हाइकिङमा ज्ञान बटुल्टै धराने युवतीहरु

धरान । खायो–बस्यो । साथीभाईसँग कहिलेकही मात्र भेटघाट । पट्यारलाग्दो समयलाई घरमा बसेर कटाउनै गाह्रो । सृर्जनशील काममा अल्झन नपाउदा झण्डै डेढ महिनाअघिसम्म धरानकी सरुपा थापा मगर निक्कै अल्छे भइसकेकी थिइन् । कक्षा १२ को परीक्षा दिएर बसेकी उनी मिस मंगोल २०१५ की फष्ट रनरअप पनि हुन् ।
अहिले उनको ज्यान निक्कै फुर्तिलो भएको छ । कारण– उनी हरेक साता हाइकिङ(पदयात्रा)मा जान्छिन् । त्यही पदयात्राको अनुभव समेटर साथीहरुसँग स्थानीय विजयपुर एफएफमा यात्रा कार्यक्रम पनि पस्कन थालेकी छिन् । नियमित हाइकिङले स्वास्थ्यलाई त फाइदा पुगेकै छ । त्यसबाहेक धरान आसपासको पर्यटकीय गन्तव्यबारे जानकारीसँगै अन्य धेरै बिषयमा पनि ज्ञान पाउदा उनी दंग छिन् । ‘घरमै बस्यो, खायो सुत्यो । समय कटाउनै गाह्रो थियो । ज्यान पनि वोदो भइसकेको थियो’–डेढ महिनाअघिको स्मरण गर्दै सरुपाले भनिन्–‘अहिले नियमित हाइकिङले फिट महसुस भइरहेको छ । गाउँघरमा डुल्छौं, प्रकृतिसँग रमाउछौं, ऐतिहासिक ठाउँबारे कथाहरु पनि सुन्दा धेरै ज्ञान पाएका छौं ।’
धरान आसपासका धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चारकर्मीहरुले हाइकिङ अभियान चलाएका छन् । यो अभियानमा सरुपा जस्ता शहरिया युवा पुस्ताको पनि उत्साहजनक सहभागीता छ । जसले ग्रामिण पर्यटन प्रर्वद्धनमा टेवा मात्र दिएको छैन, उनीहरुले प्राकृतिक, ऐतिहासिक र गाउँघरका कथाहरु पनि सुन्ने, बुझ्ने मौका पाइरहेका छन् । यसले युवा पुस्ताको ज्ञानको दायरा फराकिलो बनाएको छ । गाउँघरप्रतिको उनीहरुको धारणालाई पनि परिवर्तन गर्दैछ । ‘गाउँघरप्रति हामी अर्कै सोचाई राख्थ्यौं, अब त त्यही ठाउँ पो प्यारो लाग्न थालेको छ । होटल, रेष्टुरेष्टको खाजा भन्दा गाउँघरकै मिठो लाग्छ’–मिस पुर्वाञ्चल २०१६ की सेकेण्ड रनरअप इक्सा मादेनले भनिन्–‘धरान आसपासमै सुनेको भन्दा धेरै घुम्न लायक ठाउँहरु रहेछ, ती ठाउँहरुबारे रेडियोबाट प्रचार गर्न पाउदा खुशी छौं ।’
सरुपा, इक्सासँगै सेम्माङ देवान, टिना चोङबाङ र मिस मंगोल, मिस लिम्बुकी टप ५ मेरिना तुम्सा लिम्बु पनि यात्रा कार्यक्रमका सहयात्रीहरु हुन् । यी युवतीहरु हरेक साता हाइकिङ जान्छन् । शिवजट्टा, दानाबारीको गढीथुम्का, साँगुरी गढी र चिण्डे डाँडा हुदै ऐतिहासिक सुलिकोटसम्म उनीहरु पदयात्रा गर्दै पुगिसकेका छन् । ती ठाउँको इतिहास, स्थानीय उत्पादन, रहनसहन र सँस्कृतिबारे  अग्रजहरुबाट उनीहरुले जानकारी पाएका छन् । ‘हामी पुगेको कतिपय ठाउँको नामै सुनेका थिएनौं, अहिले हाइकिङ गर्दै पुग्दा पो लाग्छ, नजिकको तीर्थ हेला जस्तो भएको रहेछ’–मेरिनाले भनिन्–‘स्वास्थ्यलाई फाइदा पुगेकै छ, अझै धेरै ज्ञान पनि बुटल्ने मौका पाइरहेका छौं ।’
यात्रा प्रस्तोता टोली यो साता बुधबार (भदौ २९) अझ धेरै लाभान्वित भयो । हाइकिङ टोली धरानदेखि पश्चिम उत्तरमा अवस्थित सुलिकोट गएको थियो । विजयपुर गढी सेन तथा किरात–लिम्बुवानकालीन राज्यको राजधानी हुदा सुलिकोट वद्मासहरुलाई सजाय दिने ठाउँ थियो । तत्कालीन समयमा यो ठाउँमा वदमासहरुलाई सुलिमा चढाइने गरेको इतिहासकाहरुको भनाई छ । सुलिकोट हाइकिङ टोलीमा इटहरीबाट अग्रज रेडियो पत्रकार अर्जुन उप्रेती पनि सहभागी थिए । उनले यात्रा कार्यक्रम प्रस्तोता धराने युवतीहरुको टिमसँग रेडियो पत्रकारिताको अनुभव बाडे । साथै, उप्रेतीले आफ्नो पुस्तक रेडियो भित्र, मिनि डिस्क रेडर्कर र डिजिटल रेडर्कर पनि यात्रा कार्यक्रमका टोलीलाई हस्तान्तरण गरे । ‘यी बहिनीहरु साँच्चै जुझारु, क्रिएटिभ रहेछन् । उनीहरुसँग आफ्नो रेडियो पत्रकारिताको अनुभव र मसँगको सामग्री सेयर गर्न पाउदा धेरै खुशी छुँ’–हाइकिङको क्रममा उप्रेतीले भने–‘यात्रा पनि अविष्मरणीय बन्यो, घाम पानी, चट्याङको अनुभव, बेसीदेखि लेकसम्मको अनुभव एकैपटक भयो ।’










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे