दिल्लीबाट श्रीलंका हुदै युवतीको तस्करी,दुबई भनेर ओमन


धरान । धरान ८, अरुण टोल माइती घर भएकी २४ बर्षीया दिपा राई(लिम्बु) करिब दुई बर्ष कुवेत बसेर फर्किएकी थिइन् । घरेलु कामदारकोरुपमा उनको कुवेत बसाई सुखद थिएन । तरपनि, घरेलु कामको अनुभव र अरबी भाषाको ज्ञानले गर्दा उनी पुनः वैदेशिक रोजगारीमै जान चाहिन् ।
दिपा सुरक्षितरुपमा दुबई जाने योजनामा थिइन् । माइती घर नजिककी स्थानीय एजेन्ट गीता राईमार्फत उनी काठमाण्डौंकी विना राईको सम्पर्कमा पुगिन् । दिपाले आफ्नो पैसा खर्च गर्नुपरेन । सबै खर्च एजेन्टले नै जुटाईदियो । अगष्ट ७ तारिख दिपाले नयाँ मुलुकमा पाइला टेकिन्, तर त्यो मुलुक उनले चाहेको दुबई थिएन । एजेन्टले दिपालाई अवैधरुपमा ओमनमा पु¥याइदिए । खासमा उनी मानव तस्करको चंगुलमा फसेर बेचिएकी हुन् । अहिले उनी बिहानै ५ बजे उठेदेखि राती डेढ बजेसम्म निरन्तर घरको काममा खटिनु परेको छ । न राम्रो खान पाउछिन्, न सुत्नै । सानो गल्तीमा पनि तथानाम गालीगलौज र दुव्र्यवहार सहनुपर्छ । त्यहाँबाट उद्दार गरेर घर फर्काउन भन्दै दिपाले फोन गरेदेखि उनको श्रीमान् र आफन्तजन पनि यतिबेला बेचैनीमा छन् । ‘दुबई जाने भनेर घरबाट हिडेको हो, तर ओमन पु¥याएछ । अस्ति १७ तारिख राती ३ बजे फोन गरेर मलाई कुटेर मार्न लाग्यो, नेपाल फर्काइदेऊ भन्यो’–दिपाका श्रीमान् अमिर लिम्बुले भने–‘एजेन्टलाई फोन गरेर भने, अर्को घरमा सारिदिन्छु भन्यो ।’
दिपाले अढाई बर्षको छोरा श्रीमान्को साथमा छोडेर केही कमाउने आशामा विदेश हिडेकी थिइन् । एजेन्टले उनलाई दुबईमा ‘नानी हेर्ने काम’ भनेको थियो । अरबी भाषाको राम्रो ज्ञान भएकोले समस्या नहुनेमा दिपा ढुक्क थिइन् । तर, ओमनमा पुगेपछि उनलाई भाषाको पनि समस्या भएको अमिरको भनाई छ । परिवारजनका अनुसार गत असार २० गते(जुलाई ४) दिपा धरानदेखि काठमाण्डौंकी एजेन्ट विना राईको साथमा हिडेकी थिइन् । उनको साथमा अरु पनि थुप्रै युवतीहरु थिए । एजेन्टले दिपालाई पुर्वी नाका काकडभिट्टाबाट भारतको सिलगुडी पु¥याएपछि ट्रेनबाट दिल्ली पु¥याएको थियो । करिब १० दिनजति दिल्लीमा राखेपछि एजेन्टले पुनः प्लेनबाट श्रीलंका पु¥यायो । ‘श्रीलंकामा धेरै दिन राखेछ, दुबई जान नपाउने भयौं भनेर अनि ओमन पु¥याएछ’–दिपाकी मामाकी छोरी ममता राईले भनिन्–‘एजेन्टलाई फकाईदेऊ भन्दा मेरो भारु १ लाख २० हजार खर्च भएको छ, त्यो पैसा दियो भने मात्र फकाईदिन्छु भन्छ ।’
आफ्नी श्रीमति सशुकल उद्दार गरी घर फकाईदिन भन्दै दिपाका श्रीमान् अमिरले सोमबार पौरखी नेपाल नामक संस्थामा निवेदन हालेका छन् । साथै उनले दुबई भन्दै गैरकानुनीरुपमा ओमन पठाइदिने एजेन्टद्धय गीता राई र विना राईलाई कानुनी कारबाही गर्न पनि माग गरेका छन् । पौरखीकी सचिव शारदा मास्केले दिपाको बिषयमा केन्द्रीय कार्यालयलाई सबै जानकारी दिएर पहल थालिएको बताइन् । पौरखीका अध्यक्ष चेतना श्रेङका अनुसार पछिल्लो दिल्लीमा कडाई भएपछि दलालहरुले श्रीलंका ट्रान्जिट बनाएर नेपाली युवतीहरु अवैधरुपमा खाडी मुलुक पठाउने गरेका छन् । ‘दिल्लीमा नेपाली युवतीहरु धेरैदिन राख्दा प्रहरीले कडाई गरेपछि केही दिनमात्र राखेर श्रीलंका पु¥याउने गरेका छन्’–अध्यक्ष श्रेङले भनिन्–‘श्रीलंकामा एउटा कोठामा कोचिएर राखेको बेला त्यही मान्छे हेर्न आउने र युवतीहरु छानेर लैजाने पनि गर्दाे रहेछ ।’
दिपालाई लिएर जाने काठमाण्डौंकी एजेन्ट भारत गएको कारण सम्पर्क हुन सकेन । उनको धरानस्थित स्थानीय एजेन्ट गीता राईले भने दिपाले पहिल्यै दुबई एप्लाई गरेकोले जान नमिल्ने भएपछि ओमन पठाएको बताइन् । उनका अनुसार दिल्लीमा बसेर अर्को एक मान्छेले सबै सेटिङ मिलाउने गरेका छन् । ‘सेटिङ गर्दा लाग्ने खर्च सबै हामी लगानी गछौं, पछि काम भएपछि हाम्रो पसा फिर्ता आउछ’–उनले भनिन्–‘थुप्रै छरछिमेकीलाई पठाएको छौं, सबै भारत हुदै गएको हो । दिपाको जस्तो समस्या भएको थिएन ।’ दिल्लीबाट भिजिट भिषामा उडाउने र बेला बेला धेरै लफडा हुने गरेको पनि खुलाइन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे