धरान खानेपानी आयोजनाले गति लिर्दै

धरान । सरकारी निकायकै असहयोग, केही साना दल तथा समुहको चर्को विरोध र नगरबासीको आशंकालाई चिर्दै धरानको वृहत खानेपानी आयोजनाले गति लिएको छ । धरानबासीको मुख्य समस्या खानेपानी अभावलाई समाधान गर्ने लक्ष्यसहित शुरु आयोजनालाई बैशाखको भुकम्प, मधेश आन्दोलनसँगै भारतीय नाकाबन्दीले केही अवरोध पुर्याएपनि अहिले कार्यान्वयनतर्फ अघि बढेको छ । आयोजनामा एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोग छ ।
खानेपानी संस्थानको धरान शाखा कार्यालय परिसरबाहेक आयोजनाको सर्वेको सम्पुर्ण काम सम्पन्न भएको छ भने अधिकांश पाईप खरीद गरिसकेको आयोजनाले जनाएको छ । अहिले रेल्वे र पिण्डेश्वर सिस्टम(वितरण प्रणाली)को लागि रिजर्ब वेयर निर्माणको काम पनि शुरु भइसकेको छ । ‘ठेक्का सम्झौतालगत्तै भुकम्पले र मधेश आन्दोलनले आयोजनाको काम केही धिमा भयो, तर अहिले गति लिएको छ’–आयोजनाका व्यावस्थापक इञ्जिनियर राजु पोख्रेलले भने ।

आयोजनाअन्र्तगत निर्माण हुने ४ वटा रिजर्ब वेयरमध्ये धरान ११ र १७ लाई प्राथमिकता दिई धरान ११ विष्णुचोकमा रेल्वे सिस्टमको निर्माण कार्य शुरु गरिएको हो । ती दुई वडामा खानेपानी संस्थानका पाइप लाइन पुगेको छैन । त्यहाँका स्थानीय आफैले धेरै कष्ठ झेलेर खानेपानी व्यावस्थापन गरिरहेकोले उनीहरुलाई प्राथमिकता दिएर शुरुमा रिजर्ब वेयर निर्माण शुरु गरेको आयोजनाको भनाई छ । त्यहाँ ५ लाख लिटरको वेयर निर्माण गर्न आवश्यक ३ कट्ठा जमिन पनि खरीद गरिएको छ ।
यस्तै, धरान १५, ३ र १४ वडाको केही भागलाई लक्षित गरेर पिण्डेश्वर सिस्टमको लागि पनि रिजर्ब वेयर निर्माण भइरहेको छ । वेयर निर्माणको लागि सँस्कृत विश्वविद्यालयले पिण्डेश्वर विद्यापिठहाताभित्र ५ कट्ठा जमिन उपलब्ध गराएको छ । त्यहाँ ९ लाख लिटरको रिजर्ब वेयर रहनेछ । गत चैत ११ गते आयोजनाको निर्माण कार्य शुरु गर्न ग्लोबल टेण्डरद्धारा स्वीकृत कम्पनी तियाञ्जिन तुदी जेभी र धरान उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । मोविलाइजेशन खर्च निकासा हुन नपाई नै बैशाख १२ मा गएको भुकम्पले आयोजनाको निर्माण कार्य केही समय धिमा बनेको थियो । नेपाल सरकारकै आयोजना भएपनि खानेपानी संस्थानको धरान शाखाले शुरुवातदेखि नै असहयोग गर्दै आइरहेको छ ।
धरानका पुर्वउपमेयर कृष्णनारायण पलिखे नेतृत्वको जनसरोकार मञ्चनामक गैरसरकारी संस्थाले एडिबिको मुख्यालयमा विरोधपत्र पठाएर आयोजनाको भविष्य नै अन्यौलमा पारेको थियो । संघीय समाजवादी फोरमसहितका केही साना पार्टीहरुसमेत आयोजनाको विरोध गर्दै चतरास्थित सप्तकोशी नदीबाट पानी ल्याउनु दीर्घकालीन समाधान हुने धारणा राख्दै आएको छ । सन् २०१७ को जुलाईसम्म सम्पन्न भई कम्तीमा ९५ प्रतिशत धरानबासीको घरमा खानेपानी वितरण गर्ने आयोजनाको लक्ष्य छ । भ्याटसहित एक अर्ब ४८ करोड लागत भएको आयोजनाको लागि एडिबिमार्फत नेपाल सरकारले ५० प्रतिशत अनुदान, नगरविकास कोषले ३५ प्रतिशत ऋण उपलब्ध गराउनेछ भने १५ प्रतिशत बजेट उपमहानगरपालिकाको सहभागीता हुनेछ ।

व्यवस्थापक पोख्रेलका अनुसार बैशाखको भुकम्प, मधेश आन्दोलनलगायतले करिब २ महिना आयोजनालाई अन्योलग्रस्त पारेको थियो । तर पनि त्यसबीचमा सर्वे, पाइप खरीद र ड्रिलिङको काम भने रोकिएन । परिस्थिति चाडै सहज हुने हो भने तोकिएकै समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनी तियाञ्जीन तुदी जेभीले दाबी गर्दे आएको छ । अब भौतिक निर्माणको काम अघि बढ्ने भएकोले आवश्यकता अनुसार इन्धन र भौतिक सामग्री पाए आयोजनालाई कुनै असर पुग्दैन । ‘विभिन्न समस्या र कठिनाईहरुको सामना गर्दै भएपनि आयोजनाले गति लिएकोछ, अरु आयोजना जति यहाँ असर पुगेको छैन । त्यसैले तोकिएकै समयभित्र धरानबासीको सपना पुरा हुन्छ भन्ने विश्वास लिएका छौं’–व्यवस्थापक पोख्रेलले भने ।
आयोजनाका अनुसार भारतको टाटा कम्पनीबाट आवश्यक डिआई पाईप ८० प्रतिशत खरीद गरेर ल्याइएको छ भने विराटनगरस्थित मैनावत्ति स्टिल प्रालिबाट आवश्यक सतप्रतिशत जिआई पाईप खरीद भइसकेको छ । यस्तै, एचडिपि पाईप पनि धरान औद्योगिक क्षेत्रस्थित नेपाल प्लाष्टिकबाट खरीद भइसकेको छ । अब कुम्भीआहालस्थित ड्रिलिङ प्वाइन्टबाट रिजर्ब वेयरसम्म पानी पुर्याउन पाइप विछ्याउने कार्य पनि शुरु हुनेछ । कुम्भी आहालमा २ वटा ड्रिलिङ सफल भइसकेको छ । कुमारखत सामुदायिक वनमा पनि एउटा ड्रिलिङ भइसकेको छ भने अर्को जारी छ । थप ३ वटा ड्रिलिङ बाकी छ । यस्तै, रेल्वे र पिण्डेश्वर सिस्टमबाहेक ६ लाख लिटर क्षमताको पञ्चकन्या र ७ लाख लिटर क्षमताको फ्रस्रे सिस्टमका रिजर्ब वेयर पनि निर्माण हुनेछ । संस्थान मातहतमा ३० लाख लिटर क्षमताको रिजर्ब वेयर छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे