असोज दोस्रो साता भेट्रान प्रतियोगिता

धरान । पुर्वकै ठुलो धनराशी पुरस्कार भएको गोठबहादुर स्मृति पुर्वाञ्चल क्षेत्रीय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो सँस्करण आगामी असोज दोस्रो साता हुने भएको छ । आयोजक धरान भेट्रान फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै असोज ८ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
क्लबका अनुसार प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ भेट्रान क्लबहरुले सहभागी हुने आयोजकले जानकारी दिएको छ । ‘गत बर्ष भन्दा कम क्लबहरु सहभागी गराएका छौं, यसले प्रतिस्पर्धात्मक खेल हुने हाम्रो अपेक्षा छ’–आयोजक क्लबका अध्यक्ष रोमी मोक्तानले भने–‘झापा, मोरङ र सुनसरीका ८ टिम सहभागी छन् ।’ गत बर्षको पहिलो सँस्करणमा भने ११ क्लब सहभागी थियो ।
दोस्रो सँस्करणमा आयोजकसँगै दमक लखनपुर भेट्रान क्लब झापा, धरान मजदुर भेट्रान क्लब, राजघाट भेट्रान क्लब मोरङ, डाँगीहाट फुटबल क्लब मोरङ, विराटचौट भेट्रान क्लब मोरङ, चौधरी ढुवानी सेवा चाँदबेला झुक र युनाइटेड भेट्रान क्लब मोरङले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताको खेल तालिकासमेत तयार भइसकेको छ । उद्घाटन खेल दमक लखनपुर भेट्रान क्लब र धरान मजदुर भेट्रान क्लब बीच असोज ८ गते हुनेछ ।
प्रतियोगिताको विजेताले गत बर्षकै नगद राशी ७५ हजार र उपविजेताले ४० हजार रुपैया पाउने पक्का छ । तर, प्रायोजन थपिएमा यो बर्ष प्रथम पुरस्कार नगद एक लाख र उपविजेतालाई ५० हजार रुपैया दिने आयोजकले जनाएको छ । ‘गत बर्ष बराबर नगद पुरस्कार दिने पक्का हो, प्रायोजन भेट्यौं भने बढाएर प्रथम १ लाख र दोस्रो ५० हजार बनाउछौं’–अध्यक्ष मोक्तानले भने । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले नगद १० हजार पाउनेछ भने उत्कृष्ट गोलकिपरले नगद ५ हजार पाउनेछ । हरेक खेलको म्यान अफ दि म्याचले नगद २ हजार र फाइनलमा नगद ५ हजार पाउनेछन् ।
राष्ट्रियस्तरको प्रतियोगिता बनाउन पोखरा र काठमाण्डौंको टिम सहभागी गराउन पहल गरेपनि अन्तिम समय सहभागी नभएको आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिने क्लबमा अनिवार्य ३५ बर्ष नाघेका खेलाडी हुनुपर्छ भने ४० बर्ष उमेर कटेका ३ जना खेलाडी अनिवार्य हुनुपर्ने सचिव दर्शन बिष्टले जानकारी दिए । युवा खेलाडीहरुलाई खेलमा समर्पित भएर खेलिरहन उर्जा दिने र फुटबलबाट टाढिएका पुर्व खेलाडीहरुलाई पनि संगठित गर्दै स्वस्थ्य जीवन र सेभ फुटबलको नारामा गोलबद्ध गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबको भनाई छ । यो प्रतियोगिता सञ्चालनको लागि हाल अष्ट्रेलियामा रहेका धरानका पुर्व खेलाडी किसोर राईले क्लबसँग गत बर्ष तीन बर्षे सम्झौता गरेका थिए । धरान १६ घर भएका पुर्व खेलाडी राईले आफ्नो बुबा गोठबहादुर राईको स्मृतिमा बार्षिक २ लाख उपलब्ध गराउने क्लबसँग सम्झौता गरेका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे