धरान चतरा सडकको जिरोपोइन्ट विवाद, सुकुम्बासी बनाउने भन्दै स्थानीय आन्दोलित

धरान । धरान ८, पुरानो ट्राफिक कार्यालय भएको जग्गामा निनाचन्द्र राईले ६ करोड बढी लगानीमा व्यावसायीक भवन बनाइरहेका छन् । उनको त्यहाँ ३ कट्ठा अर्थात ६० धुर जग्गा छ । भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा उनी खुशी हुनुपर्ने बेला हो । तर, सडक डिभिजन कार्यालय विराटनगरको एउटा पत्रले यतिबेला उनको खुशी हराएको छ ।
धरान उपमहानगरपालिकाले २०७२ चैत १४ गते सहायक राजमार्गकोरुपमा धरान चतरा सडकको शुरुविन्दु(जिरोपोइन्ट) कहाँ हो भनेर पत्रमार्फत सडक भिडिजनलाई सोधेको थियो । सडक डिभिजनले चैत ३० गते जवाफ पठाउदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोलाई नै धरान चतरा जाने सडक मानेर विगतका बर्षहरुमा निर्माण तथा मर्मत भइरहेकोले सोही बाटो नै शुरुविन्दु मानिएको प्रष्ट्यायो । सडक डिभिजनको यही जवाफले निनाचन्द्रको खुशी लुटेको हो । त्यसअघि स्थानीय विकास मन्त्रालयबाट राष्ट्रिय राजमार्ग र सहायक राजमार्गको सडक सीमा क्षेत्र अतिक्रमण गरी कुनै पनि प्रकारको निर्माण, पुर्ननिर्माण कार्य रोक लगाउने पत्र स्थानीय निकायलाई पठाएको थियो ।
सडक डिभिजनको पत्रलाई आधार मान्ने हो भने धनकुटे रोड भनेर चिनिने बीपी प्रतिष्ठान पुग्ने यो सडक सहायक राजमार्ग हुनलाई १४० फिट मापदण्ड कायम हुनुपर्छ । तर, अहिले मात्र ६० फिट चौडाको सडक छ । सहायक राजमार्गको मापदण्ड लागु हुदा उनको ६० धुर जग्गामध्ये मात्र १५ धुर मात्र बाँकी रहन्छ । अनि, अहिले निर्माण सम्पन्न हुन लागेको भवनको ६ करोड लगानी पनि स्वाहा हुन्छ । ‘यत्रो लगानी भइसकेको छ, अहिले सरकार र सडकले यस्तो निर्णय गर्दा हामी सुकुम्बासी हुन्छौं ’–चिन्तित हुदै उनी भन्छन्–‘यो समस्या मेरो मात्र होइन, यो धनकुटे रोड दुवैकिनारका बासिन्दाको हो ।’
सडक डिभिजनको पत्र पाएपछि अहिले उपमहानगरपालिकाले सहायक राजमार्गकै मापदण्ड पुरा भएमात्र घरको नक्सापास गर्छ । स्थानीयलाई बैकिङ कारोबारमा गर्न पनि असर परिरहेको छ । विगतमा यही सडकखण्डलाई ०५६ सालमा तत्कालीन धरान नगरपालिकाले ६० फिट मापदण्ड कायम गरेको थियो भने दुवै किनारमा संरचना बनाउनुपर्दा ६÷६ फिट सेडब्याक छोड्दा ७२ फुट हुन्थ्यो । नेपाल सरकारले चुरे घाटी फेदी राजमार्गको निर्माण गर्ने भएपछि धरान चतरा सडक सहायक राजमार्गको शुरुविन्दुको खोजी शुरु भएको हो । सडक डिभिजनले बीपी जाने धनकुटे रोडलाई धरान चतराको शुरुविन्दु मानेपनि धरानबासीहरु भने धरान १२ स्थित चतरालाइन शुरुविन्दु(जिरोप्वाइन्ट) भएको ठान्छन् ।
बीपी जाने धनकुटे रोडलाई सडक डिभिजनले धरान चतरा सहायक राजमार्गको शुरुविन्दु मानेको सार्वजनिक भएपछि यो सडक खण्डका बासिन्दाहरु आन्दोलित भएका छन् । धनकुटे रोड संयुक्त उपभोक्ता संघर्ष समिति गठन गरेर उनीहरुले धनकुटे रोडलाई यथायत राखेर सयौं जनतालाई सुकुम्बासी बनाउनबाट जोगाउन माग गरेका छन् । यो सडकखण्डमा पर्ने धरान ८, १९, १८ र १७ वडा पर्छ । जहाँ एक हजार घरधरी भएको अनुमान छ । संघर्ष समितिको नेतृत्वमा सोमबार सयौं बासिन्दाहरुले निर्णय सच्याउन माग गर्दै ¥याली निकाले । धरान उपमहानगरपालिकामा पुगेर घेराउ, कोणसभा गर्दै संघर्ष समितिले कार्यकारी अधिकृतमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझायो । उनीहरुले १४० फिट सहायक राजमार्गको विरोध नभई जनताको सुरक्षित वासको ग्यारेन्टी गर्न आन्दोलनमा उत्रनु परेको बताएका छन् । ‘बाटो फराकिलो हुनु त राम्रो हो, तर जनतालाई उठिबास लगाउने गरी सरकारले निर्णय गर्नुअघि सोच्नुपर्छ’–धरान १८, क्षितिज टोलका पुर्वब्रिटिश लाहुरे नरबहादुर थापा मगरले भने–‘पहिला पनि बाटोलाई जग्गा छोडिदिएकै हो । यो मापदण्डले त मेरो घरजग्गा केही पनि बच्दैन ।’ उनले लाहुरको कमाइले बनाएको २ तले घर ०४५ सालको भुकम्पले भत्काइदिएको थियो । पछि फेरि जिआरयुमा गएर दुःख गरी कमाएर २ कट्ठा ३ धुरमा ३ तले पक्की घर बनाएका छन् । अब यही पनि नरहला कि भन्ने उनलाई पिरलो छ ।
बीपी जाने सडक विस्तार गर्दा ०५३ सालमा तत्कालीन सांसद इन्द्रहाङ लिम्बुको संयोजकत्वमा गठित क्षतिपुर्ति समितिले निर्धारण गरेको क्षतिपुर्ति समेत स्थानीयले नपाएको संघर्ष समितिको दाबी छ । त्यसबेला विकासको लागि जनताले त्याग गरिसकेको र अब पुनः घरबारविहिन हुने गरी पीडा नदिन स्थानीयले उपमहानगरपालिका र नेपाल सरकारसँग माग गरेका छन् । धरानका कार्यकारी अधिकृत टिकादत्त राईले विकासको नाममा विनाश हुनुहुदैन भन्ने मान्यता उपमहानगरपालिकाको पनि भएकोले यो समस्याबारे मन्त्रालयमा राखिसकेको बताए । ‘राजमार्गको बजारमा सबैतिर समस्या छ, यहाँको बारेमा पनि पुर्वाधार विकास महाशाखामा कुरा राखिसकेको छुँ’–उने भने ।
.......................................................................................

                                सहायक राजमार्गको विकल्प

संघर्ष समितिले सहायक राजमार्गलाई मानववस्ती उठिबास हुने गरी लैजानुभन्दा तिनकुनेबाट पश्चिम बीपीको तल्लो गेट हुदै सामुदायिक वन क्षेत्रबाट सर्दुमा जोड्नुपर्ने विकल्प अघि सारेको छ । यसो गर्दा सयौं जनताको उठिबास नहुने समितिको भनाई छ । ‘तीनकुनेबाट बीपीको तल्लो गेट हुदै सहायक राजमार्ग लैजादा उपयुक्त हुन्छ, किनभने त्यो क्षेत्रमा वस्ती पनि छैन र क्षति पनि कम हुन्छ’–संघर्ष समितिका संयोजक निनाचन्द्र राईले भने ।
तीनकुनेदेखि बीपीको तल्लो गेटसम्म पक्की सडक छ । बीपी प्रतिष्ठान निर्माण हुनुअघि घोपा क्याम्प जान त्यही बाटो प्रयोग हुन्थ्यो । तीनकुनेदेखि सर्दु निस्कन करिब ८ किलोमिटर दुरी पर्छ । त्यसबीचमा सामुदायिक वन क्षेत्र पनि छ । संघर्ष समितिले यो विकल्प कार्यान्वयन गराउन सडक विभाग, वन विभाग र सरकारसँग मागसमेत गरेको छ । उपमहानगरपालिकाका योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठले सडक विभागले निर्णय गरेमा र वन विभाग, बीपी प्रतिष्ठानले सहमति दिएमा संघर्ष समितिको विकल्प कार्यान्वयन गर्न सकिने बताउछन् । ‘पहिला त सर्वे हुनुपर्छ । वन क्षेत्र र बीपीको गेट छ, वन विभाग र बीपीले मान्नुपर्छ । सडक विभागले पनि त्यताबाट वाइपास लैजाने भनेर निर्णय गर्नुपर्छ’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे