सर्दुमा पुल नहुदा विरामीलाई सास्ती

धरान । सुनसरी उद्योग वाणिज्य संघको को १ च ४५६८ नम्बरको एम्बुलेन्स मंगलबार बिहान महेन्द्रनगर गाविसको चक्रघट्टीबाट विरामी बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउदै थियो । एम्बुलेन्समा एपेन्डिसाइड भएकी ६८ बर्षीय डम्बरकुमारी अधिकारी छटपटिदै थिइन् ।
धरान बजारको पश्चिममा अवस्थित धरान चतरा सहायक राजमार्गमा बग्ने सर्दु खोलामा आएपछि एम्बुलेन्स अघि बढ्नै सकेन । कारण थियो, सर्दुको बाढी । जर्बजस्ती अघि बढाउन खोज्दा गाडी फस्यो । विरामीका आफन्त र बटुवाले धकेलेर बल्लतल्ल निकालेपछि निक्कैबेरको प्रयासमा चालकले सर्दु खोला पार गराउन सफल भए । ‘विरामी लिएर दिनहुँ यो बाटो हिड्नुपर्छ, बाढी आएर कतिपटक गाडी फस्छ । यहा आइपुगेपछि मात्र बाढी आएको थाह हुन्छ, पुल नहुदा विरामीलाई छिटो अस्पताल पु¥याउन सकिदैन’–एम्बुलेन्स चालक कार्तिक रौनियारले भने–‘ठुलो बाढी आएको बेला त कति विरामीलाई घुमाएर इटहरी हुदै बीपी लैजान्छौं, कतिको त समयमै पु¥याउन नसक्दा बाटैमा ज्यान पनि जान्छ ।’
यो पीडा केवल एम्बुलेन्स चालक रौनियारको मात्र होइन । धरान चतरा सडकखण्डमा ओहारदोहोर गर्ने दैनिक सर्वसाधारणले बर्षातको बेला भोग्नु परिरहेको पीडा हो । हरेक बर्ष बर्षायाम शुरु भएपछि धरानको पश्चिम क्षेत्रसँग सहज यातायात सम्पर्क टुट्ने गर्छ । यो सडकबाट बराहक्षेत्र, भरौल, महेन्द्रनगर, चतरा हुदै कोशी ब्यारेजको विकल्पमा बनेको कोशी पुल हुदै उदयपुर पनि जान प्रयोग हुन्छ । तर, बर्षातमा भने जनताले धेरै सास्ती भोग्नुपर्छ । यो बर्ष त झन् मनसुन लम्बिएको कारण असोज दोस्रो साता पनि बर्षात भइरहेको छ । यसले यो सडक खण्डमा आवातजावत गर्न सर्वसाधारणलाई हैरानी खेप्नु परिरहेको छ । पश्चिमका गाविस वा क्षेत्रका नागरिकहरु शिक्षा, स्वास्थ्य, व्यापारलगायतको लागि धरान आउने गर्छन । चुनावको समयमा नेताहरुले पुल बनाउने भाषण र आश्वासन दिएपनि सर्दुमा हालसम्म एउटा पनि पक्की पुल बन्न सकेको छैन ।
बराहक्षेत्र, विष्णुपादुका जस्ता प्रसिद्ध धार्मिकस्थल पुग्नलाई पनि खोलाले निक्कै सताउने गरेको धरान १७ का डम्बर कुमार श्रेष्ठले बताए । ‘पुल नहुदा सारा जनताले दुःख पाइरहेको छ, चुनाव हुदा नेताहरु के के गर्छु भन्छन, तर जितेर गएपछि विर्सन्छन्’–उनले भने–‘यहाँ सरकारले पुल बनाउन चासो दिनुपर्छ ।’ धेरैपटक बर्षायाममा सवारी साधान र मानिसहरुलाई नै बगाउने गरेको उनले बताए ।
पुल नहुदा धरानकै विष्णुपादुका क्षेत्र, बराहक्षेत्र गाविस, भरौललगायतबाट कृर्षिजन्य उत्पादनलाई किसानहरुले धरान ल्याउन सक्दैनन् । हालसम्म सर्दु खोलामा धरान १३ देवी मार्गमा एउटा झोलुङ्गे पुल छ भने धरानको फुस्रे र धरान २४(विष्णुपादुका) जोड्ने एउटा पक्की पुल छ । तर, यो पक्की पुल प्रयोगविहिन छ । वडा २४ का केही वस्तीको लागि मात्र त्यो बाटो र पुलले लाभ पुगेको छ । विष्णुपादुका गाविसका पुर्वअध्यक्ष मणिराम राईका अनुसार ०४६ सालदेखि अहिलेसम्म स्थानीय जनताले सर्दुखोलामा पक्की पुलको माग निरन्तर गरिरहे पनि पहुँच नपुग्दा सुनुवाई भएको छैन । धरान र साविक पाँचकन्या गाविस बीचको सेउती खोलामा करिब ८ किलोमिटर क्षेत्रभित्र २ वटा पक्की पुल बनिसक्यो । अझै २ वटा पक्की पुल निर्माणाधिन अवस्थामा छ । एउटा बाहेक अन्य पुलहरु केन्द्रीय बजेटबाटै बनेको हो । तर, धरानभित्रकै सर्दु खोलामा भने पक्की पुल बनाउन कसैको ध्यान पुगेको छैन ।
विगतमा साविक गाउँ परिषदबाट हरेक बर्ष प्राथमिकतामा राखेर सर्दु खोलामा पुलको माग भएर गएपनि कतैबाट सुनुवाई नभएको पुर्वअध्यक्ष राई तितो अनुभव पोख्छन् । यही क्षेत्रबाट जितेका नेता मन्त्री र प्रधानमन्त्रीसमेत भइसकेका छन् । ०४८ सालको आमनिर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी विजयी भएका थिए भने ०५१ को मध्यावधि निर्वाचन पछि उनी एमालेले अल्पमतको सरकार बनाउदा प्रधानमन्त्रीसमेत भए । यस्तै, ०५१ सालको मध्यावधिमा यो क्षेत्रबाट एमाले नेतृ लिला श्रेष्ठ सुब्बाले जितिन् । उनी पहिलो महिला उपसभामुख बनिन् । ०५६ सालमा एमालेकै कुन्ता शर्मा विजयी भइन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने धरानबाट छुट्याएर विष्णुपादुकालाई ६ नम्बर क्षेत्रमा गाभियो । दुवै संविधानसभा चुनावमा एमाले नेता भिम आचार्यले जिते । एमालेका केन्द्रीय सचिवसमेत रहेका उनी पर्यटन तथा सँस्कृति मन्त्रीसमेत भए । तर, उनको क्षेत्रका जनतालाई राहत पुग्ने गरि सर्दुमा पुल बनेन ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे