![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1mbPUgz2CEQeT8MbSbA_5CPGdfx-2xLtNqSRfn5HB93W61U6dq7bR7HvL3m6KkY8tE2cMF4Cf-TOQvbdEoCMjWxpSBgT79avUqelKwGOe8-YHa-E5uJxfbFHjb0qGRMX808fdzWTw8P6u/s640/IMG_9440.jpg)
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महिला सुरक्षा गार्डमाथि कलाकार सन्तोष पन्तद्धारा भएको यौन दुव्र्यवहारको घटना मिलापत्र गराएर टुङ्ग्याउन एक पत्रकारले मुख्य भुमिका खेलेको खुलासा भएको छ । घटनालाई मिलापत्र गराउदा साक्षी बसेको भनेर चर्को आरोप खेपिरहेको महिला सञ्जाल धरानले आइतबार पत्रकार सम्मेलन गर्दै मिलापत्र भएको अघिल्लो दिनमा नै पत्रकार चन्द्रमणी कट्टेलले मिलापत्रको ड्राफट बोकेर आफुहरुलाई भेट्न आएको र केटिएम प्रमुखसँग पीडित मिलिसकेको भनेर घटनालाई मिलाउन अन्तैतिर मोडेको खुलासा गरेको हो ।
महिला सञ्जालले सिडिओको उपस्थितिमा भएको मिलापत्रमा साक्षी बस्नु आफुहरुको गल्ती भएको स्वीकार गरेपनि मिलापत्रको डिजाइन अघिल्लो दिनमा नै पत्रकार कट्टेललगायतको टिमले गरेको तर पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा भने एकोहोरो महिला अधिकारकर्मीहरुमाथि मात्र आरोप लागेको भन्दै दुःखसमेत व्यक्त गरेको छ । आफुहरु पीडितलाई न्याय दिलाउन निश्वार्थरुपमा लागेपनि विभिन्न व्यक्ति र समुहको स्वार्थको खेलमा महिला सञ्जाल फसेको तर मिलापत्र गराउनुमा आफुहरुको कुनै भुमिका नभएको महिला अधिकारकर्मीहरुले जनाएका छन् । केटिएम सेक्युरिटीसँग विभिन्न व्यक्ति, समुहको स्वार्थ रहेको र उनीहरुको स्वार्थको चलखेलमा अनावश्यकरुपमा महिला अधिकारकर्मीहरु फसेको सञ्जालकी सहसचिव मञ्जु भण्डारीले बताइन् । ‘केटिएम सेक्युरिटीसँग धेरै मान्छेको धेरै बिषय र स्वार्थ जोडिएको रहेछ, तर हामी निश्वार्थरुपमा पीडित बहिनीलाई कसरी न्याय दिलाउने भन्नेतिर मात्र केन्द्रीत थियौं’–उनले भनिन्–‘हामीले सुटुक्क मिलाएका पनि होइनौं, सिडिओ, एसपी, बीपीका पदाधिकारीहरु, अनेम संघ सबैको उपस्थितिमा पीडितले चित्त बुझाएपछि मात्र हस्ताक्षर भएको हो । हामी अदालत जान तयार थियौं, तर पीडितले नै न्यायको अनुभूति गरेपछि सहमति भयो ।’ तर, अरुको स्वार्थ पुरा नभएपछि मात्र सञ्जालप्रति खनिएको उनले बताइन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQSib6Sk3eXelxQlfR4eHMQCGWOkENhvQz_0rd07FrUJ9zKobdrrsjOReqajpmZGNDCaSwjkz3wecz6ubOMgABbjN4g4YOKL7uwHs33yRpvzAIiSiBonMDOAz1dDoYads4p_jHj7UxS1Xn/s640/aIMG_9226.jpg)
सञ्जालकी सदस्य सुनिता केसी राईले बीपी प्रतिष्ठानमा सिडिओको आह्वानमा बैठक हुनु अघिल्लो दिनमा नै पत्रकार चन्द्रमणी कट्टेल सहमतिको ड्राफ्ट बोकेर भेट्न आएको खुलाइन् । पत्रकार कट्टेलले पीडित, केटिएम र बीपी प्रशासनबीच कुरा मिलिसकेको छ, सञ्जाल नभएपछि हुन्छ भन्दै ड्राफ्ट देखाएको उनले खुलाइन् । ‘म र अध्यक्ष भएको ठाउँमा आएर चन्द्रमणी कट्टेलले ड्राफ्ट निकालेर कुरा मिलिसकेको छ, बहिनीहरु पनि मिल्न तयार भइसक्यो, बीपी प्रशासन पनि तयार छ भनेर अन्यो’–उनले भनिन्–‘पत्रकार नै मिलाउनुपर्छ भन्दै आएपछि हामी छक्क प¥यौं, र हामीलाई केही फरक पर्दैन, न्याय पाए भनेर पीडित बहिनीहरु मिल्छ भने मिलोस तर मिल्यो भनेर एक कल गर्दिनुस भन्यौं ।’ लामो समय वैदेशिक रोजगारीमा बसेर फर्किएका कट्टेल पुनः धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्समा आवद्ध भएर पत्रकारितामा पुनरागमन भएका छन् ।
म्हिला हिंसाको संवेदनशील बिषयलाई मिलापत्र भइसक्यो भन्दै पत्रकारले नै ड्राफट बोकेर आएपछि मिलापत्रतर्फ मोडिएको हुनसक्ने तर मिलापत्रमा सञ्जालको कुनै भुमिका नभएको पनि सञ्जाल पदाधिकारीहरुले जनाए । ‘प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न नमानेको महिलाको संवेदनशील मुद्दालाई उठान गर्नुपर्ने पत्रकार नै मिलापत्र गराउन ड्राफट बोकेर आउछ, तर त्यसको दोष जति सबै महिला सञ्जाललाई मात्र लगाएर हुन्छ ?’–सञ्जालकी उपाध्यक्ष सविता राईले भनिन्–‘हामी सिडिओसँगको छलफलमा बसेर सही गर्नु गल्ती भयो, तर मिलापत्रको डिजाइन पहिल्यै भइसकेको थिएछ । हाम्रो कुनै भुमिका छैन । हामीलाई वलिको बोको मात्र बनाइयो ।’ बैठकमा केटिएमका प्रमुख रामेश्वर साहले पत्रकार कट्टेलले ड्राफट गरेको ४ बुँदाको मिलापत्र पेश गरेको तर त्यसलाई स्वीकार नगरी पीडितलाई चित्त बुझेपछि अर्को १० बुँदे सहमति गरिएको उनले बताइन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmPoHKWTIy0QyxlMF5DyHihlU9BSWwJdbKLe8-8a9PGwsdOgg2tat6pg7GQnOLB0_SGefK3g8RRR-H-4t03WNlXBD3kDbgIV4BwqLSArx0GikClNPnBmFH30HFC2Xk8XEtByoMa6iYb8jb/s640/aIMG_9221.jpg)
सञ्जालकी सदस्य एवं महिला तथा बालबालिका विभाग संयोजक कोपिला भट्टराईले निःश्वार्थरुपमा पीडितलाई न्याय दिलाउन लागेपनि आफुहरुमाथि मात्र अनेक आरोपहरु आएको भन्दै दुःख व्यक्त गरिन् । सञ्जालकी अध्यक्ष शिला बज्रचार्यले बज्रचार्यले केटिएम प्रमुख रामेश्वर साहले घटनाको जिम्मेवारी लिदै माफी मागेर भविष्यमा यस्तो घटना दोहोरिन नदिने, कार्यक्षेत्रमा लैंगिक संवेदनशीलतालाई ध्यान दिने र महिला गार्डहरुको रोजगारीको सुनिश्चितता गर्ने भनेपछि पीडितले चित्त बुझाएको बताइन् । अघिल्लो दिनमै ड्राफट बोकेर घटना मिलापत्र गराउन दौडधुप गरेका पत्रकार कट्टेलले आफुसम्बद्ध राजनीतिक दलको नेतृत्व र केटिएम प्रमुख साहबीचको छलफल हुदा मिलापत्रको ड्राफट आफुले तयार गरेको स्वीकार गरे । तर, त्यो सहमतिको पालना नगरी भोलीपल्ट नयाँ सहमति बनेकोले मिलापत्रबारे आफु दोषी नभएको उनले जिकिर गरे । उनी माओवादी केन्द्रसम्बद्ध पत्रकार हुन् । उनकै भनाईमा मिलापत्र ड्राफटमा माओवादीका नेताहरु पनि भएको पुष्टि भएको छ । तर, उनले को को नेता हुन् भन्ने खुलाउन मानेनन् । वैदेशिक रोजगारीमा हुदा नै केटिएम प्रमुख साहसँग चिनजान भएको र पीडित पनि आफुसम्बद्ध दलमा भएकोले दुवैपक्षलाई छलफल गराउने वातावरण तयार गरेको उनले बताए ।
Comments
Post a Comment