मालपोत र नापीको अर्को वदमाशी,१ कटठा साढे ३ धुर जग्गा १९ कट्ठा बनाई बिक्री

धरान । मृतक महिलाको जग्गा किर्ते गरी नामसारी गरेको प्रकरण सेलाउन नपाउदै मालपोत र नापी कार्यालय धरानले त्यसअघि नै एउटा कित्ताको जग्गामा वदनियत गरी अत्यधिक बढाएर किनबेच भएको प्रमाण फेला परेको छ । साविक धरान ११ ‘ग’ को कित्ता नम्बर ३६ किर्ते हकवालालाई नामसारी गराउन सक्रिय गिरोह तथा विचौलियाले नै मालपोत र नापी कार्यालयसँग मिलेर कित्ता नं १८५ लाई ट्रायल चेक गराई जग्गा अत्यधिक बढाएर किनबेच गरेको पाइएको हो ।
मालपोत र नापीका कर्मचारीले धरान १० की मन्दिरा लिम्बुको कित्ता नं १८५ को १ कट्ठा साढे ३ धुर जग्गालाई ट्रायल चेक गरी नरबढी गराउदा १९ कट्ठा बनाएको भेटिएको छ । घटना सार्वजनिक भएपछि कारबाहीबाट जोगिन मालपोत र नापी दुवैले भुलवश त्रुटी भएको भन्दै हतार हतारमा कित्ताकाट गरी स्रेस्ता पुर्जा दिएको निर्णय वदर गरेको पनि फेला परेको छ । स्रोतका अनुसार यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । नक्साको कित्ता भित्र क्षेत्रफल चेक गर्दा हुन आउने क्षेत्रफललाई ट्रायल चेक गरी कायम रहेको क्षेत्रफल नरबढी वा नरघटी भनिन्छ । तर, कित्ता नं १८५ को १ कट्ठा साढे ३ धुर जग्गा कसरी १९ कट्ठा भएर बिक्री भयो भन्ने प्रश्नको जवाफ मालपोत र नापी दुवैसँग पनि छैन ।
पछिल्लो समय मालपोत र नापीका केही कर्मचारीहरुले जग्गा दलालहरुसँग मिलेमतो गरी ट्रायल चेक गर्ने प्रावधानको दुरुपयोग गरी स्रेस्ता कायम नभएको एवं ऐलानी पर्ति जग्गालाई हडपेर अत्यधिक नरबढी गराई किनबेच गरिरहेको स्रोतको भनाई छ । नरबढी गराउदा नापीका सर्वेक्षक योगेन्द्र प्रसाद यादवकै योजनाअनुसार भुमाफिया गिरोह परिचालन भएको देखिन्छ भने उसैको प्रतिवेदनको आधारमा मालपोतका अधिकृत फडिन्द्र भट्टराई र मुद्दा फाँटका नायब सुब्बा डिल्लीराम कोइरालाले सक्कल नक्सा नहेरी प्लट रजिष्टारमा कित्ताकाट भएको आधारमा स्रेस्ता पुर्जा दिने निर्णय गरेको स्रोतले जनायो । नापीको प्लट रजिष्टारमा १८५ कित्ताकाट भएको देखिए पनि सक्कल नक्सामा भने कित्ताकाट भएको देखिदैन । ‘कित्ता नं १८५ ट्रायल चेक गराउदा १९ कट्ठा भई प्लट रजिष्टारमा कित्ताकाट भएको देखिन्छ, तर नक्सामा कही देखिदैन । मालपोतले पनि नक्सा मागेर मात्र नामसारी गर्नुपर्ने हो’–नापी प्रमुख कृष्णराज न्यौपानेले भने–‘पछि गम्भीरखालको त्रुटी भएको देखिएपछि मालपोतलाई पत्राचार ग¥यौं र कित्ताकाट भई नामसारी भएको निर्णय वदर भइसकेको छ ।’
मालपोत र नापी कार्यालय दुवैले भुलवश गम्भीर त्रुटी भएको र त्यसलाई सच्याएको बताएपनि नागरिक संवाददाताले खोजी गर्दा नापीका सर्वेक्षक योगेन्द्र प्रसाद यादव र भुमाफिया, विचौलियाको पुर्वयोजनाअनुसार नै यो वदनियतपुर्ण कार्य भएको प्रमाण फेला परेको छ । यो प्रकरणमा सर्वेक्षक यादवसँग जग्गा दलाल लक्ष्मी लिम्बु, धरान १४ विजयपुरकी ललिता लिम्बु, उनकी दिदी खड्गमाया निङ्लेखु(चन्द्र सुब्बा) र खगेन्द्र कुमारीको कित्ता नं ३५ मा बसोबास गरिरहेका कर्णबहादुर राई पनि मिलेका थिए । उनीहरु मिलेर कित्ता नं १८५ की जग्गाधनी मन्दिरा लिम्बुलाई मोहरा मात्र बनाएको पत्ता लागेको छ । खड्गमाया र ललिता मन्दिाराकी आफ्नै फुपु हुन् भने लक्ष्मी नाताले बाजे पर्छन् । यो कित्ता मन्दिराको नाममा आउनु अघि खड्गमायाको थियो । मन्दिराकी आमासँग १८५ कित्ताको जग्गा धितो राखेकी खड्गमायाले पैसा फिर्ता नगरी ०६८ साल चैतमा मन्दिरालाई जग्गा पास गरिदिएकी थिइन् । दुवै फुपु र बाजे आएर कर्णबहादुर गरिब छ, सहयोग गरिदेऊ भनेपछि आफुले हस्ताक्षर गरिदिएको तर आफ्नो जग्गा के कति बढाएर लगेको हो भन्ने केही थाह नभएको मन्दिराको भनाई छ । ‘मलाई केही थाह छैन, सबै फुपु र बाजेले गरेको हो । उहाँहरुले नै जग्गा बाडफाट गरेको हो । पछि फेरी गल्ती भएछ भन्दै जग्गा किन्नेहरु आएपछि तीन दिन धाएर मैले नै वदर गराउनुप¥यो’–उनले भनिन् ।
नापी कार्यालयका अनुसार मालपोतको पत्रानुसार २०७२ साउन २४ गते कित्ता नं १८५ को ट्रायल चेक गरी नरबढी गरेर नापीले पठाएको थियो भने मालपोत कार्यालयबाट सिधै निर्णय गरी स्रेस्ता पुर्जा बनाएको थियो । मालपोत कार्यालयको ०७२ भदौ ९ गते कित्ताकाट आदेश भएर कित्ता नं १८५ बाट फोड भई कित्ता नं ३९६, ३९७, ३९८, ३९९, ४०० र ४०१ भएको थियो । फोड भएको कित्ताबाट कर्णबहादुरकी काइली बुहारी छत्रमायाको नाममा कित्ता नं ३९९ को २ कट्ठा र कान्छी बुहारी विष्णुको नाममा कित्ता नं ३९८ को ४ कट्ठा १० धुर जमिन पाएकी थिइन् । त्यसबाहेक, कित्ता नं ३९६ को १ कट्ठा जग्गा भुपेन्द्र लिम्बु, कित्ता नं ३९७ को ९ कट्ठा जग्गा सरस्वती लिम्बु र कित्ता नं ४०० को १ कट्ठा साढे ६ धुर जग्गा धनकाजी लिम्बुले खरीद गरेका थिए । बाँकी कित्ता नं ४०१ को १ कट्ठा साढे ३ धुर जग्गा थियो । कित्ता नं १८५ कित्ता नं ३७ बाट फोड भइ आएको हो । तर, ट्रायल चेक पछि भने कित्ता नं १८५ लाई नरबढी गराउदा भने फिल्डबुकको कैफियतमा खगेन्द्र कुमारी नाम उल्लेख भएको कित्ता नं ३५ लाई कित्ताकाट गरेको देखिन्छ । अख्तियारले छानबिन थालेपछि मालपोतले ०७३ साउन २३ मा यी कित्ताहरु वदर गरी कित्ता नं १८५ लाई यथास्थानमा राख्ने निर्णय गरेको थियो । कित्ता नं १८५ बाट कित्ताकाट भएको जग्गा खरीद गर्नेहरुको अहिले लगानी फिर्ता पाउन दौडधुप गरिरहेका छन् ।
यो प्रकरणमा सर्वेक्षक योगेन्द्र प्रसाद यादव र कर्णबहादुर राई मुछिनुको एउटा रोचक प्रमाण छ । २०७२ असार ३ गते सर्वेक्षक यादवले मन्दिरा लिम्बुलाई थाहै नदिई उनको जग्गा कर्णबहादुर राई बसोबास गरिरहेको कित्ता नं ३५ सँग साट्ने लिखित मञ्जुरीनामा कागज गराएको भेटिएको छ । गोप्यरुपमा गराइएको उक्त कागजमा कर्णबहादुरले ‘हकभोग गरिरहेको खगेन्द्र कुमारीको कित्ता नं ३५ भोगचलन तथा चलन चल्ती गर्न दिन पुर्ण मञ्जुरी दिएका छन् भने त्यसवापत मन्दिरा लिम्बुबाट विभिन्न ठाउँमा जग्गा लिई सो वापत हकवालालाई छोडिदिएको’ व्यहोरा उल्लेख छ । ‘पछि कही कतै उजुर बजुर गर्ने छैन भनि कर्मचारी समक्ष कागज गरिदिएको छु’ भन्दै कर्णबहादुरले सहीछाप गरेका छन् । उक्त कागजमा साक्षीकोरुपमा कर्णबहादुरकी काइली बुहारी छत्रमाया राई, कान्छी बुहारी विष्णु राई र मन्दिराका बाजे जग्गा दलाल लक्ष्मी लिम्बुले सही गरेका छन् भने काम सम्पन्न गर्ने भनेर नापीका सर्वेक्षक यादवको नाम खुलाइएको छ । तर, यो मञ्जुरीनामाबारे मन्दिरा लिम्बुलाई भने जानकारी थिएन । यो मञ्जुरीनामा कागज गरेपछि नै नापी र मालपोतले विचौलियासँग मिलेर कित्ता नं १८५ लाई ट्रायल चेकको नाममा नरबढी कायम गराएको देखिएकोले भुलवश त्रुटी भएको तर्क गलत सावित हुन्छ ।
मालपोत प्रमुख भीमप्रसाद गौतामले नापीले पठाएको नक्सा र प्रतिवेदनको आधारमा कित्ता नं १८५ नरबढी गराई मातहतका कर्मचारीले कित्ताकाट गरी स्रेस्ता कायम गराएको बताए । नापी प्रमुख कृष्णराज न्यौपानेले भने कार्यालय प्रमुख विदामा बसेको बेला ट्रायल चेक गर्दा गम्भीर त्रुटी भएको भेटिएकोले त्यसैअनुसार पत्र पठाएपछि मातपोतबाट कित्ताकाट भई स्रेस्ता कायम भएको जग्गा वदर भइसकेको बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे