तिलक राईलाई हेरौं यसपटक’ । उनको टिम धरानमा नयाँ नेतृत्वबाट मात्रै कांग्रेसलाई गति दिनसकिने दाबी गर्छ । सभापति राई पक्षीयको नारा भने यस्तो छ, ‘पुरानालाई सम्मान, नयाँलाई अवसर, अनुभवले बनाउछौं नेपाली कांग्रेसलाई अग्रसर ।’ उनको टिम अनुवभीले नै पार्टीलाई हाँक्ने दाबी छ । सभापति राई विगत १४ बर्षदेखि कांग्रेसको धरान सभापति छन् । उनी देउवा पक्षका हुन् । उनको विरुद्ध उम्मेद्वारी दिएका अर्का राई संस्थापन पक्षका हुन् । अघिल्लो अधिवेशनमा पनि दुवै जना सभापतिको आकांक्षी भएपनि किसोरले बाजी मारेका थिए । त्यसअघि, नेपाली कांग्रेस र प्रजान्तिक कांग्रेसबीच एकता हुदा पनि किसोर राई नगर सभापति भएका थिए ।
उपमहानगर सभापतिका आकांक्षी दुवैले छुट्टा छुट्टै प्यानल बनाएका छन् । दुवै गुट आफुलाई जिताउन भन्दै क्रियासिल सदस्यहरुको वार्ड भेलामा ब्यस्त छन् । भेलामा एक गुटले अर्को गुटको आलोचना मात्रै होइन, नगरको विकासे योजना र आश्वासनहरु पनि बाडिरहेका छन् । ‘स्थानीय निकायको निर्वाचनमा दुई राजनीतिक पार्टी भिडेजस्तै अहिले कांग्रेसको अधिवेशन हुदैछ’–कांग्रेसकै एक क्रियासिल युवा सदस्यले नागरिकसँग भने ।
कांग्रेसको गाउँ र नगर अधिवेशन माघ १५ गते देशभर सम्पन्न हुदैछ । दुवै समुह प्यानल घोषणासहित चुनावी दौडमा छन् । भातृ संगठनहरुसँग बैठक पनि भइरहेको छ । दुवै गुट केन्द्रीय नेता ल्याएर कार्यक्रम पनि गरिरहेका छन् । गत साता पुर्वअर्थमन्त्री रामशरण महतलाई बोलाएर संस्थापनले सम्मान गरेको थियो भने आइतबार तरुणहरुको सहभागीतामा बहृत मोटरसाइकल र्याली निकाल्यो । क्रियासिल सदस्यहरुको भेला, कार्यक्रममा ब्यस्त रहेको देउवा पक्ष पनि अधिवेशन उद्घाटनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई ल्याउने तयारीमा जुटेको छ ।
गाउँ, नगर र क्षेत्रीय अधिवेशनमा सतहमा देखिएको गुटगत प्रतिस्पर्धा लोकतान्त्रिक पार्टीमा स्वाभाविक हुने कांग्रेस सुनसरीका जिल्ला सह सचिव विकास आचार्य बताउछन् । ‘लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक र सकरात्मक हो । तर, प्रतिस्पर्धा स्वच्छ हुनुपर्छ । यसले पार्टीमा राम्रो र सक्षम नेतृत्व ल्याउछ र कार्यकर्ता, पार्टीलाई नयाँ उर्जा मिल्छ’–उनी थप्छन् ।
नगरअधिवेशनले नगर कमिटि चयनसँगै क्षेत्रीय प्रतिनिधिहरु पनि छनौट गर्नेछ । माघ २२ गत हुने क्षेत्रीय अधिवेशनले क्षेत्रीय कमिटिसँगै जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि चयन गर्नेछ । जिल्ला अधिवेशनको मिति भने माघ २५ गते तोकिएको छ । उपमहानगर सभापतिमा जस्तै सुनसरी १ नम्बर क्षेत्रीय अधिवेशनमा पनि गुटगत प्रतिस्पर्धा हुदैछ । क्षेत्रीय सभापतिमा मदन ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् भने हालका कार्यवाहक सभापति सुरेशमान श्रेष्ठ र सचिव सुजेन्द्र तामाङ पनि आकांक्षीकोरुपमा छन् । संस्थापन पक्षीय ढकालले गुट परिवर्तन गरेर क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएपछि श्रेष्ठ र तामाङबीच सहमतिमा एक जना उठाउने संस्थापनको तयारी छ । कांग्रेस सुनसरी जिल्ला सभापतिमा भने संस्थापन पक्षका हालका सभापति राजीव कोइराला र रामबहादुर बस्नेतले उम्मेद्वारी दिने कांग्रेसले जनाएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे