बीपीको सुरक्षामा लापरवाही, मोटरसाइलक जल्यो, राती पेट्रोल चोरी


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको सुरक्षामा गम्भीर लापरवाही भइरहेको खुलेको छ । सुरक्षाको जिम्मेवारी निजी कम्पनीलाई दिने गरेपनि विरामीका कुरुवा र प्रतिष्ठानकै कर्मचारीहरुले सुरक्षित महसुस गर्न सकेका छैनन् । अस्पतालबाट विरामी कुरुवाको पर्स, मोवाइल चोरी हुने घटना सामान्य बन्न थालिसकेको छ भने आवासिय क्षेत्रबाट मोटरसाइकलको पेट्रोल चोरीको घटना पनि दोहोरिरहेको कर्मचारीहरुको गुनासो छ ।
अझ शुक्रबार बिहान आवासिय क्षेत्रमा राखेको मोटरसाइकल अज्ञात समुहले जलाएपछि प्रतिष्ठानको सुरक्षा कमजोरी छताछुल्ल भएको हो । प्रतिष्ठान जस्तो संवेदनशील क्षेत्रको सुरक्षामा गम्भीर लापरवाही भइरहेको कर्मचारीहरुको गुनासो छ । प्रतिष्ठानको आन्तरिक सुरक्षाको जिम्मा(ठेक्का) केटिएम सेक्युरिटी सर्भिस प्रालिले पाएको छ । केटिएमले प्रतिष्ठानको सुरक्षा ठेक्का पाएदेखि नै विभिन्न विवादमा फस्दै आएको छ । मोटरसाइकल जलेको क्षेत्र प्रतिष्ठानको जि २.३ हो । त्यस क्षेत्रमा धेरै आवासिय भवनहरु भएपनि एक जना मात्र सुरक्षा गार्ड परिचालन भइरहेको छ ।
कर्मचारीहरुका अनुसार आवासिय क्षेत्रबाट रातको समयमा मोटरसाइकलबाट पेट्रोल पाइप काटेर पेट्रोल चोरी, ब्याट्री, इन्डिकेटर र साइलेन्सर पाइपसमेत बारम्बर चोरी हुने गरेको थियो । तर, मोटरसाइकल नै जलाएको भने यो पहिलो घटना हो । प्रतिष्ठानका महिला कर्मचारीका श्रीमान् गुमानसिंह ठटालको को २६ प २१४ एभेन्जर मोटरसाइकल जलेर पुर्णरुपमा नष्ट भएको छ । यस्तै,  को १७ प ६०९ नम्बरको पल्सर मोटरसाइकको पछाडिको केही भाग जलेको छ भने को १५ प ४२०१ नम्बरको स्कुटरको अगाडिको भाग जलेको छ । यो घटना शुक्रबार बिहान करिब साढे ४ बजेतिरको हो ।
मोटरसाइकल धनी ठटालका अनुसार बिहान भर्खर आँखा उघ्रेकोबेला कसैले अंकल तपाइको बाइक जल्यो भनेर उनलाई खबर गरेका थिए । उनी हत्तपत्त बाहिर निस्कदा मोटरसाइकल जलिरहेको थियो । ‘मेरो बाइक जल्यो भनेर कस्ले भन्यो, त्यो पनि थाह पाइन । तर, कोठा बाहिर निस्कदा मेरो बाइक बीचमा ह्वार्रह्वार्र जलिरहेको थियो । अलिअलि जल्दैको मोटरसाइकल र स्कुटरलाई चाहि त्यहाँबाट हटाउन सके’–ठटालले भने–‘बेलुका राम्रोसँग पार्किङ गरेर राखेको । बीपीको निवासभित्र यत्रो ठुलो घटना हुनु गम्भीर हो । केटिएमले कसरी सुरक्षा दिएको छ ? हामी कसरी सुरक्षित छौं भनेर ढुक्क हुने ?’ ज्यानमा पनि तलमाथि हुनसक्ने भन्दै उनले सुरक्षामा प्रशासनले पनि गम्भीर ध्यान दिनुपर्ने बताए ।
स्टाफ नर्स कल्पना शंकरले आवासिय क्षेत्रबाट दिनहुजसो मोटरसाइकलको पेट्रोल चोरी भइरहेको बताइन् । करिब डेढ महिनाअघि उनको पनि मोटरसाइकलबाट पेट्रोल चोरी भएको थियो । चोरीमा संलग्न अझैसम्म पक्राउ नहुदा मनोवल बढ्दै गएको उनले बताइन् । शुक्रबार बिहान मोटरसाइकल जलाउनु अघि मध्यरातमा त्यसक्षेत्रमा पेट्रोल चोरी भएको थियो । पेट्रोल चोरी भएको थाह पाएपछि जि २.३ क्षेत्रमा हल्लीखल्ली भयो । सेक्युरिटी कन्ट्रोलरुमबाट तत्काल सुरक्षा निरीक्षकको कमाण्डमा टोली गएपनि कोही पक्राउ पर्न भने सकेनन् । करिब आधा दर्जन मोटरसाइकलको पाइप काटेर पेट्रोल चोरी भएको कर्मचारीको भनाई छ ।
केटिएमका कन्ट्रोल रुम इञ्चार्ज राजेन्द्रप्रसाद श्रेष्ठले मध्यरातमा पेट्रोल चोरीको खबर आएलगत्तै टोली पठाएको बताए । करिब ३ घण्टासम्म सुरक्षा निरीक्षक, सुपरभाइजर, हेड गार्ड र त्यसक्षेत्रका गार्डसमेतले चेकजाच गर्दा पनि कोही फेला नपरेपछि बिहान २ बजे फर्किएका थिए । तर, बिहान करिब पौने ५ बजेतिर मोटरसाइकल जलेको खबर आएको उनले बताए । ‘जंगलसँग जोडिएको क्षेत्र हो, तारजालीले मात्र बारिएको छ । धेरै मोटरसाइकलको पाइप काटेर पेट्रोल निकालिएको पनि छ’–उनले भने–‘घटना नहोस् भनेर हामी सचेत छौं, यो घटनाको पनि गहिरो अनुसन्धान गछौं ।’ आवासिय क्षेत्रमा एक जना मात्र गार्ड राख्नुको कारण प्रतिष्ठानसँग त्यतिनै गार्ड परिचालन गर्ने सम्झौता भएको उनले खुलाए । केटिएमसँग अहिले एक सय २९ गार्ड छन् । ती मध्ये अधिकतर अस्पताल क्षेत्रको सुरक्षामा तीन सिफ्ट बनाएर खटिने गरेको छ । तर, अस्पताल क्षेत्रमै पनि मोटरसाइकल चोरी, विरामी कुरुवाको मोवाइल, पर्स चोरीको घटना भइरहेको छ ।
घटनास्थलमा टि सर्ट, चुरोट र लाइटरसमेत भेटिएको छ । पेट्रोल चोरी सकेर चुरोट सल्काउने क्रममा मोटरसाइकल जलेको हुनसक्ने अनुमान गरिएको छ । शुक्रबा बिहानै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले घटनास्थल निरीक्षण गरेका थिए । प्रहरीले पनि अनुसन्धान अघि बढाएको उनको भनाई छ । प्रतिष्ठानको सुरक्षा हेर्ने जिम्मा पाएका वरिष्ठ प्रशासकीय सहायक महेश्वर राई पनि सुरक्षा कमजोरी भइरहेको स्वीकार गर्दै ठेकेदार कम्पनीलाई कडाई गर्न निर्देशन दिइरहेको बताउछन् । ‘केही न केही कमजोरी छ, नत्र हप्ता दशदिनमा प्रतिष्ठानसँग जोडिएर श्रृंखलावद्ध घटना किन भइरहेको छ?’–उनले भने–‘तेल चोरी, साइन्लेन्सर पाइप, ब्याट्री चोरीको घटना त भइरहेकै हो, तर आज त मोटरसाइकल जल्ने गम्भीर प्रकृतिको घटना भयो । कम्पनीले नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ ।’
...............................

गार्ड उही, ठेकेदार मात्र फेरिने 

सामान्यतया सेक्युरिटीको ठेक्का पाएपछि नयाँ कम्पनीले आफ्ना कर्मचारी(गार्ड) ल्याएर कार्यक्षेत्रमा खटाउने गर्छ । ठेक्का अवधि सकिएपछि पुरानो कम्पनीले आफ्ना कर्मचारी(गार्ड) त्यहाँबाट फिर्ता लैजान्छ । बीपी प्रतिष्ठानको सुरक्षा ठेक्का भने अपवादमा छ । यहाँ प्रत्येक तीन बर्षमा ठेकेदार कम्पनी फेरिन्छ तर गार्डहरु भने उही हुन्छन् । ‘रक्सी उही, बोतल मात्र नयाँ’, प्रतिष्ठानको सुरक्षा व्यवस्थासँग ठ्याक्कै नेपाली उक्ति मिल्छ ।
प्रतिष्ठानको सुरक्षा गार्डमा स्थापनाकालदेखि कै सुरक्षा गार्डहरु छन् । नयाँ कम्पनीले ठेक्का पाउदा उसले आफ्नो कम्पनीले भर्ना गरेको नयाँ गार्डहरु ल्याउने प्रयास नगरेको होइन । तर, ट्रेन युनियन र राजनीतिक दलको आडमा यहाँ कार्यरत गार्डहरुले ल्याउन दिएनन् । उनीहरु आफुलाई प्रतिष्ठानकै कर्मचारी बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । प्रतिष्ठानको गार्डमा राजनीतिक हस्तक्षेप यतिसम्म हावी छ कि गल्ती गर्ने गार्डलाई कारबाही गर्दा पनि आन्दोलन भएको उदाहरण छ । राजनैतिक आडभरोसाले गर्दा गार्डहरु जिम्मेवारीविमुख हुदा पनि ठेकेदार कम्पनी मुकदर्शक बनेको भन्दै चर्को आलोचना पनि भइरहेको छ ।
केटिएमका कन्ट्रोलरुम इञ्चार्ज राजेन्द्रप्रसाद श्रेष्ठ यो आरोपसँग केही हदसम्म सहमत पनि छन् । ‘१५, २० बर्षदेखि यही बसेका गार्डहरु छन् । तिनीहरुलाई स्वीकार गरेर हामीले सुरक्षा दिनुपरेको छ । हामीले ठेक्का पाएपछि हाम्रै फ्रेस मान्छे ल्याएर खटाउन पाउनुपर्ने हो’–उनी भन्छन्–‘यहाँ युनियनको सिस्टम लागु छ, हाम्रो कम्पनीको सर्त र नियम लागु गराउन युनियन, पार्टीको कारण गाह्रो छ ।’ प्रतिष्ठानका सुरक्षा हेर्ने वरिष्ठ प्रशासकीय सहायक महेश्वर राई भने सुरक्षाको जिम्मा लिएपछि ठेकेदार कम्पनीले कारण देखाएर उम्कन नपाउने बताउछन् । ‘उहाँहरुको काम सुरक्षा मजबुद बनाउने हो, बरु प्रतिष्ठानको तर्फबाट हामीले के सहयोग गर्नुपर्छ, गछौं । तर, यसो भएन, उसो भएन भनेर हुदैन’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे